अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ


इलाम–इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उहाँ विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आउनुभएको थियो । उहाँ हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत हुनुहुन्थ्यो ।

राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाउनुभएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’ हुनुहुन्थ्यो ।  

इलामबजार नजिकै सुन्तलाबारमा जन्मिनुभएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिनुभएको थियो  । विसं २०३३ मा राजद्रोह मुद्दामा उहाँ केही समय जेल पर्नुभयो । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य हुनुभएका उहाँ मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बन्नुभएको थियो । 

विसं २०५६ को संसदीय निर्वाचन जितेर उहाँ सार्वजनिक लेखा समिति सभापति बन्नुभएको थियो ।  उहाँ जनआन्दोलन विसं २०६२/६३ सँगै पुनःस्थापित संसद्का सभामुख हुनुभएको थियो । विसं २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष हुनुभएको थियो । 

संविधानसभाबाट नेपालको संविधान जारी गर्न उहाँले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । चारपटक सभामुख हुँदा उहाँ सधैँ सर्वसम्मत नै बन्नुभयो ।