अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महेश बर्तौलाको टिप्पणी: सरकारले कानूनअनुसार काम गर्छ, अनुहार र पार्टी हेरेर होइन

महेश बर्तौलाको टिप्पणी: सरकारले कानूनअनुसार काम गर्छ, अनुहार र पार्टी हेरेर होइन


काठमाडौं-नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले कुन राजनीतिक पार्टीमा आबद्ध छ हेरेर होइन, सरकारले कानूनअनुसार काम गर्ने बताउनु भयो।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री सभापति रवि लामिछानेलाई पक्राउ गरेपछि रास्वपाले अनुसन्धानलाई प्रभावित गरेर अदालतलाई धम्काउने काममा लागेको आरोप लगाउनुभयो।

काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सरकारले कानूनअनुसार काम गर्ने भएकाले कसैलाई फसाउने नियतले काम नगर्ने बताउनु भयाे। उहाँले भन्नुभयो, ‘सरकारले कानूनअनुसार काम गर्छ, अनुहार हेरेर होइन। कुन राजनीतिक पार्टीमा आबद्ध छ हेरेर होइन, कानूनले के भन्छ राज्यको अनुसन्धान गर्ने निकायहरुले काम गर्छ। सबै निकायको अनुसन्धानपछि अदालतले फैसला गर्ने हो।’

कसैलाई फसाउन, कसैलाई बदनाम गर्ने काम सरकारले नगर्ने मुख्य सचेतक बर्तौलाले बताउनु भयाे। उहाँले भन्नुभयो, ‘कसैलाई फसाउन, कसैलाई बदनाम गर्ने काम सरकारले गर्दैन। अनुसन्धानले गर्ने प्रक्रिया सुरु हुँदै हुल गरेर राजनीतिक प्रतिशोध राखेर किन पक्राउ गरियो भनेर भीड जम्मा गरिएको छ, यो ठीक होइन। याे गलत छ।’

प्रमुख सचेतक बर्तौलाले लोकतन्त्रमा कानूनले काम गर्ने प्रक्रियालाई अवरोध गर्नु पनि अपराध भएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘रविजी सांसद एवं पूर्वगृहमन्त्री हुनुहुन्छ। उहाँले सहज रुपमा अनुसन्धानमा सघाउनुपर्ने हो । उहाँहरु विधिको शासन मान्छु भन्नुहुन्छ, पक्राउ गर्न पाइँदैन भन्नुहुन्छ, अदालती प्रक्रिया मान्छु भन्नुहुन्छ, फेरि अदालतकै आदेशबाट पक्राउ गरेको विषयमा मान्दिनँ, खबरदार भन्नुहुन्छ।’