अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट


काठमाडौँ-विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्नुभएको छ। ट्रोटसनबर्गले आज सिंहबारस्थित अर्थ मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गर्नुभएको हो।

काठमाडौँमा मङ्गलबारदेखि सुरु भइ चार दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ ९आईडा०को तेस्रो रिप्लेनिसमेन्ट बैठक आईडा–२१ मा सहभागी हुन ट्रोटसनबर्ग नेपाल आउनुभएको हो। भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र मार्टिन रेजर तथा तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी हुनुहुन्थ्यो। 

आकीहिको विश्व बैंकको विकास वित्त (डिएफआई) परिचालन र रेजर दक्षिण एसिया हेर्ने उपाध्यक्ष हुनुहुन्छ। भेटमा मन्त्री पुनले नेपालमा आइडीए–२१ बैठकको आयोजना हुँदा नेपालको अन्तर्राष्ट्रियस्तरमा ख्याती बढ्ने बताउनुभयो। उहाँले बैठकका लागि नेपाललाई छनोट गरेकामा विश्व बैंक व्यवस्थापनलाई धन्यवाद दिनुभएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ। 

बैठक भव्यरुपमा सफल पार्न नेपाल सरकारका तर्फबाट सम्पूर्ण सहयोग हुने प्रतिबद्धता उहाँको थियो। विश्व बैंकसँग नेपालको छ दशक लामो साझेदारी रहेको चर्चा गर्दै मन्त्री पुनले नेपालको विकासमा बैंकले उदारतापूर्वक गरेको सहयोगको प्रशंसा गर्नुभयो। मन्त्री पुनले पाइपलाइनमा रहेका माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजना निर्माणमा विश्व बैंकले देखाएको निरन्तरको चासो र प्रतिबद्धताको सराहना गर्नुभयो। 

उहाँले नेपाल ती दुवै आयोजना अघि बढाउन तत्पर रहेको जानकारी दिँदै वित्तीय व्यवस्थापनको टुङ्गो छिट्टै लाग्ने विश्वाससमेत व्यक्त गर्नुभयो। सुशासन र संस्थागत क्षमताको सुदृढीकरण तथा आगामी सन् २०२६ भित्र नेपाललाई विकासशील मुलुक (एलसिडी) मा स्तरोन्नति, जलवायु परिवर्तनका प्रभावसँग जुध्न र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन तथा रोजगारी सिर्जनालगायत योजनाका लागि नेपाललाई सहुलियतपूर्ण कर्जामा जोड दिन मन्त्री पुनले आग्रह गर्नुभयो। उहाँले २१औँ आइडीए बैठकमार्फत विश्व बैंकले वित्तीय सहयोगलाई मात्र नभई ज्ञान र नवप्रवर्तनका क्षेत्रलाई समेत प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो। 

फरक प्रसङ्गमा मन्त्री पुनले नेपालको अर्थतन्त्रको आकार सानो नभई मध्यमस्तरको भएको उल्लेख गर्नुभयो। विश्व बैंकका प्रबन्ध निर्देशक ट्रोटसनबर्गले आईडीए–२१ को तेस्रो रिप्लेनिसमेन्ट बैठक आयोजना गरेकामा नेपाललाई बधाई र धन्यवाद दिनुभयो। नेपाल र विश्व बैंकबीच लामो साझेदारी रहेको चर्चा गर्दै उहाँले नेपाललाई बैंकले सधैं उच्च प्राथमिकतामा राखेको बताउनुभयो। आगामी दिनमा समेत सहकार्य थप मजबुत भएर जाने उहाँको भनाइ थियो।