अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हाम्रो सरकार हुँदा ३ वर्षमा ३० वर्ष हुन नसकेका काम गर्‍यौं

हाम्रो सरकार हुँदा ३ वर्षमा ३० वर्ष हुन नसकेका काम गर्‍यौं


हामी झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको समृद्धिका लागि सङ्कल्प यात्रा गर्दै आज ११औँ दिनको साँझ यहाँ आइपुगेका छौँ। यहाँ आइपुग्दा हामीले तपाईंहरूबाट जुन स्नेह, सम्मान पापायौं, यहाँहरूले जसरी स्वागत गर्नुभयो, यस अभियानमा जसरी ऐक्यबद्धता जनाउनुभयो, यसका निम्ति म यहाँहरू सबैमा हार्दिक धन्यवाद भन्न चाहन्छु, आभार व्यक्त गर्न चाहन्छु। 

यी ११ दिनमा हामीले तमाम जनताको अत्यन्तै उत्साहजनक, उल्लासमय, अत्यन्तै हार्दिक, अत्यन्तै आत्मीय स्वागत पायौँ, माया ममता पायौँ । सिङ्गो यो यात्राको क्रममा यी ११ दिनमा हामीलाई उत्साह बढ्नेगरी, नेकपा (एमाले) जनताको साथमा छ भन्ने पुष्टि हुने गरी यस अभियानमा आफ्नो उपस्थिति र आफ्नो संलग्नता जनाउनुभएको छ। मैले अघि मेलम्चीमा बोल्दा पनि भनेँ– तपाईंहरू यस झुलाघाट-चिवाभञ्ज्याङ यात्राका सहयात्री हुनुहुन्छ। तपाईंहरू यहाँ कहाँ कहाँदेखि हिँडेर आउनुभएको छ, यस यात्राको सफलताका लागि। त्यसकारण  तपाईंहरू यस यात्रामा सहभागी भएको हुनुहुन्छ। यस यात्रामा विभिन्न ढङ्गले सहभागिता जनाउनुभएको छ। 

एघार दिन अगाडिदेखि हामी हिँंडिरहेका छौँ। मङ्सिर १४ गते यात्रा सुरु हुनुभन्दा अघिल्लो दिन हाम्रो यात्रा सबैभन्दा लामो थियो, त्यसलाई हामीले गनेका छैनौँ। त्यहाँदेखि हामी जहाँ पुग्यौं, नेपाली जनताले अत्यन्तै चाड मनाएजसरी उल्लासमय ढङ्गले, हर्षोल्लासका साथ यसमा सहभागिता जनाउनुभयो। यसबाट सिङ्गै पार्टी परिचालित भएको छ। सिङ्गै पार्टीको आत्मविश्वास फेरि बढेको छ। म तपाईंहरूलाई धन्यवाद भन्न चाहन्छु।

कसैले माला उनेर यसमा सहभागिता जनाउनुभएको छ, कसैले फूल लगाएर, फूल टिपेर, कसैले ताना बनाएर, कसैले गेट र कसैले ब्यानर बनाएर, कसैले सहभागिता अर्को ढङ्गले यात्रामा हिँडेर जनाउनुभएको छ। यो तपाईंहरूको उत्साहपूर्ण सहभागिता वास्तवमै प्रशंसायोग्य छ। गोकुलजी (गोकुल बाँस्कोटा)ले आउँदै हुनुहुन्छ, आउँदै हुनुहुन्छ भनेर भनियो, अलिकति झुट बोल्नु पर्यो भनेर भन्नुभयो। आउँदै त थियौँ, कहाँ झुट बोल्नु भयो र ? आउँदै त थियौँ। हामी कुदेको कुद्यौ थियौँ, बाटै खराब थियो त ! जोस्सिएर गाडी उड्दैन, हिँडाउनै पर्यो, हिंडाउँदा जस्तो छ, त्यस्तै गर्नुपर्यो। दिउँसो ४ बजे मेलम्चीमा खाना खाएर यहाँ दौडिएर आएका छौँ । बिहानको खाना दिउँसो ४ बजे खाएका हौं भने दौडाइ कस्तो होला ? तसर्थ घडी पनि चलिराखेको छ, हामी पनि हिँडिराखेका छौँ। घडी मात्रै चलेको छैन।

झुलाघाटदेखि यहाँ ११औँ दिनसम्म बीच बीचमा आम जनतासँग, प्राध्यापक, इन्जिनियर, किसान, शिक्षक, मजदूर सबै तह र तप्काका जनतासँग, विभिन्न पेशा, व्यवसायका जनतासँग भेटघाट गर्दै, संवाद गर्दै उहाँहरूका समस्याहरू, गुनासाहरू सुन्दै, सुझावहरू ग्रहण गर्दै, उहाँहरूका आ-आफ्ना ठाउँका समस्या कस्ता छन् ? बाटाघाटा, विकास निर्माण, पूर्वाधार निर्माणका कुराहरू कस्ता छन् ? ती हेर्दै हेर्दै हामी आयौँ । हामी चलिरहेका छौँ, हामी हिँडिरहेका छौँ। नेकपा (एमाले) कतै रोकिने पार्टी होइन। कसैले रोक्दा रोकिने पार्टी होइन। सिध्याउन खोज्दा सिद्धिने पार्टी होइन। कमजोर पार्न खोज्दा कमजोर हुने पार्टी होइन। एकछिनका लागि त सूर्यमा पनि ग्रहण लाग्छ तर ग्रहण लामो समय सहन्न। कहाँको सूर्य, कहाँको चन्द्रमाको सानो ग्रहण ! त्यसकारण यहाँ हामीलाई ग्रहण लगाउन खोज्ने त चन्द्रमा जत्तिका पनि होइनन्। देख्नु भएन एमालेसँग एक्लाएक्लै लड्न आउ भन्यो भने टाप कस्छन्। उनीहरू गठबन्धन बनाउने हुन्, मोर्चा कसेर आउने हुन्। नेकपा (एमाले) यस्ता गठबन्धनसँग लड्न एक्लै काफी छ। यसको अर्थ के हो भने नेकपा (एमाले)का नीतिहरू देशप्रति समर्पित छन्। देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता देशका हितहरूप्रति समर्पित छन्। देशको स्वाभिमानलाई झुक्न नदिने अठोट र प्रतिबद्धतामा केन्द्रित छ।

जनताको खुशीयालीका लागि, भलाईका लागि, समृद्धिका लागि, जनतामा भएको गरिबी, पछौटेपन हटाउनका लागि र ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउनका लागि नेकपा (एमाले) कृतसङ्कल्पित छ। त्यसकारण यो कुरा नेकपा (एमाले)ले आपूmले अनेक प्रतिकूलतासँग जुधेर अनुकूल वातावरण पनि बनाएको छ, मौका लिएको छ पनि छ र काम लिएर देखाएको पनि छ। 

अहिले भर्खरको कुरा गर्ने हो भने साढे तीन वर्ष नेकपा एमालेले सरकार चलाउँदा अरुले ३० वर्षमा गर्न नसकेको काम गरेर देखायो। २०४६ सालको परिवर्तनपछि एमालेको सरकार बन्नुभन्दा अगाडिसम्म वर्षमा १० किलोमिटर पक्की बाटो बन्थ्यो। हामीले अनेक बाटाहरू बनायौँ। हिमाली भेगका बाटाहरू, पहाडी भेगका बाटाहरू, मध्यपहाडी भेगका बाटाहरू त्यसको स्तरोन्नति, त्यसको विकास गर्‍यौं। अझै पनि कति ठाउँमा बेहाल रहेछ, त्यो हामीले हेर्‍यौं। त्यो हामीले सबै गरिसक्न भ्याएनौँ । तर, हामीले एक दुई ठाउँका मात्रै होइन, देशभरिका काम गर्‍यौं। 

भूकम्पबाट विनाश भएका, क्षति भएका घर, कार्यालयको पुनःनिर्माण एमालेले कसरी गर्यो, त्यो यहाँहरूलाई थाहा छ। साढे आठ लाखभन्दा बढी घरहरू पुनःनिर्माण गरेर पीडितलाई हस्तान्तरण गर्यो। त्यसै गरेर सरकारी भवनहरू, स्वास्थ्यचौकी, सरकारी कार्यालय, विद्यालयहरू, क्याम्पसहरू आधुनिक नयाँ र उन्न ढङ्गले निर्माण गर्यो। भत्किएका संरचनाहरू जीर्णाद्धार गर्यो, कुनै नयाँ बनायो। त्यो हामी सबैलाई थाहा छ। अरुले हो भने एउटा काम गर्न गाह्रो मान्थे होला तर नेकपा (एमाले)ले चौतर्फी काम  गर्यो। बाटाघाटाका क्षेत्रमा हुलाकी राजमार्ग तराईमा बनायो, सुनकोशी-मरिन ड्राइभर्सन काम गरेर अगाडि बढायो। जसबाट मधेसको एक लाख ८५ हजार विघा जमिन सिंचाइ हुनेछ। नेकपा (एमाले)ले जब पहाडको कोशी थुनेर, कोशी छेउछाउका पहाड प्वाल पारेर भित्री मधेसमा सिंचाइ गराउन सक्छ भने नेकपा (एमाले)को सरकारले मण्डनदेउपुर, पाँचखाल यति सिंचाइ गर्न सक्दैन होला ? 

हाम्रो योजनामा काठमाडौं-छहरे ४.४ किलोमिटरको टनेल खन्ने छ। वेत्रावतीबाट स्याफ्रूवेंसी २४ किलोमिटर टनेल बनाउने छ। यस्ता अनेक ठाउँमा टनेल बनाउने योजनाहरू छन्। पम्पिङका हिसाबले हामीले धेरै ठाउँमा खानेपानी र सिंचाइका प्रबन्धहरू गरेका छौँ र गर्दैछौँ। त्यसकारण म यहाँका जनतालाई भन्न चाहन्छु– अब विकासको लहर फेरि ल्याउनुपर्छ। अहिले रोकिएको छ, त्यसलाई फेरि उठाउनुपर्छ। जब हामी सम्भव नै छैन भनिएको ठाउँमा पहाड छेडेर मधेसमा सिंचाइको प्रबन्ध गर्दैछौँ भने अन्यत्र गर्न नसकिने कुरा छैन। 

एमालेको सरकार नबनेको भए मेलम्चीको पानी काठमाडौ झर्दैन्थ्यो। बाढीले भत्कायो । हामी नै सरकारमा भएको भए, त्यसलाई तुरुन्तै मर्मत, संभार वा वैकल्पिक व्यवस्था के गर्नुपर्छ, त्यसको हेडवक्र्स फेर्नुपर्छ भने त्यसलाई फेरेर हामी अगाडि बढाइसक्थ्यौँ। हामीले नेपाललाई टनेल ऐरा (सुरुङ युग)मा प्रवेश गरायौँ। सुरुङ युग भनेको सुरुङबाट बाटो निकाल्ने हो। त्यो पहिलो पटक हामीले गर्न खोज्यौँ। हामीले त्यो गर्न सुरु गरेपछि यसो भित्तो फोरेको, त्यस बेलाका लागि त्यो पनि ठूलो कुरा हो, चन्द्रशमशेरका पालामा चुरेमा अलिकति खोलिएको थियो भन्ने कुरा ल्याएर हाम्रो कुरालाई ओझेलमा पार्न खोज्ने वा त्यसलाई हटाउन खोज्ने कोशिश भइराखेको छ । चन्द्रशमशेरले पनि गरे होलान् तर चन्द्रशमशेरका पालाबाट अहिले आउनु पर्यो। बीचमा अरु ? त्यसो भएर नेकपा (एमाले)ले यी कामहरू गर्छ।

हामीले बुझेका छौँ, यहाँका युवाहरूले खेलकुदमा अत्यन्त रुचि राख्नुभएको छ तर खेल मैदान छैन, रंगशाला छैन, क्रिकेट मैदान छैन, फुटबल मैदान छैन । त्यसकारण मल्टिप्रपोज, राजधानीको पनि विल्कुल नजिकै, राजधानीमा चल्दै छ भने यहाँ मण्डनदेउपुर र पाँचखालमा पनि अर्को खेल चल्न सक्छ। यसरी यी ठाउँहरूमा हामी रंगशाला निर्माण गर्न सक्छौँ। पाँचखालमा एउटा रंगशाला निर्माण गर्न सक्छौँ भने मण्डनदेउपुरमा अर्को रंगशाला निर्माण गर्न सक्छौँ। एउटा क्रिकेटको हुन्छ, अर्को फुटबलको हुन्छ । ती खेलमैदान मात्रै होइनन्, ती रंगशाला हुन् भन्ने बुझ्नुपर्छ। अरु यस्ता थुप्रै कुराहरू साथीहरूले यहाँ मागपत्रमा दिनुभएको छ । माग पत्रमा आएका कुराहरू मैले सम्झिएको छु तर अहिले म धेरै लामो केही भनिरहन चाहन्नँ । 
नेकपा (एमाले)लाई राम्रो काम गरेवापत सरकारबाट हटाइयो। सरकारबाट एमाले हटेपछि यो अढाइ वर्षमा देशको अवस्था के भयो ? राजनीति अस्थिरतामा गयो, अन्योलमा गयो, जनतामा निराशा छाउने अवस्था बन्यो, देशमा अराजकता फैलियो । अहिले अस्थिरता र अराजकताको बोलवाला भएको राजनीति भएको छ। देशमा लोकतन्त्रको संस्थागत विकास, देशमा लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन प्रक्रियालाई सही ढङ्गले सुचारु गर्नुपर्छ।  

हामीले हेर्यौँ–आर्थिक हिसाबले, अर्थतन्त्रका हिसाबले जनताको स्तर झन् खस्किँदो छ। गाउँघरमा जस्तो मात्रामा युवाहरू हुनुपर्दथ्यो, त्यस्तो युवाहरू नभएको, युवाहरूको सङ्ख्या कम भएको र युवाहरू प्रायः बाहिर गएको र गाउँघरमा हामीलाई स्वागत गर्ने क्रममा दिदीबहिनीहरूले गीत गाउँदा युवाहरू फर्काइदेउ भन्ने बडो मार्मिक ढङ्गले गाउनु भयो, हृदयस्पर्शी ढङ्गले गाउनु भयो। 

यही सरकारको कारणले गाउँको अवस्था त्यस्तो छ। हाम्रो सरकार हुँदा विदेश जाने सिलसिला १८ प्रतिशतले घटेको थियो। यहीँ उद्यमशीलताको विकास गर्ने, हामीले यहीँ उद्यमशीलतामा जोड दिएका थियौँ। रोजगारीका अवसर खोज्ने होइन, उद्यमशीलताको विकास गरेर रोजगारीका अवसर सिर्जना गर्ने हो। अरुलाई रोजगारीका अवसर दिने हो। रोजगारीका अवसर पनि सिर्जना गर्नुपर्छ । उद्यमशीलता यस्तो चिज हो, जसले रोजगारीका अवसर सिर्जना गर्छ। 

अब हाम्रो कृषिलाई आधुनिकीकरण, व्यावसायिकीकरण गर्नु पर्दछ, कृषिमा प्रविधिको प्रयोग गरेर उत्पादन र उत्पादकत्व बढाउनु पर्दछ । त्यसै गरेर अरु व्यवसायलाई पनि हामीले निर्वाहमुखी होइन, विकासमुखी र परिवर्तनकारी हिसाबले अगाडि बढाउनु पर्दछ । यस हिसाबमा नेकपा (एमाले) अगाडि बढ्नका लागि जनताको भनाइ के छ, जनताकै बीचमा गएर, जनतासँगै भेटेर दुर्गम ठाउँमा, अप्ठ्यारा बाटाहरूमा रातसाँझ गरेर जनतासँग भेटेर, कुराकानी गरेर, उहाँहरूका समस्या सुनेर समाधान दिनेसम्मका काम नेकपा (एमाले)ले गर्नु पर्दछ भन्दै यो भेटघाट गर्दै हामी हिंडिरहेका हौं। 

तसर्थ, म यहाँहरूलाई भन्न चाहन्छु– हामी  देशमा शान्ति, सुव्यवस्था, लोकतन्त्र, सुशासन र समृद्धिको आकांक्षा राख्छौँ भने हामीले अब गम्भीर भएर सोच्न पर्ने बेला आएको छ। हामीले मिशन २०८४ भनेका छौं। यो देश बर्बाद हुन नदिने हामीले सङ्कल्प गर्नुपर्छ कि यो देश नेकपा (एमाले) हुँदाहुँदै हामी बर्बाद हुन दिँदैनौँ। यो सङ्कल्प हामी हरेकले गर्नु पर्दछ। यसै पनि यो  देशलाई गरिब हुन दिने, बर्बाद हुन दिने र यस देशका जनतालाई विदेशीका सस्ता कामदार बनाउन पठाउने यस्ता खालका नीतिबाट अर्थतन्त्र र राजनीति चल्न हुँदैन। 

त्यसकारण राष्ट्रको हितका लागि, देशलाई बर्बाद हुनबाट जोगाउनका लागि एउटा राष्ट्रिय शक्तिको आवश्यकता छ, मजबुत, बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ। नेकपा (एमाले) एउटा बलियो राष्ट्रिय शक्ति हो। यो मबजुत राष्ट्रिय शक्ति हो । तर, यस राष्ट्रिय शक्तिको मजबुती अझै पुगेको छैन। यसको मजबुती विस्तार गर्न जरूरी छ। त्यसकारण हामी यस अभियानलाई अहिले त्यसको पूर्वाधारको रूपमा अगाडि बढाउन चाहिरहेका छौँ। 

धुलिखेलमा गएर फेरि हामीले अर्को कार्यक्रम गर्नुपर्ने छ। त्यसकारण अब हामीसँग धेरै समय पनि रहेन। जेहोस्, यहाँका मागहरू मैले सुनेको छु, यी माग र देशभरिका मागहरूको सन्दर्भमा हामी काठमाडौं फर्किएर छलफल गरेर त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने सन्दर्भमा गम्भीरताका साथ छलफल गर्छौं र अहिले तत्काल समाधान कसरी गर्न सकिन्छ ?

सरकारी/गैरसरकारी र अरु हिसाबले पनि त्यो कुराहरू हामी गर्ने छौँ, दीर्घकालीन रूपमा पनि कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा हाम्रो ध्यान जानेछ । अहिले यति भन्दै फेरि एकपटक जसरी यहाँहरूको सहभागिता र उत्साह रह्यो, जुन प्रकारको मायाममता यहाँहरूले दिनुभयो, त्यसका निम्ति धन्यवाद र आभार प्रकट गर्न चाहन्छु।

आज दुईवटा विशेष कार्य परेका छन्, एउटा सतवित छर्ने दिन परेको छ। यस दिनको सन्दर्भमा पनि सबै दाजुभाइ दिदीबहिनीहरूमा शुभकामना भन्न चाहन्छु। अर्को आज मानवअधिकार दिवस पनि परेको छ। मानवअधिकारको रक्षाका लागि नेकपा (एमाले) सदैव क्रियाशील छ, क्रियाशील रहने छ। सम्झौताहीन ढङ्गले मानवअधिकारको पक्षमा नेकपा (एमाले) सधैं उभिएको छ र फेरि पनि उभिने छ। यहाँहरू सबैको सुस्वास्थ्य, सुख, समृद्धि र सफलताको कामना गर्दै आफ्ना भनाइ टुङ्ग्याउँछु। धन्यवाद !

(नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘झुलाघाट-चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ क्रममा २०८० मंसीर २४ गते काभ्रेपलाञ्चोकको मण्डन देउपुर, कुन्तावेसीमा आयोजित सन्देश सभामा गर्नुभएको सम्बोधनको पूर्णपाठ)