अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङ्गाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता देवी पोखरेलको सम्झनामा श्रद्धाञ्जलीसभा

दाङ्गाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता देवी पोखरेलको सम्झनामा श्रद्धाञ्जलीसभा


दाङ-नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा दाङ्गाली कम्युनिष्ट आन्दोलनका अगुवा नेता देवी पोखरेलको सम्झनामा आज दाङको घोराहीमा श्रद्धाञ्जलीसभा गरिएको छ।

नेकपा एमाले दाङको आयोजनमा पोखरेल निवास घोराहीमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा  उपाध्यक्ष युवराज ज्ञवालीले देवी पोखरेलको सरलता, इमान्दारी र निष्ठाको प्रशंसा गर्नुभयो। ‘आफ्नो लागि त सबैले गर्छन्, तर जसले बाँचुन्जेल देश र जनताको लागि काम गर्छ, उही व्यक्ति सधैँ स्मरणीय हुन्छ,’ उहाँले भन्नुभयो।

ज्ञवालीले पोखरेललाई सैद्धान्तिक र वैचारिक दृष्टिले अत्यन्त सरल र सालिन व्यक्ति भएको उल्लेख गर्दै उहाँको जीवन राजनीतिमा आदर्श व्यक्तित्वको नमूना भएको बताउनुभयो। उहाँले पोखरेलले कहिल्यै पनि अरूको व्यक्तिगत विषयमा टिप्पणी नगर्ने, जालझेल नगर्ने र सधैँ सत्यको मार्गमा हिँड्ने गुणको सराहना गर्नुभयो। ‘कम्युनिष्टको हृदय फराकिलो हुनुपर्छ भन्ने कुरा उहाँले आफ्नो जीवनभरि व्यवहारमा उतार्नुभयो,’ ज्ञवालीले भन्नुभयो।

कार्यक्रममा पोखरेलका सहोदर भाइ एवं एमाले महासचिव शङ्कर पोखरेलले परिवारका लागि दाजुको त्याग र योगदानको स्मरण गर्नुभयो। उहाँले दाजुबाट आफूले अध्ययनमा प्रेरणा पाएको र उहाँले साक्षरता अभियानको सुरुआत गरेर समाजमा ज्ञान र चेतनाको बीजारोपण गर्नुभएको स्मरण गर्नुभयो। पारिवारिक जिम्मेवारी पूरा गर्न निर्माण व्यवसायमा लागे पनि जहाँ गए पनि उहाँले राजनीतिक र सामाजिक गतिविधिमा सक्रियता देखाउनुभएको भन्दै महासचिव पोखरेलले उहाँको आदर्श र योगदानलाई पछ्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो। 

स्वर्गीय पोखरेलको व्यक्तित्वबारे केन्द्रीय सदस्य एवं सभासद् बहिनी मेनका पोखरेलले उहाँको सङ्घर्षशील जीवनका केही प्रसङ्ग उजागर गर्नुभयो। उहाँले पोखरेललाई सच्चा निष्ठाको राजनीतिज्ञ मात्र नभई समाजसेवी र शिक्षाको अभियन्ताका रूपमा चित्रण गर्नुभयो।

श्रद्धाञ्जली सभामा एमाले केन्द्रीय सल्लाहकार परिषद्का सदस्य शोभाराम बस्नेत, नेपाली कांग्रेस दाङका उपसभापति गिरिराज सुवेदी, नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, र राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले मन्तव्य व्यक्त गर्नुभयो।

श्रद्धाञ्जली सभामा कविता वाचन गरेर तुलसीपुर–१९ हाडिमे निवासी भीमप्रसाद न्यौपानेले पोखरेलको व्यक्तित्व र योगदानलाई कलात्मक ढङ्गले प्रस्तुत गर्नुभयो।

देवी पोखरेलको जीवन र योगदान बहुआयामिक रहेको स्मरण गर्नुभयो। उहाँको जन्म २००७ साल मङ्सिर ७ गते साविक विजौरी गाविस–६ हाडिमेमा भएको थियो, जो हाल तुलसीपुर उपमहानगरपालिका-१९ मा पर्छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी ९पुष्पलाल समूह०को सदस्य भएर आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो। उहाँले झापा आन्दोलनमा वैचारिक समर्थन जनाउनुका साथै भूमिगत अवस्थामा रहँदा पनि पार्टीप्रति आफ्नो निष्ठा कायम राख्नुभयो। उहाँले सन्देश पत्रिका सम्पादन गर्दै वैचारिक र साहित्यिक चेतनाको प्रवर्धन गर्नुभएको थियो। 

सामाजिक सेवामा स्व। पोखरेलको योगदान

शिक्षा र सामाजिक सेवामा उहाँको योगदान पनि उल्लेखनीय छ । दाङको घोराहीमा रहेको दीपशिखा उच्च माध्यमिक विद्यालयको संस्थापक सदस्यका रूपमा शिक्षाको पहुँच विस्तार गर्न उहाँले खेलेको भूमिका महत्त्वपूर्ण छ । साथै, गरिब र विपन्न वर्गका लागि निःशुल्क औषधि वितरण गरेर र बिरामीको उपचारमा सहयोग पुर्‍याएर उहाँले समाजसेवाको उत्कृष्ट उदाहरण दिनुभएको थियो । 

आन्दोलन र सङ्घर्षका क्रममा उहाँले धेरै यातना भोग्नु परेपनि कहिल्यै आफ्नो सिद्धान्त र निष्ठाबाट विचलित हुनुभएन। उहाँले भूमिगत अवस्थामा रहँदा आफ्ना भाइबहिनीको शिक्षा र राजनीतिक व्यक्तित्व निर्माणमा सहयोग पुर्‍याउनुभएको थियो। साथै, उहाँको नेतृत्वमा पार्टीको सङ्गठन विस्तार र जनपक्षीय आन्दोलनलाई सशक्त बनाउन भूमिका खेल्नुभएको थियो। 

कार्यक्रममा सहभागी नेताले पोखरेलले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन गरेको योगदानको चर्चा गर्दै उहाँको निष्ठा, सरलता, र समाजप्रतिको प्रतिबद्धताले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। श्रद्धाञ्जली सभामा उहाँको स्मरण गर्दै उपस्थित सबैले निष्ठा र इमान्दारीको राजनीति मात्र समाजलाई समृद्ध बनाउने सहमति व्यक्त गर्नुभएको थियो ।