अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट, द्विपक्षीय सहयोगका विषयमा छलफल

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट, द्विपक्षीय सहयोगका विषयमा छलफल


काठमाडौँ– आयरल्याण्ड भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले आयरल्याण्डका समकक्षीसँग भेट गर्नुभएको छ । 

सभामुख घिमिरेले बुधबार साँझ आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलसँग भेट गर्नुभएको हो । 

भेटमा दुई देशका संसदबीच संसदीय आदान प्रदान, द्विपक्षीय सहयोग लगायतका विषयमा कुरा भएको भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिनभयो ।

नेपाल र आयरल्याण्डबीच सन् १९९९ अगष्ट १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुई देशबीच विगतमा पनि उच्चस्तरीय भ्रमण हुँदै आएका छन् । सन् २०१९ मा आयरल्याण्डको प्रतिनिधि सभाका सभामुख सान ओ फारगेलले नेपाल भ्रमण गर्नुभएको थियो ।

सभामुख घिमिरेले उच्चस्तरीय भ्रमणले दुबै देशको आपसी बुझाइ, सदभाव तथा सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । ‘दुई देशको सम्बन्ध प्रगाढ र बलियो बनाउन हाम्रा संसद् र सांसदहरुको भूमिका छ,’ सभामुखले भेटमा भन्नुभयो, संसदीय अभ्यासको आपसी अनुभव आदान प्रदानमार्फत संसदीय लोकतन्त्रलाई परिष्कृत गर्दै आफ्ना नागरिकहरुका हक अधिकार सुनिश्चित गर्न सकिन्छ ।’

सभामुख घिमिरेले नेपालमा नयाँ संविधान जारी भएपछि दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भइसकेको जानकारी दिँदै संविधानले प्रदान गरेका मौलिकहरुलाई कार्यान्वयन गर्न धेरै कानुनहरू निर्माण भइसकेको र केही कानुनहरू निर्माणका लागि संसद्ले काम गरिरहेको जानकारी दिनुभयो । उहाँले नेपालको संघीय संसदमा मैत्री समूहहरु निर्माणको चरणमा रहेको जानकारी दिँदै आयरल्याण्डसँग सम्बन्ध स्थापित गर्न नेपाल–आयरल्याण्ड मैत्री समूह गठन गर्ने जानकारी दिनुभयो । ‘त्यस समूहले दुई देशका संसदबीचको संवाद र सहकार्यलाई निरन्तर अघि बढाउनेछन्,’ सभामुखको भनाइ थियो । उहाँले संसदीय अभ्यास सिकाइका लागि दुई देशको संसदका कर्मचारीबीच आदान प्रदान कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राख्नुभयो ।

सभामुख घिमिरेले संयुक्त राष्ट्र संघ, अन्तर–व्यवस्थापिका संघ जस्ता बहुपक्षीय मञ्चहरूमा जलवायु परिवर्तन र यसका प्रभावजस्ता विश्वव्यापी साझा मुद्दामा नेपाल र आयरल्याण्डले सहकार्य गर्न सक्ने धारणा राख्नुभयो ।

आयरल्याण्डको प्रतिनिधि सभाका सभामुख सान ओ फारगेलले सन् २०१९ मा भएको नेपाल भ्रमणमा आफूले पाएको न्यायो स्वागतको स्मरण गर्नुभयो । उहाँले नेपाल प्राकृतिकरुपमा धनी देश रहेको बताउँदै आफूले नेपालजति सुन्दर मुलुक आफूले त्यसअघि भ्रमण नगरेको समेत उल्लेख गर्नुभयो । उहाँले आयरल्याण्डमा दुई देशको संसदीय मैत्री समूह गठन भइसकेको जानकारी दिँदै संसदीय आदान प्रदानमा जोड दिनुभयो ।

आयरल्याण्डका सभामुखले आफ्नो मुलुकले वार्षिक अफ्रिकाका १६० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको जानकारी दिँदै नेपाललाई पनि आईरिस एडमार्फत समावेश गर्ने बताउनुभयो ।  

सभामुख फारगेलले आयरल्याण्डमा नेपाली विद्यार्थीहरुको उपस्थिति वृद्धि हुँदै गएको बताउँदै उनीहरुको शिक्षा र आवास प्रबन्धमा भएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले दुई देशबीच कृषि र खाद्य प्रविधिको आदान प्रदानको सम्भावना रहेको उल्लेख गर्नुभयो ।

सभामुख घिमिरेले बुधबार नै आवास, स्थानीय सरकार तथा सम्पदा मन्त्री दर्राघ ओब्रायनसँग भेट गर्नुभएको थियो । 

आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा आइतबार एक साताका लागि सभामुख घिमिरे आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गर्नुभएको थियो ।

सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र नेपाली राजदूतावास, लन्डनका द्वितीय सचिव रामबाबु नेपाल सहभागी हुनुहुन्छ ।

सभामुख घिमिरेले यसअघि माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

औपचारिक भ्रमण पूरा गरी सभामुख नेतृत्वको टोली असोज ७ गते नेपाल फर्कने कार्यक्रम छ ।