अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

को हुन् कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्की

को हुन् कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्की


विराटनगर-नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशकाे मुख्यमन्त्री नियुक्त हुनुभएको छ।  काेशी प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार नयाँ सरकार गठनको आह्वान गरेअनुसार बिहीबार दिउँसो कार्कीलाई संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

उहाँ तेस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो। कार्की यसअघि २०७९ पुस २८ र २०८० भदौ २२ गते गरी दुई पटक मुख्यमन्त्री बन्नुभएको थियो।

पहिलो पटक उहाँ एमाले-माओवादी गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएको थियो। दोस्रो पटक भने संविधानको धारा १६८ (२) अनुसार सरकार बन्न नसक्दा सर्वोच्च अदालतको परमादेशबाट उपधारा (३) अनुसार ठुलो संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो।

 कोशी प्रदेशमा मुख्यमन्त्री हुनेमध्येका उहाँ पाँचौँ मुख्यमन्त्री हुन्। प्रदेश सभाको पहिलो कार्यकालमा एमालेका नेता शेरधन राई, भीम आचार्य र नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई मुख्यमन्त्री बन्नुभएको थियो।

को हुन् हिक्मतकुमार कार्की ?

२०२१ साल असोज ११ गते झापास्थित गौरादह नगरपालिका वडा-३ मा पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानका रुपमा हिक्मतकुमार कार्कीको जन्मभएको हो। अहिले पनि उहाँको परिवारमा आमा, दाजु-भाउजु, श्रीमती, दुई छोरी र एक छोरा छन्। उहाँको बाल्यकाल गौरादहमै बित्यो। उहाँले एसएलसीसम्मको अध्ययन स्थानीय जनता माविमा भएको थियो।

विद्यालयमा अध्ययन गर्दैगर्दा अनेरास्ववियुमा संगठित भइ विद्यार्थी राजनीतिमा प्रवेश गरेका उहाँ पार्टीको सम्पर्कमा भने २०३६ सालतिर मात्रै आएका हुन्। महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आईएल अध्ययन गर्ने उद्देश्य राखी २०४२ सालमा उहाँ धरान आएका हुन्। आईएलको पहिलो ब्याचका रूपमा अध्ययन सकेर उच्च शिक्षाका निम्ति उहाँ नेपाल ल कलेज, प्रदर्शनीमार्गमा भर्ना हुनुभएको थियो। उहाँले कनूनमा स्नातकोत्तर तह (एलएलएम) को अध्ययन पूरा गर्नुभएको छ।

अनेरास्ववियुको विभिन्न तहका कमिटिहरुको नेतृत्वदायी भूमिका (क्याम्पस प्राक, जिल्ला कमिटी काठमाण्डु, बाग्मती अञ्चल कमिटी) निर्वाह गर्दै उहाँ २०५५ सालमा केन्द्रिय अध्यक्षको जिम्मेवारीमा रहनुभयो। स्वतन्त्र विद्यार्थी युनियनको समेत नेतृत्व (सभापति-नेपाल ल क्याम्पस) सम्हाल्नु भएका कार्की विध्यार्थी विषेश जिल्ला कमिटिको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अन्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न भएको नेकपा(एमाले) को नवौं रास्ट्रीय महाधिवेशन बाट केन्द्रीय कमिटीमा प्रवेश गर्नुभएको थियो। पार्टीको ५ रास्ट्रीय महाधिवेशनदेखि स्वयंसेवकको केन्द्रीय कमान्डमा प्रदिप नेपाल, विष्णु रिमाल, बिनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, विन्दा पाण्डे संगै महत्त्वपूर्ण भुमिकामा रहदै पर्यवेक्षक, प्रतिनिधि हुँदै केन्द्रिय राजनीतिमा रहनु भएको छ।

नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भए पछी २०७१-२०७३ साल सम्म मेची अञ्चल समन्वय कमिटिको इन्चार्जका रुपमा जिम्मेवारी बहन गरीसक्नु भएका कार्की संविधान अनुकुल संघीयता कार्यान्वयन गर्ने गरी पार्टीको प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा प्रदेश संगठन कमिट, प्रदेश नम्बर १ को प्रचार विभाग प्रमुखको भुमिका कुशलता पूर्वक निर्वाह गरीसक्नु भएको छ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा झापा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ५(१) बाट प्रत्यक्ष निर्वाचित कार्की प्रदेश नम्बर १ को स्थापनाकालीन मन्त्री परिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा २०७४ फाल्गुन ३ गते जिम्मेवारी प्राप्त गर्नु भएको थियो।

करीब ३ वर्ष ७ महीना आन्तरिक मामिला तथा कानून मन्त्रीका रुपमा सफल कार्यकाल सम्पन्न गरि २०७८ साल भाद्र १० गते सरकार बाट बाहिरिनु भएका कार्कीले ५७ वटा प्रदेश कानून, दुई दर्जनभन्दा बढी नियमावली, कार्यविधि तर्जुमा गरी कानून निर्माणका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएको छ। प्रदेशको शान्ति सुरक्षाका सम्बन्धमा प्रदेश प्रहरीहरुको क्षमता अभिबृद्दी, सस्थागत सबलिकरण, अधुनिकिकरण र पूर्वाधारको विकासमा महत्त्वपूर्ण योगदान गर्नुभएको छ। सिमा सुरक्षा मजबुत नबने सम्म आन्तरिक सुरक्षा ब्यवस्थापन फितलो हुने कुरालाई महसुस गर्दै केन्द्रिय सरकार मातहतको सशस्त्र प्रहरी बल लाई समेत सबल र सक्षम बनाउदै लैजानु पर्छ भनेर सिमा सुरक्षाका निम्ति निर्माण र थप गर्ने कार्यको समेत अगुवाई गर्नु भएको थियो। संचार क्षेत्रको समेत जिम्मेवारी लाई बोध गर्दै प्रादेशिक सन्चार प्रतिस्ठान स्थापना गरि समग्र सन्चार क्षेत्रको विकासमा समेत उहाको योगदान रहेको थियो।

देशका दुई ठुला कम्युनिष्ट पार्टीको एकता द्वारा निर्माण भएको नेकपाको केन्द्रिय कमिटि सदस्यका रुपमा रहनु भएका कार्की एमालेको दशौ रास्ट्रीय महाधिवेशन बाट केन्द्रिय कमिटी सदस्यका रुपमा निर्वाचित हुनुभएको थियो। उहाँ अहिले नेकपा (एमाले) को स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशको सह–इन्चार्ज एवम मोरङ जिल्ला इन्चार्जको भूमिकामा हुनुहुन्छ।
२०७९ साल मङ्सिर ४ गते सम्पन्न दोश्रो प्रदेश सभा निर्वाचनमा झापा जिल्लाको क्षेत्र नम्बर ५(१) बाट दोश्रो पटक निर्वाचित हुनुभई पुस २४ २०७९ मा कोशी प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा निर्वाचित हुनुभएको थियो। उहाँ पुनः नेपालको संविधानको धारा १६८(३) बमोजिम २०८० साल भाद्र २२ गते मुख्यमन्त्री भएर २०८० असोज २० गते राजिनामा दिएर पद मुक्त हुनुभएको हो।

कार्की केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलसँगै पुनः संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ।