अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल र दक्षिण कोरियाबीचको कूटनीतिक प्रतिनिधिको रूपमा नेपालको हितका लागि अधिकतम प्रयास गर्छु

नेपाल र दक्षिण कोरियाबीचको कूटनीतिक प्रतिनिधिको रूपमा नेपालको हितका लागि अधिकतम प्रयास गर्छु


नेपाल-कोरिया सम्बन्धः विगत, वर्तमान र आगामी मार्गचित्र

पृष्ठभूमि
नेपाल-कोरिया गणतन्त्र सम्बन्धः
नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध १५ मे १९७४ मा स्थापना भएको थियो। कोरियाले १९७४ मा काठमाडौंमा आफ्नो दूतावास खोलेको थियो। नेपालले २००७ मा सियोलमा आफ्नो दूतावास स्थापना गर्‍यो। दुई देशबीचको सम्बन्ध सद्भाव, मित्रता र पारस्परिक सहयोगमा आधारित छ। सन् २०२४ दुई मुलुकबीचको सम्बन्धको एक ऐतिहासिक वर्ष पनि हो। हामी सन् २०२५ मा स्वर्ण उत्सव मनाइरहेका छौं।

वर्तमान परिदृष्य/अवस्था

कोरियामा नेपाली: जुलाईको अन्त्यसम्म कोरियामा नेपालीको संख्या ६९,४३८ रहेको छ। जसमध्ये कामदारको संख्या ५३,४८४ (E7) भिषा अर्थात् दक्ष कामदार ६,५५४ र EPS कामदारहरू अर्थात् (E9) भिषामा ४६,९३० रहेका छन्। विद्यार्थीको संख्या ६,३३४ रहेको छ।

द्विपक्षीय संयन्त्र: नेपाल र कोरियाबीच परामर्श संयन्त्र स्थापना गर्न २००१ अक्टोबरमा विदेश मन्त्रालयहरूबीच सम्झौता भएको थियो। संयन्त्रले दुबै पक्षलाई द्विपक्षीय सम्बन्धका विभिन्न आयामहरूमा छलफल गर्न र आगामी दिनहरूमा द्विपक्षीय सहयोगलाई अझ प्रवर्द्धन गर्न योगदान दिएका छन्। समय समयमा संयन्त्रका बैठक बस्ने गरेका छन्।

उच्चस्तरीय आदान प्रदान: कोरिया गणतन्त्रमा नेपालबाट उच्चस्तरीय भ्रमणहरू भएका छन्। नेपालमा पनि कोरियाबाट उच्चस्तरीय भ्रमण भएका छन्। नेपालबाट पटक-पटक परराष्ट्र मन्त्री तथा तत्कालीन सरकारका मन्त्रीहरू, उच्चस्तरीय अधिकारीहरूको भ्रमण भएको छ। त्यसैगरी, कोरिया गणतन्त्रबाट पनि सन् २००९ मा परराष्ट्रमन्त्री श्री यु म्युंग-ह्वानसहित विभिन्न समयमा उप-परराष्ट्रमन्त्रीहरू, संसदको माथिल्लो सदनका सभामुख लगायतको भ्रमण भएको छ।

सम्झौता र संयन्त्रहरू: नेपाल र कोरियाबीच ३० मार्च २००५ मा साँस्कृतिक सम्झौता भएको थियो। जसले दुई देशबीचको संस्कृति, कला, शिक्षा, युवा, खेलकुद र पर्यटनका क्षेत्रमा सहयोगको प्रवद्र्धन र विकास गर्ने उद्देश्य राखेको छ। सन् ३७२ मा कोरियामा बौद्ध धर्म प्रवेशसँगै लुम्बिनीसँग भावनात्मक र धार्मिक सम्बन्ध विकास भएको मानिन्छ। सन् ७१९ मा कोरियाली गुरु हेछो लुम्बिनी पुगेको अभिलेख छ।

रोजगार सम्झौता: नेपाल र कोरियाबीच २३ जुलाई २००७ मा रोजगार अनुमति प्रणाली (EPS) सम्झौतामा हस्ताक्षर गरिएको थियो, जसले नेपाली कामदारहरूलाई कोरियामा काम गर्ने प्रणालीको व्यवस्था गरेको छ।

विभिन्न सम्झौता: नेपाल र कोरियाबीच अनुदान सहायता सम्बन्धी फ्रेमवर्क सम्झौता, नेपाल-कोरिया आर्थिक/प्राविधिक सहयोगजस्ता द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

पारस्परिक सहयोग: कोरिया गणतन्त्रले १९७६ देखि नेपाललाई आफ्नो विकास सहयोग प्रदान गर्दै आएको छ। कोरियाले अनुदान सहायता र प्राविधिक सहयोग गर्दै आएको छ। कोरियाले मध्यम स्तरका प्राविधिक जनशक्तिलाई स्वयंसेवकको रूपमा नेपालमा खटाउने गरेको छ।

नेपालमा लगानी: दक्षिण कोरिया नेपालका शीर्ष पाँच लगानीकर्ताहरूमा पर्दछ। कोरियाली लगानीकर्ताहरूले नेपालमा मुख्यतः जलविद्युत्, निर्माण र सेवा क्षेत्रमा लगानी गरेका छन्। नेपालमा कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ र हुन्डाईले उत्पादन सुरु गरेका छन्।

नेपाल कोरियाली पर्यटकको गन्तव्य मुलुक: नेपाल कोरियाली पर्यटकहरूको लागि सबैभन्दा रुचाइएको गन्तव्यमध्ये एक हो। सगरमाथा र लुम्बिन-बुद्धको जन्मस्थल कोरियाली पर्यटकहरूको लागि मुख्य आकर्षण हुन्। नेपाल र कोरिया दुवै देशमा बौद्ध धर्मका आदर्शहरूमा आधारित साँस्कृतिक मूल्यहरूको समानता छ। कोरियाबाट नेपालमा वार्षिक ३० हजार भन्दा बढी पर्यटक भित्रिने गरेका छन्। साहसिक पर्यटन र परोपकारी गतिविधि कोरियाली नागरिकहरूको ठूलो योगदान रहेको छ।

समस्या/चुनौति

नेपाल र कोरियाबीचको राजनीतिक, आर्थिक र साँस्कृतिक सम्बन्धहरू छन्। नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना सुरुआती चरणदेखि नै अर्थतन्त्र, पूर्वाधार विकास र रोजगारीलगायतका क्षेत्रमा पारस्परिक सहयोग आदानप्रदान हुँदै आएको छ। नेपालले गणतन्त्र कोरियाबाट विभिन्न लाभ लिन सक्ने स्थिति छ। तर, हाम्रा नीतिगत र योजना कार्यान्वयनमा भएका समस्याका कारण सोचेजति लाभ लिन नसकिरहेको अवस्था विद्यमान छ। तीमध्ये केही विषयलाई बुँदागत प्रस्तुत गरिएको छ–

  • उच्चस्तरीय भ्रमण हुन नसक्नु।
  • महत्वपूर्ण निकाय (सरकारी कार्यालय, विश्वविद्यालय, थिंक ट्यांक, स्थानीय सरकार) हरूबीचको सहकार्यमा सहजीकरणमा कमजोर समन्वय रहनु।
  • झन्डै २ करोड कोरियाली नागरिकले विदेश भ्रमण गर्ने गरेकोमा नेपालमा ३० हजारमात्र आउने गरेका छन्। तथ्याङ्कअनुसार कोरियाली नागरिकले सन् २०२३ मा विदेशमा क्रेडिट कार्डबाट मात्रै १४.३२ विलियन अमेरिकी डलर खर्च गरेका छन्। त्यो भनेको नेपालको वार्षिक बजेट बराबर हो। तर, नेपालमा त्यसको नगण्यमात्रै भित्रिएको अवस्था छ।
  • कोरियालीहरूले नेपालमा लगानीको इच्छा राखे पनि लगानी भित्र्याउन नीतिगत र लगानीको वातावरण दिन नसक्नु।
  • नेपालले सहकार्य गर्न खोजेको क्षेत्रको बारेमा रणनीतिक योजना र भिजनको आवश्यकता।

अगामी मार्गचित्र

दुई सार्वभौम मुलुकबीच संवाद र सहयोगलाई सहज बनाउन राजदूतले कूटनीतिक सहजकर्ताको रुपमा काम गर्नुपर्दछ। राजदूत विदेशी राष्ट्रहरूमा कूटनीतिक प्रतिनिधि हुन्, उनीहरूको काम दुई देशबीच सकारात्मक सम्बन्ध कायम राख्न मद्दत गर्ने हो। नेपाल र दक्षिण कोरियाबीचको कुटनीतिक सम्बन्धलाई अझै व्यवस्थित र उचाइमा पुर्‍याउन आफ्ना प्राथमिकता निम्नअनुसार प्रस्तुत गर्दछु–

क. उच्चस्तरीय भ्रमणमा जोड

नेपाल र कोरियाबीच कुटनैतिक सम्बन्ध स्थापना भएको स्वर्ण वर्षको अवसर पारेर दुई मुलुकबीचको सम्बन्धलाई थप दरिलो बनाउन र कोरियाबाट विकासका लागि ज्ञान, प्रविधि र लगानी भित्र्याउनका लागि उच्चस्तरीय भ्रमण गराउन सकिन्छ। दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि उच्चस्तरको भ्रमणको आदानप्रदान अपरिहार्य हुन्छ। त्यसको साथै कोरियाली लगानीकर्तासँग नियमित भेटघाट, सम्पर्क र उनीहरूको नेपालमा लगानीप्रतिको विश्वास बढाउनका लागि नेपालबाट सरोकारवाला मन्त्री वा उच्चस्तरीय अधिकारीहरूको नियमित भ्रमण हुन आवश्यक देखिन्छ।

ख. नेपालमा लगानी तथा निर्यात वृद्धि

  • नेपाल र दक्षिण कोरियाबीचको बढ्दो व्यापार असन्तुलन कम गर्न द्विपक्षीय लगानीसम्बन्धी साझेदारीमा जोड दिनुपर्ने अवस्था छ। कोरियाबाट नेपालतर्फ हुने आयातको तुलनामा नेपालको निर्यात निकै कम रहेकाले व्यापार सन्तुलन कायम गर्न नेपालमा कोरियाली लगानी आवश्यक छ। ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधिजस्ता क्षेत्रमा लगानी साझेदारी बढाउन सकिन्छ। नेपाली अर्थतन्त्रको मेरुदण्ड पनि ऊर्जा, कृषि, पर्यटन नै प्रमुख हो।
  • नेपाल उद्योग वाणिज्य महासंघका अनुसार ३५० भन्दा बढी कोरियालीले नेपालमा उद्यम गरिरहेकाले नेपालमा लगानीको वातावरण बनाउन सम्भव देखिएको छ। कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानीका लागि अधिकतम पहल गर्नेछु। नेपालमा लगानी गर्न इच्छुक मझौला उद्योगहरूलाई सहजिकरण गर्ने तथा नेपालको निजी क्षेत्रसँग समन्वयको कार्य गर्नेछु।
  • चक्रपथसहित सडक निर्माण, ठूला पूर्वाधार लगायत विभिन्न निर्माण कार्यको लागि प्रस्ताव गर्नेछु।
  • सूचना प्रविधिको क्षेत्रमा, फोहोर व्यवस्थापन, अर्गानिक मल उत्पादन कारखाना खोल्ने लगायतका विषयमा सहयोगको प्रस्ताव गर्नेछु।
  • नेपाल कोरियाको सहायता सूचीमा रहेकोले Economic Cooperation Development Fund (EDCF) मार्फत प्राप्त हुने रकम न्यून ब्याजमा लिने र यहाँको पूर्वाधार क्षेत्रमा लगानी गर्न पहल गर्नेछु। कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को लगानीलाई अझै व्यापक र विस्तार गर्न पहल गर्नेछु।
  • नेपाली उत्पादनहरूको माग, प्रतिस्पर्धा र बजारको अवस्था अध्ययन गर्दै निर्यात गर्न सकिने उत्पादनहरूको पहिचान गर्नेछु । नेपालका कृषिजन्य उत्पादन तथा हस्तकलाका सामग्रीको निर्यात सम्भावना बढी रहेकाले ती सामग्रीको प्रवद्र्धनका लागि आवश्यक भूमिका निर्वाह गर्नेछु। नेपाली उत्पादनको प्रवद्र्धनका लागि व्यापार मेला, प्रदर्शनी र नेटवर्किङ कार्यक्रमहरूमा सहभागिता जनाउनेछु। दुई देशबीच भएका व्यापार सम्झौताको कार्यान्वयन, भन्सार प्रक्रियाको सहजीकरण, व्यवसायिक भ्रमणको आयोजना गर्न पहल गर्नेछु।

ग. पर्यटन प्रवर्द्धन

  • लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन पहल गर्नेछु। लुम्बिनीलाई पाँच सय मिलियन बौद्धमार्गीहरूको आस्थाको केन्द्र बनाउने लक्ष्यसहित कम्तिमा ०.५ प्रतिशत बौद्धमार्गीलाई नेपाल ल्याउन पहल गर्नेछु।
  • लुम्बिनीलाई विश्व शान्ति सहरको रुपमा विकास गर्न कोरियन प्रोफेसर डा. क्वाक योङ हुनले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि पहल गर्नेछु। अत्याधुनिक सहरको परिकल्पना गरिएको उक्त गुरुयोजनाले लुम्बिनीलाई शान्ति र आध्यात्मिकसँगै अत्याधुनिक सहरको रुपमा विकास गर्ने उल्लेख छ।
  • नेपालमा बढीभन्दा बढी दक्षिण कोरियाली पर्यटक भित्र्याउन काठमाडौँ-कोरिया सिधा उडान गर्न जरुरी छ। हाल कोरियाबाट नेपाल भित्रिने पर्यटकको संख्या १०औँ स्थानमा रहेको छ। सन् २०२३ मा २३ हजार ७४३ र कोरोना महामारीअघि ४७ हजारभन्दा बढी कोरियाली पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्कले देखाएको छ । कोरियाली पर्यटकको आगमन दर बढाउन नेपाल वायुसेवा निगमको काठमाडौँ-कोरिया सिधा उडानबाट उल्लेखनीय कोरियाली पर्यटक नेपाल भित्र्याउन सक्नेछ। कोरियन एयरले सोल-काठमाडौं हप्ताको ३ देखि ४ उडान गर्ने र भाडा समेत महंगो भएका कारण पर्यटक आवागमनमा कमी आएको छ।
  • कोरियन एयरसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउन, कोरियन पर्यटकलाई नेपाल भित्र्याउन, नेपाली नागरिकका सस्तो मूल्यमा कोरिया उडान हुने वातावरण तयार गर्नका लागि नेपाल वायुसेवाको उडान अनिवार्य शर्त हो। उडान सञ्चालन भएमा कामदारको भाडा कम हुने, पर्यटकको संख्या बढ्ने तथा नेपाल वायुसेवा निगमको ब्यापार बढ्नेछ। नेपाल वायुसेवा निगमको जहाज उडानमा अहिले देखिएको प्राविधिक समस्या हल गर्न मेरो पहल र प्रयत्न रहन्छ। कृषिको यान्त्रीकरणका लागि पहल गर्ने।

घ. श्रम तथा रोजगार

  • दक्षिण कोरिया नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य मुलुक हो। इमान्दार र मेहनती श्रमिकको मान्यता पाएका नेपाली श्रमिकको छवि कोरियामा राम्रो देखिएको छ। करार अवधि सकिएसँगै स्वदेश फर्कने, अवैधानिक बसोबास नगर्ने कारण पनि नेपाली कामदार कोरियाली रोजगारदाताको रोजाइमा छन्। जसका कारण ईपीएसमा नेपाली श्रमिकको कोटा वर्षेनि वृद्धि हुँदै आएको छ। ईपीएस प्रणालीमा नेपालले दर्शाएको निष्पक्षतालाई अझै प्रचार गर्दै कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल लिनेछु।
  • मानसिक तनाव, कामको चाप, खानपिन, हावापानीलगायत कारण कोरियामा रहेका नेपाली डिप्रेसनको शिकार हुने गरेको, आत्महत्याका घटनासमेत हुने गरेकाले मानसिक तनाव तथा आत्महत्याको घटना न्यूनीकरणका लागि “तनाव व्यवस्थापन” कार्यक्रमलाई प्रभावकारी बनाउन पहल गर्नेछु।

ङ. शिक्षा

  • दक्षिण कोरियामा अध्ययन गर्न जाने विदेशी विद्यार्थीको संख्यामा वृद्धि भएसँगै त्यहाँको सरकारले भिसा नीतिमा कडाइ गरेको छ। नेपाली युवायुवतीलाई पनि विद्यार्थी भिसामा कामको लोभ देखाउँदै कोरिया लैजाने प्रवृत्तिविरुद्ध आवश्यक रणनीति निर्माण गर्नेछु।
  • नेपाली विद्यार्थीलाई आफ्नो सिप सिकेर स्वदेश फर्कन र नेपालमै उद्यम गर्ने वातावरण निर्माण गर्ने विशेष भूमिका निर्वाह गर्नेछु।

च. संसदीय आदानप्रदान

  • दक्षिण कोरियाली संसदमा नेपाल सम्बन्धी संसदीय मैत्री समूह गठन गरिसकेको छ भने नेपालको संघीय संसदले पनि नेपाल कोरिया मैत्री समूह निर्माण गरेको अवस्था छ। मैत्री समूहमार्फत संसदीय कुटनीतिका लागि आवश्यक पहल लिनेछु।
  • नेपाललाई कोरियाली नीति निर्माता र थिंक ट्यांकसँग जोड्ने काममा विशेष जोड दिनेछु। महत्वपूर्ण निकाय (सरकारी कार्यालय, विश्वविद्यालय, थिंक ट्यांक, स्थानीय सरकार, संघसंस्था)हरूबीचको सहकार्यमा सहजीकरण गरेर बलियो समन्वय स्थापित गर्नेछु। Research and Development मा विशेष जोड दिनेछु।

छ. प्रविधि र नवप्रवर्तन

  • दक्षिण कोरिया विश्वभरि प्रविधिको क्षेत्रमा अत्यन्त उन्नत र प्रभावशाली देशको रूपमा चिनिन्छ। दक्षिण कोरियाका कम्पनीहरू सामसङ, एलजीदेखि अटोमोबाइलको उत्पादनमा पनि कोरिया अग्रपंतीमा छ। आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका प्रविधिको विकास र प्रयोगमा दक्षिण कोरिया अग्रणी छ। रोबोटिक्स र अन्य आधुनिक प्रविधिमा व्यापक लगानी छ। प्रविधि नवप्रवर्तन (Innovation) र दीर्घकालीन प्रविधि विकासमा कोरियाली लगानी र भित्र्याउन पहल गर्नेछु।
  • प्रविधिको क्षेत्रमा नेपाली दक्ष कामदारको उपयोगका सम्बन्धमा आवश्यक सहजीकरण गर्नेछु।

अन्त्यमा,

  • राजदूतले सिंगो राष्ट्रको प्रतिनिधित्व गर्ने भएकाले पदमा रहँदा नेपालको इज्जत, गरिमालाई वृद्धि गर्न इमान्दार भएर कर्तव्य निर्वाह गर्नेछु। राजदूतको सफलता त्यस देशका सरकार, नागरिक समाज र प्रवुद्ध वर्गसँग गरिने अन्तक्र्रियामा समेत निर्भर रहने भएकाले त्यसतर्फ विशेष ध्यान दिनेछु। दक्षिण कोरियामा नेपालप्रतिको चासो वृद्धि गर्न, अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदछु।

धन्यवाद !

(नेपालका लागि दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत डा.शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिमा प्रस्तुत गर्नुभएको कार्य योजनाको पूर्ण पाठ)