रामेछाप-नेकपा एमालेले सो पार्टी विरुद्ध गरिएका भ्रामक प्रचार चिर्न मंसीर ७ गते काठमाडौंमा जागरण सभा गर्न लागेको जनाएको छ।
सो पार्टीका पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले शुक्रबार नेकपा एमाले रामेछापले मन्थलीमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै पार्टी र पार्टी अध्यक्ष विरुद्ध गरिएका भ्रामक प्रचार चिर्न जागरण सभा गर्न लागिएको बताउनुभयो। ‘जनताको बीचमा एमालेका विरुद्ध फैलाइएको भ्रम चिर्न मंसीर ७ गते जागरण सभा राखिएको हो, यो एमालेको शक्ति प्रदर्शनको कार्यक्रम पनि हो’, उहाँले भन्नुभयो ।
एमाले विरुद्ध जति गलत प्रचार गरिए पनि एमाले नेतृत्वले अहिले सरकारमा बसेर देश र जनताको लागि काम गरिरहेको चौलागाईँले दाबी गर्नुभयो। सारा संरचना अस्तव्यस्त भएको देशमा तत्काल जादुमय परिवर्तन सम्भव नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई लयमा ल्याउने प्रयास गरिरहनुभएको चौलागाईँले बताउनुभयो। ‘यति बेला पार्टी र नेतृत्व विरुद्ध चौतर्फी आक्रमण भइरहेको छ, यस्तो बेलामा राष्ट्रवादी नेतृत्वलाई बचाउनु पर्छ, जागरण सभा मार्फत यसको भण्डाफोर गर्नुपर्छ’, चौलागाईँले भन्नुभयो ।
लामो परीक्षणबाट आएका नेताहरू र दलको रातारात उदाएका दल र नेताहरूसँग तुलना नहुने उहाँले बताउनुभयो । नेपालको भूगोल मिचिएको छ भनि स्वाभिमानका साथ औँला ठड्याएर सिङ्गो देशलाई एक ठाउँमा ल्याई चुच्चे नक्सा जारी गर्ने केपी ओलीको देशका अरू कुनै पनि नेताहरूसँग तुलना नहुने चौलागाईँले दाबी गर्नुभयो।
अहिले एमालेलाई बदनाम गराउने र केपी ओलीलाई कमजोर बनाउन चाहने शक्ति क्रियाशील रहेका उहाँको भनाइ छ। उद्योगी व्यवसायीलाई धम्क्याउने, आतङ्कित बनाउन र देशको पुँजीलाई पलायन गर्न सुनियोजित षडयन्त्र भइरहेको पनि चौलागाईँले बताउनुभयो।
यी सबै कुरालाई चिर्न र संविधान परिमार्जन गरी लोकप्रिय मत ल्याउने दलले बहुमतको सरकार बनाउन सक्ने वातावरण निर्माण गर्नको लागि देशका ठुला दुई राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेस संयुक्त सरकारमा आएको पनि उहाँले बताउनुभयो । अहिले कांग्रेस र एमाले मिल्नुको एक मात्र कारण देशमा स्थायित्व कायम गर्नुभएको चौलागाईँले प्रष्ट पार्नुभयो।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको इसारामा देशमा अस्थिरता मच्चाउन लागिरहेको उहाँको आरोप छ। त्यसकै लागि प्रचण्डले राष्ट्रिय सरकारको कुरा गर्नुभएको भए पनि प्रचण्डसँग कांग्रेस सभापति शेरबहादुर देउवाले सहकार्य गर्न नचाहे पछि प्रचण्ड सत्ताबाट बाहिरिनु परेको चौलागाईँले बताउनुभयो।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य गीता कार्की, रामेछाप भूगोल भएका वाग्मती प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी, जिल्ला कमिटी सदस्यहरू, नगरपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले एमाले र एमाले नेतृत्वको सरकार विरुद्ध गरिएको कुप्रचारको दह्रो जवाफ सो कार्यक्रम मार्फत दिइने बताउनुभयो । उहाँले सबैलाई कार्यक्रमको तयारीमा जुट्न पनि आह्वान गर्नुभयो।
प्रतिक्रिया