अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चको फैसलापछि मुख्यमन्त्री कार्कीले भन्नुभयोः कांग्रेसको जिद्दी थियो, अदालतले स्पष्ट पारिदियो

सर्वोच्चको फैसलापछि मुख्यमन्त्री कार्कीले भन्नुभयोः कांग्रेसको जिद्दी थियो, अदालतले स्पष्ट पारिदियो


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्चको फैसला गरेपछि कांग्रेसको जिद्दी सकिएको बताउनुभएको छ।

मंगलबार सर्वोच्च अदालतले कोशी प्रदेशको वर्तमान सरकारलाई नै निरन्तरता दिने फैसला गरेसँगै मुख्यमन्त्री कार्कीले यस्तो प्रतिक्रिया दिनुभएको हो।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘सबै कुराको स्थायित्व संविधान र कानुनले गर्छ। कानुन र संविधान अनुसार हामी चल्छौँ । प्रचलित नियम र अभ्यास अनुसार चल्दा हामी असफल हुने ठाउँ थिएन। उहाँहरूले अलिकति जिद्दी गर्नुभएको थियो। त्यसलाई आजको अदालतको निर्णयले स्पष्ट पारिदिएको छ।’

उहाँले संविधान र कानुनले सबै कुराको स्थायित्व दिने कुरा आज अदालतको फैसलाले स्पष्ट पारेको पनि बताउनुभयो।

निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतको पूर्ण इजलासले आज खारेज गरिदिएपछि मुख्यमन्त्री हिक्मत कुमार कार्कीकै सरकारले निरन्तरता पाएको छ। न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले रिट खारेज हुने फैसला गरेको हो।

२०८१ जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका हिक्मतकुमार कार्कीविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । दायर रिटमा आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसारको अन्तिम विकल्पको सरकार भएकाले हटाउन नमिल्ने जिकिर गरेका थिए।