अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा अदालतले होइन, प्रचण्डले फुटाएका हुन्: अध्यक्ष ओली

नेकपा अदालतले होइन, प्रचण्डले फुटाएका हुन्: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन ‘नेकपा’ विभाजन पुष्पकमल दाहाल प्रचण्डले गराएको आरोप लगाउनु भएको छ ।

सोमबार काठमाडौंमा एमालेका जनप्रतिनिधिहरुसँगको कार्यक्रममा अध्यक्ष ओलीले अदालतले नेकपा विभाजन गरिदयो भन्ने गलत भाष्य बनाउन खोजिएको आराेप लगाउनु भएको हो ।

अदालतले ऋषि कट्टेल नेतृत्वको पार्टीले त्यही नाममा पहिले नै दर्ता गरिसकेको हुँदा अर्को नाम दर्ता गर्न आऊ भनेको तर आफूले अनेक कोशिस गर्दा पनि प्रचण्ड तयार नभएका कारण पार्टी विभाजन भएको अध्यक्ष ओलीले बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अदालतले फुटाएको होइन, प्रचण्डले फुटाएको हो। अदालतले त यो नाम मिलेन, बदर गरियो । अर्को नाममा दर्ता गर भनेको थियो । अर्को नाम लिएर भोलिप्लट दर्ता गर्न जाँदा हुन्थ्यो । नाम मात्रैको कुरा थियो । तर त्यही निहुँ पारेर, अदालतले फुटायो भन्ने हल्ला फिजाएर कम्युनिस्ट पार्टीलाई टुक्र्याउन र यसबाट भाग्न खोजेका थिए । प्रचण्ड भागे।’

अध्यक्ष ओलीले निर्वाचन आयोगले पनि पार्टी फुटाउनका लागि कोशिस गरेको र माधव नेपाललाई मद्दत गरेको उहाँको आरोप छ।

‘निर्वाचन आयोग र अग्नि सापकोटाले माधव नेपाललाई पार्टी फुटाउन मद्दत गरे’, उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगलाई कसैले तलसम्म देशभरि कता जान्छौं भनेर लाइन लगाउ भनेको थिएन । आफैं जान्थे । तर निर्वाचन आयोगले ठाउँठाउँमा मान्छेलाई लाइन लगाएर पार्टी तलैसम्म फुटाउने षड्यन्त्रमा निर्वाचन आयोग पनि लाग्यो ।’