अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्यटकको आकर्षक गन्तव्य बन्दै बिचित्र गुफा

पर्यटकको आकर्षक गन्तव्य बन्दै बिचित्र गुफा


गुल्मी-गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको बिचित्र गुफा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ। गुल्मी सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा धुर्कोट गाउँपालिका-५ बस्तुमा रहेको बिचित्र गुफा साँच्चिकै बिचित्रको छ।

विसं २०४५ मा बारीमा मकै खान गएको ढेँडुबादरलाई लखेट्ने क्रममा स्थानीय जनार्दन भण्डारीले पहिलो पटक उक्त गुफा पत्ता लगाउनुभएको थियो। विगत लामो सयमदेखि बिचित्र गुफा हेर्नका लागि आन्तरिक पर्यटकहरुमात्र पुग्ने गर्दथे। पछिल्लो समय बाह्य पर्यटकसमेत यहाँ आउन थालेका छन्। यस पटक हालसम्म फ्रान्स, जर्मनी र बेलायतका नागरिक गुफा हेर्न यहाँ आएका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताउनुभयो।

एक सय ८५ मिटर लम्बाइ र तीन सय ५० मिटर चौडा भुभागमा गुफा फैलीएको छ। यति लामो भुभागमा फैलीएको बिचित्र गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँचवटा द्वारको प्राकृतिक आकार देख्न सकिन्छ। स्थानीय जनार्दन भण्डारीले आफ्नो बारीमा मकै खानका लागि गएको अवस्थामा ढेँडुबाँदरलाई लखेट्ने क्रममा ढेँडुबाँदर एकाएक पहरा (चट्टान)को बीचमा रहेको सानो प्वालवाट भित्र पसेको बताइन्छ। उक्त ढेँडुबाँदर अचानक पहरा भित्र पसेपछि त्यहाँ गुफा रहेको भन्ने पत्ता लागेको वडाध्यक्ष केशव भण्डारीले बताउनुभयो।

बिचित्र गुफा बाहिरको प्रकृतिक सुन्दरताले गुफाको थप सौन्दर्य बढाएको छ। गुफामा पुग्ने आन्तरिक एवं बाह्य पर्यटकलाई त्यहाँको इतिहास तथा धार्मिक महत्वको बारेमा जानकारी गराउने चलन छ। गुफाको मुख्य ढोकाबाट प्रवेश गरेपछि भित्ताहरुमा देखिने विभिन्न आकृतिहरुले एक पटक हरेक नागरिकको ध्यान तान्ने गर्छ।

बिचित्र गुफाको मुख्य आकर्षण भनेकोे ‘स्वर्ग जाने बाटो’ हो। यो निकै नै महत्वपूर्ण मानिन्छ। ‘स्वर्ग जाने बाटो’ पुगेपछि गुफाको गन्तव्य टुङ्गिन्छ। स्वर्ग जाने बाटोमा धर्मात्माहरु मात्र भित्र पस्न सक्छन् भन्ने मान्यता छ । स्वर्गजाने बाटो एकदमै साँगुरो छ । त्यहाँ स्पष्ट देख्न सकिने एउटा दृष्य हात्तीको भीमकाय शरीर हो । त्यहाँ प्राकृतिकरुपमा हात्तीको शरीर, पुच्छर र सुँड स्पष्ट रुपमा देख्न सकिन्छ। त्यसदेखि अगाडी कुनै पनि दृश्य नभएकाले पनि उक्त ठाउँलाई बिचित्रताको अन्तिम दृश्यको रुपमा मानिन्छ।

जो मानिस त्यहाँ भित्र छिर्न सक्छ उसले आफुलाई साह्रै भाग्यमानी ठान्दछ। गुफा भित्र रहेका विभिन्न जनावरका आकृतिले गुफाको सौन्द्रर्यतालाई थप लाली थपिदिएको छ । गुफा क्षेत्रको विकासको लागि अहिलेसम्म धुर्कोट गाउँपालिका, प्रदेश र सङ्घबाट गरी रु दुई करोडभन्दा बढी लागत लागेको गाउँपालिकाका अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो। सदरमुकाम तम्घासबाट १८ किलोमटरको दुरीमा रहेको उक्त गुफामा पुग्न मदन भण्डारी राजमार्ग भएर सकिन्छ।