आज झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १५औं दिन हामी तेह्रथुमको वसन्तपुरमा आइपुगेका छौं । यहाँ आइपुग्दा तपाईंहरूमा जुन उत्साह, जुन उमङ्ग र जाडो नभनी टाढा-टाढाबाट दुर्गम ठाउँबाट जम्मा भएर तपाईंहरू यस कार्यक्रममा आउनु भएको छ। त्यो उत्साह र उमङ्ग देख्दा मलाई अत्यन्तै हर्ष लागेको छ। हाम्रो यात्राका सिंगै टोलीको पनि यसबाट उत्साह बढेको छ। यहाँहरूले हाम्रो झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा टोलीलाई जुन माया दिनुभएको छ, जुन विश्वास गर्नु भएको छ, जुन आत्मियता जनाउनु भएको छ, जुन हार्दिकता जनाउनु भएको छ, जसरी स्वागत गर्नु भएको छ, त्यसका निम्ति म यहाँहरू सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु, यहाँहरूमा आभार व्यक्त गर्न चाहन्छु।
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !
हामीले यी १५ दिनमा झुलाघाटदेखि वसन्तपुरसम्म आइपुग्दा आम जनताको हरेक प्रदेश र हरेक जिल्लामा, हरेक ठाउँमा अत्यन्तै उत्साह हामीले देख्यौ। यस्तै प्रकारको विश्वास हामीले देख्यौं। यो नेपाली जनतामा हाम्रो देश हामी बिग्रिन दिंदैनौ, हाम्रो देशको स्वाधीनता हामी तलमाथि पर्न दिंदैनौ, हाम्रो देशको भौगोलिक अखण्डता, हाम्रो देशको कुनै पनि राष्ट्रियता तलमाथि हुन दिंदैनौ, कमजोर हुन दिंदैनौ भन्ने संकल्प तपाईंहरूको यस उत्साहमा प्रतिविम्वित भएको छ। त्यसै गरेर हाम्रो देशको विकास हामीले गर्न सक्छौं । हाम्रो देशको विकास गर्न हामी शान्ति चाहन्छौं। हामी हाम्रो देशमा सम्पूर्ण जनताको, हामी सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूको चाहे हामी जुनसुकै जातका हौ, चाहे समथर भूभागमा बस्ने होस, चाहे डाँडापाखमा वा हिमाली भेगमा बस्ने हौं अथवा पूर्वमा होस् वा पश्चिममा, जहाँ बसे पनि हाम्रो समस्या एउटै छ– गरिबी, बेरोजगारी, विपन्नता, अभाव आदिजस्ता कुराहरू हामी सबैका साझा समस्या छन्। यी समस्या हामीले राजनीतिक रूपमा लोकतान्त्रिक गणतन्त्र ल्याइसकेपछि यस लोकतान्त्रिक गणतन्त्रलाई सही ढंगले कार्यान्वयन गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्र हामीले ल्याएका छौं। अब यस संघीय लोकतान्त्रिक गणतन्त्रलाई हामीले सुदृढ बनाउने, यसलाई सही ढंगले कार्यान्वयन गर्ने र देशमा शान्ति सुव्यवस्था, सुशासन कायम गरेर, भ्रष्टाचार नियन्त्रण गरेर, कालाबजारी, तस्करी जस्ता कुराहरूलाई नियन्त्रण गरेर हामी सुशासन र विकासको बाटोतिर लाग्छौं। विकासका लागि हामीले कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण, बजारीकरण, मेशिनीकरण गर्नु पर्दछ। त्यसका निम्ति अघि भर्खरै हामीले पाख्रिबासमा कृषि वैज्ञानिकहरूसँग पनि छलफल गरेर आयौं। कृषि पढिरहेका विद्याथीहरूसँग पनि छलफल गरेर आयौं। यसरी कृषिको सन्दर्भमा के गर्ने ? त्यहाँ हामीले अलिकति छलफल पनि गर्यौं। पश्चिमदेखि पूर्वसम्म कुन ठाउँमा कस्तो विशेषता छ ? कुन ठाउँमा कस्तो फलफूल हुनसक्छ ? त्यहाँको विशेषता के छ ? कहाँको हावापानी कस्तो छ ? त्यस ठाउँमा आधुनिक कृषिको विकास गर्नुपर्ने छ। जस्तो हावापानी र वातावरण छ, त्यसअनुसार खेतीपाती गर्नुपर्छ, माटो अनुसारको खेतीपाती गर्नुपर्छ। अब सानो मात्राको होइन, ठूलो मात्रामा सहकारीको माध्यमबाट उत्पादन एकै ठाउँमा गर्नुपर्दछ। अब नेपाल कानूनको राज हुनुपर्दछ, शान्तिपूर्ण नेपाल हुनुपर्दछ। एकताबद्ध, विकास र सुशासनको बाटोमा अगाडि बढेको नेपाल हुनुपर्दछ। उद्योगहरूको स्थापना, सञ्चालन, विभिन्न सामानहरू उत्पादन गर्ने र तयार गर्ने कम्पनीहरूको हामीले स्थापना र विकास गर्नु पर्दछ। हाम्रो देश यति सुन्दर छ। यति ऐतिहासिकता भएको देश छ। दुनियाँमा ठूला–ठूला देशहरू उपनिवेश हुँदा नेपाल उपनिवेश भएन, स्वतन्त्र भयो। अर्थात्, विश्वमा १९ वटा देश मात्रै स्वतन्त्र भएका बेला नेपाल एउटा स्वतन्त्र देश हो। त्यो गौरव हामीसँग छ। ज्ञानको सुरूवात यस भूमिबाट भएको थियो। शिक्षाको सुरूवात यस भूमिबाट भएको थियो। तर, यो भूमि आज पछाडि परेको छ। विकासको सुरूवात, आधुनिक युगमा प्रवेश यहाँबाट भएको थियो। कृषिबाट आधुनिक युगमा मानवजाति प्रवेश गरेको थियो। तर, कृषि प्रधान भनिएको देश आज धान, चामल सबै बाहिरबाट आयात गर्नुपर्ने, सागसब्जी समेत आयात गर्नु पर्ने अवस्थामा छ। म यहाँका जनतालाई धन्यवाद दिन चाहन्छु– वसन्तपुरका साथीहरूलाई म धन्यवाद भन्न चाहन्छु किनकि तपाईंहरू यहाँ बन्दा, फूलकाउली, फूलकाेपी आदि उत्पादन गरेर बाहिरतिर निर्यात गरिरहनु भएको छ। यस ठाउँबाट सुन्तला लगायतका फलफूल निर्यात गरिरहनु भएको छ। यहाँका साथीहरूले अलैंची, अम्रिसो लगायत अरू विभिन्न प्रकारका केही सामग्रीहरू निर्यात गरिरहनु भएको छ।
म तपाईंहरूलाई र तपाईंहरूको चेतनालाई धन्यवाद भन्न चाहन्छु। तपाईंहरूको यस कामले अरूलाई प्रेरणा मिलेको छ र हामी आफैँले आफ्नो गरिबी हटाउन निर्वाहमूखि होइन, निर्यात गर्नु पर्दछ। गरिबी हटाउन र धनी हुनका लागि कृषि पेशा अपनाउनु पर्दछ । यतापट्टी हामी सबैको ध्यान जाओस् भन्ने म आग्रह गर्न चाहन्छु। त्यसै गरेर पश्चिमदेखि आउँदा हामीले आम जनताका समस्या के छन् भनेर सुन्यौ, अवस्था के छ सुन्यौ, उहाँहरूका कुरा सुन्यौ, उहाँहरूका समस्या सुन्यौ र उहाँहरू समाधान के सुनाउनु हुन्छ, त्यो पनि सुन्यौ। त्यसै गरेर हामीले आफ्ना सुझावहरू पनि दियौं। हामीले डाक्टर, वकिल, पत्रकार, शिक्षक अनेकसँग परामर्श गर्यौ, सरसल्लाह गर्यौ, मजदुृर, कृषकहरूसँग, विद्यार्थीहरूसँग, व्यापारीहरूसँग, उद्यमीसँग, विभिन्न प्रकारका उद्योग सञ्चालन गर्ने, आधुनिक उद्योग सञ्चालन गर्ने उहाँहरूसँग छलफल गर्यौं। बाटो अप्ठ्यारो थियो, धेरै ठाउँमा बाटो कच्ची थियो, खाल्डाखुल्डी भएको बाटो थियो। तर १५ दिनको यात्रा गरेर यहाँ आइपुग्दा अझ त्यो यात्रा प्रारम्भ गर्ने ठाउँमा पुग्नका लागि हामीलाई २ सय २० किलोमिटर १३ गते नै हिंड्नु परेको थियो। यसरी १६ दिन यात्रा गर्दा हामीले अहिले पनि उत्साहित छौ किनभने हामीले आम जनतासँग भेट्यौ, आम जनताको उत्साह हेर्यौ, आम जनताको विश्वास हेर्यौ र आम जनताले जस्तो खालको उत्साहपूर्ण ढंगले हामीलाई सुझावहरू दिनुभयो, ती बहुमूल्य छन्। हामी त्यसका लागि धन्यवाद भन्न चाहन्छौं। यस ठाउँमा आएर पनि हामीहरूले थुप्रै सुझावहरू प्राप्त गर्यौ र विभिन्न ध्यानाकर्षण पत्रहरू, रायहरू, यहाँका समस्याहरूको ध्यानाकर्षणका पत्रहरू पनि प्राप्त गर्यौ। म सबैलाई धन्यवाद भन्न चाहन्छु, जसले ज्ञापन पत्र दिनुभएको छ।
जब नेकपा एमालेको सरकार थियो, त्यसबेला हामीले असाधारण ढंगले देशको विकास गरेका थियौ। तर, दुर्भाग्यको कुरा अढाइ वर्ष अगाडि जब नेकपा एमालेलाई अनेक देशी विदेशी तत्वहरू मिलेर षडयन्त्रपूर्वक ढंगले हटाए, त्यसपछि यी अढाइ वर्षमा देश राजनीतिक रूपले देश अराजकतातर्फ, अस्थिरतातर्फ, अन्योलतर्फको अवस्थामा देश छ। देशमा अवाञ्चित प्रवृत्तिहरू प्रकट भएका छन्। राजनीतिक प्रवृत्ति होइन, अराजनीतिक प्रवृत्तिहरू, राजनीतिक मागहरू होइन, बेग्लै प्रकारका मागहरू ती सुरू भइरहेका छन्। अस्थिरता छ, कतिबेला सरकार ढल्छ, टुंगो छैन। ढल्न त यस्तो सरकार ढल्नु पर्छ। अब यो आफ्नै भारले, आफ्नै बोझले, आफ्नै निकम्मापनले यो सरकार ढल्दैछ। सरकार कहिले ढल्ला वा नढल्ला तर हामीले २०८४ मा चुनाव त आउँछ, ०८४ मा चुनाव आउँदा हामीले मिशन ०८४ भनेका छौं । अब ०८४ मा निर्वाचन आउँदा नेकपा एमालेजस्तो राष्ट्रिय शक्तिको सुदृढ हैसियतका साथ एकल बहुमत आउनु पर्दछ । अनि मात्रै यो देश एमालेको मात्रैको एकल बहुमत त्यसले मात्रै यो देशलाई र हाम्रो राष्ट्रियतालाई जोगाउन, हाम्रो स्वाधीनता र स्वतन्त्रतालाई जोगाउन, हाम्रो राष्ट्रिय हित र रक्षाको संर्वद्धन गर्न र हाम्रो राष्ट्रिय स्वाभिमानको झण्डालाई माथि उठाउन त्यो एमालेको सरकारले मात्रै सम्भव छ। राष्ट्रिय भावनाको, राष्ट्रिय शक्तिको स्वाभिमानी सरकारले मात्रै सम्भव छ। तसर्थ म यहाँहरूलाई आग्रह गर्न चाहन्छु– मिशन २०८४ यहाँहरूले बुझ्नु भएको छ । त्यही मिशन ०८४ को अंगको रूपमा अहिले हामी यो झुलाघाट–चिवाभञ्ज्याङ अभियान अगाडि बढाइरहेका छौं।
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू !
हाम्रो देश यति उर्वर, यति जीवनमय देश छ। अब यो देश सधैं गरिब, सधैं पछाडि परिरहन सक्दैन र पछाडि परिरहन दिनु पनि हुँदैन। यो देशलाई गरिब रहन दिनु पनि हुँदैन। त्यसका निम्ति अब हामीले ठोस कदम चाल्नु पर्ने बेला भएको छ। म आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई, सम्पूर्ण जनतालाई बिना आग्रह राष्ट्रिय शक्तिलाई सबल बनाउन, सुदृढ बनाउन र व्यापक बनाउन राष्ट्रिय शक्तिलाई कसैले पर्छान नसक्नेगरी अपारजित बनाउनु हुन मिसन ०८४ जरूरी छ। मिसन २०८४ लाई हामीले सफल पार्नु पर्नेछ । त्यसकारण म सबैमा यी कुराहरू आग्रह गर्न चाहन्छु।
अहिले धेरै समय नलिऔ, धेरै चिसो पनि भइरहेको छ। अहिले नेकपा एमाले आफ्ना निम्ति काम गरिरहेको छैन। नेकपा एमाले देशका लागि काम गरिरहेको छ, जनताका लागि काम गरिरहेको छ, परिवर्तनका लागि काम गरिरहेको छ, जनताबाट गरिबी हटाउन काम गरिरहेको छ र यहाँहरूलाई थाहा छ– सम्पूर्ण नेपाली जनताको आकांक्षा, जसलाई हामी राष्ट्रिय आकांक्षा भन्छौ–यो राष्ट्रिय आकांक्षा त्यसलाई गन्तव्य बनाएर अगाडि बढेका छौं। यसरी हामी अहिले मिसन ०८४ मा यसकारण लागिरहेका छौ कि अब देशमा परिवर्तन आवश्यक छ, परिवर्तन आवश्यक भयो। यसर्थ यस परिवर्तनलाई साकार पार्न, यस परिवर्तनलाई यथार्थमा परिणत गर्न र यसलाई दिगो ढंगले देशको विकास, देशको सुरक्षा, देशका निम्ति सुशासन अगाडि बढाउन एमालेले मात्रै सक्छ । मैले अघि नै यहाँहरूलाई भनिसकें।
दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू हिंड्न पनि लाग्नु भएको छ, कतिपय हिंड्दै पनि हुनुहुन्छ। मलाई लाग्छ, मैले सार कुराहरू राखेको छु र यहाँहरूले बुझिसक्नु भएको छ। तसर्थ मैले धेरै लामो कुरा केही भनिरहनु पर्ला जस्तो लाग्दैन । सिंगै नेपाल एउटा वीरभूमि हो। किनभने यो राष्ट्र स्वाधीन यत्तिकै बनेन । दुनियाँमा घाम नअस्ताउने साम्राज्यवाद हुँदा कहिले पनि घाम नअस्ताउने उपनिवेशवाद हुँदा नेपालमा तिनीहरूको घाम अस्ताउथ्यो, सधैं घाम लाग्दैन्थ्यो। किनभने उनीहरूले नेपाली बहादुर जातिलाई कहिल्यै पराजित गर्न सकेका थिएनन्। मैले अघि भनेँ– शिक्षाको सुरूवात यहाँ भएको हो, ज्ञानको सुरूवात यहाँ भएको हो, कृषिको सुरूवात यहाँ भएको हो, विकासको सुरूवात यहाँ भएको हो, आधुनिकताको सुरूवात यहाँ भएको हो। त्यस्तो ठाउँ आज केही सय वर्षदेखि पछाडि पर्यो। शासकीय अयोग्यता, शासकहरूको भ्रष्ट मतिका कारणले वास्तवमा यो देश पछाडि पर्यो । शासकहरू आफू केन्द्रित भएर सोच्ने, आफू शासक भएर सोच्ने यस ढंगले देश पछाडि पर्यो। शासकहरूले देशका लागि सोचेनन्, आफ्ना लागि सोच्यो। हिजो त त्यस्तो भयो भयो, हामीले राणा शासन फाल्यौ। राजतन्त्र फाल्यौ तर अहिलेका हामीले चुनेर पठाएका, यहाँबाट पनि हामीले चुनेर पठायौ भनौ, अरू तिरबाट पनि चुनेर पठायौ तर ती शासकहरू अहिले के गरिरहेका छन् ? क्विन्टलका क्विन्टल सुन एयरपोर्टबाट भित्रिन्छ। कति किलो सुन सिगरेट भनेर भित्रिन्छ। अरू कति किलो सुन दिनका दिन देशमा तस्करी भइरहन्छ। अरू यस्ता कति हो कति तस्करी भइरहेको छ। सुनिन्छ, अहिले एनसेल बेच्ने काम भइरहेको वा तयारी भइरहेको सुनिन्छ। त्यसमा सरकारको संलग्नता नहुने कुरै भएन। बिना सरकारको संलग्नता खरवौको कारोवार, खरवौको मूल्य पर्ने कम्पनी केही अरवमा विक्री हुँदैछ। यसको सयौ गुणा फरक छ। यत्रो अन्तर पारेर, देशलाई घाटा पारेर बेच्दैछन्। अबको ३/४ वर्षपछि आफैं नेपाल सरकारको अण्डरमा आउने त्यस ठाउँमा सरकारले जालझेल गरेर अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गरेर त्यसलाई कमिशनतन्त्रको जालमा पारेर देशलाई खरवौको लुटतन्त्रमा पुर्यायो। यो कुरा बाहिर आइराखेको छ । सरकार बोल्न सकिराखेको छैन। यस्तो अवस्था छ। यो सबै अवस्थाबाट हामीले कसरी देशलाई अगाडि बढाउने ? यस सन्दर्भमा नेकपा एमाले गम्भीर छ र अत्यन्तै गम्भीरताका साथ सोचिरहेको छ। यस्तो बेलामा म कतिपय साथीभाइहरूको देख्छु संवैधानिक बाटोबाट, संवैधानिक तरिकाबाट, संवादको बाटोबाट टुंगिएका, चित्त नबुझे त्यही बाटोबाट टुंग्याउनु पर्ने विषयलाई बल प्रयोग गरेर, एउटा पार्टी केन्द्रित गरेर, एउटा व्यक्ति केन्द्रित गरेर दुष्मनि देखाउने कुरा कुनै पनि हिसाबमा यो स्वस्थ्य र प्रवित्र ढंगले आएको छ भनेर बुझ्न सकिने ठाउँ छैन र त्यसरी मान्न सकिने ठाउँ छैन । त्यसकारण म सबैलाई भन्न चाहन्छु– शान्तिपूर्ण ढंगले आफ्ना कुरा राख्न, शान्तिपूर्ण ढंगले आफ्ना विचारहरूलाई प्रस्तुत गर्न र संवैधानिक बाटोबाट समाधान गर्नु पर्ने विषयहरू त्यसै बाटोबाट समाधान गर्न म सबैलाई आग्रह गर्न चाहन्छु। गलत बाटो लिएर सही ठाउँमा कोही पनि पुग्दैन, कोही पनि पुगेको छैन। त्यसकारण गलत बाटोबाट सही ठाउँमा पुग्ने त्यो भनाइ र सोच गलत हो। म आग्रह गर्न चाहन्छु– शान्तिबिना देश विकास हुँदैन र हामी नेपालीहरूको एकताबद्ध प्रयास बिना र एकताबिना देशको विकास हुँदैन। त्यसकारण हामी सबै एकताबद्ध प्रयासमा लागौ, म सबैलाई त्यो आग्रह गर्न चाहन्छु। हिजो समाजवादी मोर्चा नामको वक्तव्य एकजनाको हस्ताक्षर सहित आएको देखियो। त्यसको खण्डन सरकारले गरेको मैले थाहा पाएको छैन। भनेको मोर्चाले खण्डन गरेको छैन, मोर्चाका अरू घटकले गरेका छैनन्। तर सबैको तर्फबाट भनेर एक जनाले गरेको छ। अर्थात्, वितण्डा मच्चाउने कुरामा सरकारको नेतृत्वमा रहेका व्यक्तिहरू, संस्थाहरू पनि यस्ता घटनामा संलग्न छन् भन्ने कुरा यसबाट देखिन्छ। जेहोस् हामी शान्तिपूर्ण ढंगले देशको विकास गर्नुपर्छ र अब नेकपा एमाले जाग्नु पर्दछ। एमालेमा सबै साथीहरू एकजुट हुनु पर्दछ। हिजो बाटो बिराएका साथीहरू विभिन्न समूहमा भूलवस, भ्रमवस गएका साथीहरू सबैलाई म नेकपा एमालेमा फर्किन आग्रह गर्न चाहन्छु । जसलाई संघीय लोकतान्त्रिक गणतन्त्र चाहिएको छ, आउनुस् नेकपा एमालेमा एकताबद्ध भएर अगाडि जाऔ। अरू विभिन्न पार्टीमा आबद्ध रहेका साथीहरूलाई पनि म आग्रह गर्न चाहन्छु– लोकतन्त्र चाहिएको छ भने एमालेले त्यसको रक्षा गर्छ, अगाडि बढाउँछ। एमाले अरूले दिएको लोकतन्त्रमा होइन, बलिदानपूर्ण संघर्ष गरेर आफूले ल्याएको लोकतन्त्रको रक्षाका लागि आज लडिरहेको छ।
हाम्रो यो झुलाघाट–चिवाभञ्ज्याङ यात्रा यसै कुराको एउटा परिचायक हो कि हामी संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दछौ, बेथिति अन्त्य गर्दछौ र सुशासन, शान्ति र विकास यस बाटोबाट समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यमा पुग्छौ। हाम्रो गन्तव्य समृद्ध नेपाल हो । सिंगै नेपाल समृद्ध हुनुपर्दछ। हरेक नेपाली समृद्ध हुनुपर्दछ, हरेक नेपाली सुखी हुनुपर्दछ। यो गन्तव्यका साथ अगाडि बढ्न म सबै दाजुभाइ दिदीबहिनीहरूलाई म हार्दिक आग्रह गर्न चाहन्छु । त्यो भनेको नेकपा एमालेमा संगठित होऔ, एमालेमा संगठित भएर अगाडि बढौ। यहीं आग्रह र अनुरोध गर्दै हामी यहाँ आइपुग्दा जुन आत्मियता, स्वागत यहाँहरूले देखाउनु भयो, जुन माया ममता देखाउनु भयो, जुन संकल्प देखाउनु भयो, त्यसका लागि फेरि धन्यवाद भन्न चाहन्छु। सँगसँगै यहाँहरू यत्रो ठूलो संख्यामा यात्रामा सहभागि हुनुभएको छ। तपाईंहरूको यो अहिलेको उपस्थिति, यहाँ आउने कुरा, यहाँबाट फर्किने यी सबै कुराहरू हाम्रा दिदीबहिनीहरूले कति माला उन्नु भएको होला, जहाँ पनि गाडी माथि पनि मालैमाला देखिन्छ । यतै माला, उतै माला यो त तिहारमा देउसी खेल्दा बत्तिमा झिलिमिलि भन्थे, त्यस्तै आज बसन्तपुर झिलिमिलि भएको छ । कति दिदीबहिनीहरूले यी बुन्नु भएको होला, कति समय लगाएर रातभर बसेर बुन्नु भएको होला। उहाँहरूको यो स्नेह, यो पवित्र भावनाले गर्नु भएको यस हाम्रो संकल्प यात्राको विभिन्न प्रकारको सहभागिताका निम्ति म धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु र यहाँहरू सबैमा सुस्वास्थ्य, सुख समृद्धि र सफलताको कामना गर्दै आफनो भनाई टुंग्याउँछु, धन्यवाद। सबैलाई धेरैधेरै शुभकामना।
(मध्यपहाडी यात्राका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २९ गते तेह्रथुमको वसन्तपुरमा व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश ।)
प्रतिक्रिया