अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेम्वाङको अवसानले इलाम शोकमग्न 

नेम्वाङको अवसानले इलाम शोकमग्न 


इलाम–नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ ।

इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताउनुभयो । उहाँले देश र जनताका लागि पु¥याउनुभएको योगदान अतुलनीय हुने जनाउँदै देशले नै शोक मनाइरहेको बताउनुभएको छ ।

गत आमनिर्वाचनमा  नेम्वाङसँग थोरै मतान्तरले पराजित हुनुभएका नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले उहाँलाई इलामले सधैँ सम्झिरहने बताउनुभयो । “पटक–पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवास दाइले इलामको चौतर्फी विकासमा ठूलो योगदान दिनुभएको छ”, उहाँले भन्नुभयो, “इलामका बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा हुनुभयो ।”

“उहाँ पार्टीको मात्र नभएर सारा नेपालीको नेता हुनुहुन्थ्यो”, नेकपा (एकीकृत समाजवादी) इलामका अध्यक्ष भक्त केसीले भन्नुभयो, “उहाँको अभाव नेपाली राजनीतिमा सधैँ खड्कने छ ।”

राजजनीतिमा खासै चासो नभएको बताउने इलामका विद्यार्थीसमेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन् । इलाम क्याम्पसमा अध्ययनरत विद्यार्थी रोशन सापकोटाले भन्नुभयो, “म धेरै राजनीति त जान्दिनँ तर उहाँको ब्यक्तित्वबाट प्रभावित थिएँ । एकाबिहानैको खबरले स्तब्ध भएँ ।”

नेकपा (माओवादी केन्द्र)का जिल्ला नेता रञ्जित श्रेष्ठले कम्युनिष्ट शक्तिहरूलाई एक बनाएर लैजानमा उहाँले चाल्नुभएको कदम बिर्सन नसकिने बताउनुभएको छ । “कम्युनिष्टहरू एक भएर आएमा मात्र यो देश समृद्ध बन्छ भन्नेमा उहाँ प्रष्ट हुहुन्थ्यो”, उहाँले भन्नुभयो, “सुवास सरको निधनले इलामलाई मात्र होइन, देशको कम्युनिष्ट आन्दोलन नै कमजोर हुनसक्ने देख्छु ।”

माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भन्नुभयो, “उहाँले देखाउनुभएको बाटोमा इलाम अघि बढ्नेछ । उहाँले पूरा गर्न नसकेका समृद्ध इलामको सपना हामी सबै मिलेर पूरा गर्नुपर्छ ।”