अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउन चाहे ‘वेलकम’ छ: अध्यक्ष ओली

पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउन चाहे ‘वेलकम’ छ: अध्यक्ष ओली


विराटनगर-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कन चाहे स्वागत गर्ने बताउनु भएको छ ।

आइतबार विराटनगरमा एमाले कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले भण्डारी राजनीतिमा आउन चाहे कसैले नरोक्ने बताउनु भएको हो।

अध्यक्ष ओलीले भण्डारीलाई राजनीति गर्न कसैले नरोक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो ? कसले रोक्छ ? कसरी रोक्छ ? हामी उहाँलाई निषेध गर्दैनौं।’

भण्डारी राजनीतिमा आउँछु भनेको खण्डमा सधैं स्वागत गर्न आफूहरु तयार रहेको पनि उहाँले दाबी गर्नु भयो। उहाँले भन्नुभयो, ‘उहाँ आएर राम्रो नेतृत्व गरे ठीक छ। उहाँ आउँछु त भन्नुपर्यो। उहाँलाई सधैँ वेलकम छ।’ 

पूर्वराष्ट्रपति समेत रहेकी भण्डारी पार्टीको आदरणीय व्यक्ति भएको अध्यक्ष ओलीले बताउनु भयो। उहाँले भन्नुभयो, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरुको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्ति पनि उहाँ हुनुहुन्छ। त्योभन्दा अगाडि पनि हाम्रो नजिककै मित्र हो नि। हाम्रो पार्टीको उपाध्यक्ष नै हो। हाम्रो पार्टीको आदरणीय व्यक्तित्व नै हो। त्यसैले हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरा होइन।’

माओवादीले आफ्नो तस्बिरमा टाउकोदेखि खुट्टासम्म सुनैसुनको गरगहना लगाएको फोटो बनाएर कुप्रचार गरेको आरोप लगाउनु भयो । यस्तो काम अस्वस्थ र गलत मानसिकता भएका मानिसहरुले गर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘माओवादीले केपी ओलीको तस्बिर राखेर टाउकोमा सुनका गहना, दौरा सुरवाल पनि सुनकै, शरीर सुनकै, कोट सुनकै, जुत्ता सुनकै, टोपी सुनकै, जताजतै सुनैसुन बनाएर प्रचार गरिरहेका छन् । यस्तो हावादारी कुरा जनताले पत्याउँदैनन् । यस्तो काम अस्वस्थ र गलत मानसिकता भएका मानिसहरुले गर्छन् ।’