अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले ‘मिसनऔ८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको छ: महासचिव पोखरेल

एमाले ‘मिसनऔ८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको छ: महासचिव पोखरेल


काठमाडौं-नेकपा  एमालेका महासचिव शंकर पोखरेलले एमाले हाल ‘मिसन-२०८४’ लाई मुख्य लक्ष्य बनाएर अघि बढेको बताउनु भएको छ।  ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उहाँले बताउनु भयो।

नेकपा एमाले वाग्मती प्रदेश कमिटीको बैठकलाई मंगलबार सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो।

महासचिव पोखरेलले भन्नुभयो, ‘अहिले गरेको सहकार्य मिसन २०८४ लाई सहयोग पुर्‍याउने गरी नै गरेका छौँ, मिसन २०८४ को हाम्रो उद्देश्यमा हाम्रो कुनै फेरबदल भएको छैन।’

एमालेमा अब काम नगरी नेता बन्न नसक्ने उहाँले बताउनुभयो। पोखरेलले अब पार्टीमा नेताहरूलाई काम गरेर देखाउन आग्रह गर्नुभयो । एमाले काम गर्नेहरूको पार्टी हो भन्ने कुरा स्थापित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। ‘अब कामका आधारमा मूल्याङ्कन गर्ने र मूल्याङ्कनका आधारमा जिम्मेवारी प्रदान गर्ने गरी हाम्रा कमिटीहरू अगाडि बढ्नु पर्दछ’, उहाँले भन्नुभयो।

महासचिव पोखरेलले यति बेला पार्टीभित्र नीति र नेतृत्वको प्रश्नमा कुनै विवाद नभएको स्पष्ट पार्नुभयो। नीति, नेतृत्व र राजनीतिक मुद्दाका हिसाबले पार्टी एकैठाउँमा रहेको उहाँले बताउनुभयो। तथापि स्थानीय र प्रदेश तहमा व्यक्तिगत मतभेदलाई पार्टीभित्रका मतभेदका रूपमा वा समूहबन्दीको रूपमा रूपान्तरण गरेर आफूलाई बलियो देखाउने खोज्ने प्रवृत्ति देखिएको बताउँदै उहाँले त्यो पार्टीका लागि हानिकारक हुने बताउनुभयो। 

पार्टीका अधिवेशनमा सहमति भएन भने व्यक्तिगत रूपमा प्रतिस्पर्धा गर्न पाइन्छ भनेको भए पनि त्यस अनुसार स्वच्छ प्रतिस्पर्धा नभएको उहाँले बताउनुभयो। ‘प्रतिस्पर्धा गर्ने नेताले हुल बाँधेरै प्रतिस्पर्धा गर्न खोजिराखेका छन्, त्यसले नीति, नेतृत्व र राजनीतिमा देखिएको एकतालाई खलबल्याइराखेको छ’, पोखरेलले भन्नुभयो । 

नेतृत्वको लागि बनाउने टिम स्वार्थको लागि बनाइएको टिम भएको उहाँले स्पष्ट पार्नुभयो । यस्ता कुरालाई प्रोत्साहित गर्नु नहुनेमा पोखरेलले जोड दिनुभयो। अधिवेशनको लागि पाँच दिन पहिले नै प्रतिनिधि चयनको काम सकेर अधिवेशन उद्घाटन गर्नु दुई दिन अघि प्रतिनिधि प्रमाणीकरण गर्नुपर्ने पोखरेलले बताउनुभयो। 

अधिवेशन पछि जिम्मेवारी प्राप्त गरेको नेतृत्वले एकता र सहकार्यको वातावरण निर्माणको कामलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने पोखरेलले बताउनुभयो। त्यसो गर्न सक्दा मात्र मिसन २०८४ सफल पार्न सकिने उहाँको धारणा छ। लोकतान्त्रिक अभ्यासका लागि लोकतान्त्रिक संस्कृति निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो।