अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीले जातीय विद्वेषको आगो झोस्ने अपराधपूर्ण काम गर्‍यो: ईश्वर पोखरेल

माओवादीले जातीय विद्वेषको आगो झोस्ने अपराधपूर्ण काम गर्‍यो: ईश्वर पोखरेल


काठमाडौं-नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले विरुद्ध सत्ता गठबन्धन निर्लज्ज रूपमा प्रस्तुत भएको बताउनु भएको छ।  

सोमबार काठमाडौंमा आयोजित जनप्रतिनिधिसँग कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले एमालेलाई लगाएको आरोप गलत साबित हुँदा माफी माग्नुको सट्टा अझ निर्लज्ज रूपमा माओवादी प्रस्तुत भएको बताउनु भयो ।

एमालेका नेताले कानुन विपरीत काम गरेको भए कानुन अनुसार दण्डको भागिदार हुने उहाँले बताउनुभयो । ‘तर फत्तुर लगाउनेहरूले पातकीहरूले त्यसको जवाफ दिनु पर्छ कि पर्दैन, त्यो फत्तुर लगाउनेले त्यसको जवाफ दिनुपर्छ’, उहाँले भन्नुभयो । 

एमालेलाई जनताले अडिट गरिहरेका बताउँदै त्यो कुरामा ख्याल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नागरिकको नजरमा गिर्ने कुनै पनि गतिविधि गर्न नहुने उहाँले बताउनु भयो । एमालेका प्रतिनिधिहरू सामाजिक कुरीति, भेदभाव र कुप्रथाको विरुद्धमा प्रतिबद्ध भएर उभिनु पर्ने पोखरेलले बताउनु भयो । हिजो केही तल बितल भएको रहेछ भने भने त्यसलाई सुधारेर अघि बढ्नु पर्ने उहाँको भनाई छ । 

अहिले समाजमा अराजकता निम्त्याउने र अविश्वास सिर्जना गर्ने झुण्ड रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो सामाजिक अराजकताको विरुद्धमा खबरदारी गर्नुपर्ने जरुरी छ।’ 

कोशी प्रदेशमा पहिचानको नाममा माओवादीले जातीय विद्वेषको आगो झोस्ने काम गरेको पोखरेलले बताउनुभयो । माओवादी अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनमा आफूलाई जिताए जातीय प्रदेशको नामकरण गर्ने भनेर जातीय विद्वेषको आगो झोस्ने काम गर्नुभएको उहाँको भनाइ छ । ‘जातीय विद्वेषको अपराधपूर्ण आगो सल्काउने काम भएको छ’, पोखरेलले भन्नुभयो । 

नेकपा एमाले अब हरेक कुराको आत्मसमीक्षा गरेर अघि बढ्नु पर्ने उहाँले बताउनु भयो । एमाले अलिकति लडेको बताउँदै पोखरेलले अब दरोसँग उठ्नु पर्ने बताउनुभयो । आत्मसमीक्षाको अभियानमा सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ ।