अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विपद्को घडीमा उद्धार र राहत पुर्‍याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन: प्रधानमन्त्री ओली

विपद्को घडीमा उद्धार र राहत पुर्‍याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन: प्रधानमन्त्री ओली


काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिको बेला विरोधका लागि विरोध गर्नुको साटो विपत्तिमा परेकाहरूको उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिनुपर्ने बताउनु भएको छ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई सोमबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य भइरहेको भन्दै अब थप तीव्रता दिइने बताउनु भएको हो।

प्रधानमन्त्री ओली भन्नुभयो, ‘सरकार यहाँहरूकै हो। यस विपद्को घडीमा सक्दो सहयोग र राहत पुर्‍याउने कार्यमा सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु।’

प्रधानमन्त्री ओलीले बाढी आउने कुरालाई रोक्न नसकिने भन्दै आफूले सकेअनुसार राहत र उद्धार गर्न सरकारका अङ्गलाई निर्देशन दिएको पनि बताउनु भयो। ‘बाढी र पहिरो आउने कुरा पूर्वसूचना गरेर जाँदैन। गएपछि क्षति पुर्याउने नै हो। सरकारले राहत र उद्धारको काम गरेको छ’, उहाँले भन्नभयो, ‘मैले बाहिर हुँदा पनि जानकारी लिएको छु। सरकारले आफ्नो बुताअनुसार गरेको छ । विरोधका लागि विरोध होइन । सबै मिलेर अघि बढ्नु आवश्यक हुन्छ।’

प्रधानमन्त्रीले अब आफू स्वदेश फर्केपछि पनि उद्धार, राहत र पुनर्निर्माणमा लाग्ने भन्दै त्यसलाई थप प्रभावकारी बनाउने बताउनु भयो।

प्रधानमन्त्री ओलीले मौसम विज्ञान विभागले वर्षाको अनुमान गरे पनि पहिरोको अनुमान नभएको बताउनु भयो। पूर्वानुमानमा वर्षा भारी हुने बारेमा सरकारको तयारी के थियो भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले रेड अलर्ट जारी भएको, तर कहाँ कहाँ पहिरो जान्छ कुनै पूर्वजानकारी नभएको बताउनु भयो।