अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताको बहुदलीय जनवादलाई अङ्गीकार गर्दै समाजवादतर्फ अघि बढिरहेका छौँ: योगेश भट्टराई

जनताको बहुदलीय जनवादलाई अङ्गीकार गर्दै समाजवादतर्फ अघि बढिरहेका छौँ: योगेश भट्टराई


काठमाडौँ-नेकपा एमालेका सचिव योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज)लाई अङ्गीकार गर्दै शान्तिपूर्ण बाटोमार्फत समाजवादतर्फ नेपाल अघि बढिरहेको बताउनुभएको छ। 

चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानको आयोजनामा बेइजिङमा भएको १४औँ विश्व समाजवाद फोरमलाई सम्बोधन गर्दै सचिव भट्टराईले  शान्तिपूर्ण प्रक्रियामार्फत आमजनताको समर्थनसहित समाजवादको बाटोमा नेपाल अघि बढेको स्पष्ट गर्नुभयो। 

‘नेपालमा हामी समाजवादी उन्मुख संविधान स्वीकार गर्दै सामाजिक-आर्थिक असमानतालाई सम्बोधन गर्न अघि बढिरहेका छौँ, जसमा प्रमुख राजनीतिक दलहरूको सामूहिक विवेक समावेश छ।  जननेता मदन भण्डारीको नेतृत्वमा एमालेले जनताको बहुदलीय जनवादको सिद्धान्त विकास गरेको छ,’ उहाँले भन्नुभयो,  ‘हामी नेपाली अभ्यास र नेपाली भूमिमा मार्क्सवादको रचनात्मक प्रयोगमा आधारित जबजको मार्गदर्शनसहित शान्तिपूर्ण माध्यमबाट समाजवाद हासिल गर्न चाहन्छौँ।’

एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित वर्तमान सरकारले छिमेकी देशसहित सबै मित्रराष्ट्रको साथ, सहयोग र ऐक्यबद्धताको अपेक्षा गरेको सचिव भट्टराईले बताउनुभयो।  उहाँले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको रक्षा गर्दै देश र जनताको पक्षमा कसैसँग सम्झौता नगरी आर्थिक समृद्धिका पक्षमा नेपाल जुटिरहेको उल्लेख गर्नुभयो।  नेता भट्टराईले पारस्परिक लाभ र भाइचाराको सम्बन्धलाई जोड दिँदै विश्व शान्ति र एकताको पक्षमा नेपाल रहेको स्पष्ट गर्नुभयो।