अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुवास नेम्वाङ इतिहासले सधैँ सम्झिरहने पात्र हुन्: प्रधानमन्त्री ओली

सुवास नेम्वाङ इतिहासले सधैँ सम्झिरहने पात्र हुन्: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुवासचन्द्र नेम्वाङ इतिहासले सम्झिरहने पात्र भएको बताउनुभएको छ ।

एमालेका तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओलीले संविधान निर्माण गर्न र जारी गर्न नेम्वाङको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘उहाँले कुर्सीमा मात्र अध्यक्षता गर्नुभएको थिएन। वैचारिक नेतृत्व पनि गर्नुहुन्थ्यो । त्यसैले सुवासचन्द्र नेम्वाङजी इतिहासले सम्झिरहने पात्र हुन् । उहाँका स्मृति ताजै राख्नका लागि र उहाँको सम्झना/आदर्श पछ्याएर केही काम गरिरहनका लागि हामी सुवासचन्द्रका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौँ।’

साथै, उहाँले निष्क्रिय रहेका प्रतिष्ठानलाई सक्रिय बनाउने धारणा राख्नुभयो । माधव नेपाल पुष्पलाल प्रतिष्ठानको अध्यक्ष भएको र प्रतिष्ठान पार्टीलाई छोड्नुपर्नेमा पार्टी फुटाएर जाँदा कब्जा गरेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुष्पलाल फुट्नुभएको होइन पार्टी फुटेको हो। माधव नेपालले पार्टी छाडेर जाँदा निजी सम्पत्ति जस्तो गरेर लानुभयो।’

यस्तै, प्रधानमन्त्री ओलीले समाज गतिशिल र प्रगतिशिल रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘समाज गतिशिल र प्रगतिशिल छ। कहिले कहिले केही प्रतिगामी तत्व, असामाजिक तत्व र जनविरोधी तत्वहरुले गर्दा देशको बारेमा नसोच्ने, आफ्नो मात्र सोच्ने अवान्छित क्रियाकलापबाट समाजमा हावी हुन सक्छन्। अगाडि बढिरहेका गतिमा ब्रेक लाग्न सक्छ तर समाजले त्यसलाई हटाइदिन्छन्। यी कहिले काहीँ हुने आकस्मिक घटना हुन्।’