काठमाडौं-प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस लिने भन्दा बढी काममा विश्वास गर्ने पार्टी भएको बताउनुभएको छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले एमाले गफ गर्ने भन्दा काममा विश्वास गर्ने पार्टी भएको बताउनुभयो। ‘हामी आइएलओमा विश्वास गर्छौ, हामी जायज मागमा विश्वास गर्छौ’, उहाँले भन्नुभयो।
नेकपा एमालेले नयाँ सोचका साथ आजको माग अनुसार पार्टीलाई अघि बढाउने नीति लिएको उहाँले बताउनुभयो। ‘त्यसलाई हामीले जनताको बहुदलीय जनवाद भनेका छौँ’, उहाँले भन्नुभयो।
जनताको बहुदलीय जनवादले सबैको अनुहारमा उज्यालो ल्याउने ओलीले बताउनुभयो। ‘हामीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य राखेका छौँ, समृद्ध नेपाल सुखी नेपाली भन्दा अर्को गन्तव्य हुनै सक्दैन’, उहाँले भन्नुभयो।
प्रधानमन्त्री ओलीले सबैका लागि शिक्षा, स्वास्थ्य लगायतका कुरामा ध्यान दिनु पर्ने बताउनुभयो। त्यसैले एमाले सरकारमा हुँदा वा नहुँदा जनताप्रति जिम्मेवार पार्टी रहेको बताउनुभयो। ‘हामीले यसै जन्ममा आफ्नै समयमा देशमा परिवर्तन ल्याउनु पर्छ’, उहाँले भन्नुभयो।
हिजोसम्म झुत्रेझाम्रे हुनेहरूले केही समयमा नै सात पुस्तालाई पुग्ने गरी सम्पत्ति जम्मा गरेको ओलीले बताउनुभयो। उनीहरूले जनतालाई पूर्वजन्मको कमाइ भोग्नु पर्छ भन्दै आफूले देश लुट्ने काम गरेका ओलीले सुनाउनुभयो।
नेकपा एमाले सरकारमा हुँदा परिवर्तनका धेरै काम गरेको बताउँदै ओलीले परिवर्तन गर्न खोज्दा गर्न सकिने बताउनुभयो। उहाँले परिवर्तन यही जन्ममा र हाम्रै पालामा हुने दाबी गर्नुभयो। ‘गर्दा किन हुँदैन ? हुन्छ’, ओलीले भन्नुभयो।
देशमा धेरै काम भए पनि व्यक्तिका वचत हुन नसकेको प्रधानमन्त्रीको भनाइ छ। अहिलेको अवस्थालाई बदलेर नयाँ गन्तव्यमा पुग्नु पर्ने ओलीले बताउनुभयो। त्यसैको लागि सामाजिक सुरक्षा कोषको अवधारणा ल्याएको उहाँले सुनाउनुभयो।
नेपालले विकासमा ठूलो क्रान्ति गरेको भए पनि अझै त्यो नपुगेको ओलीले बताउनुभयो कृषि, उद्योग लगायतका क्षेत्रमा नेपालले ठुलो क्रान्ति गर्न आवश्यक रहेको उहाँको भनाइ छ। निजी क्षेत्र र सरकार मिलेर औद्योगिक क्रान्ति गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ‘यी सबै कुरा गर्छ कसले मजदुरले, त्यसैले मजदुरको समस्या हेरिएन भने गर्छ कसले ?’, उहाँले प्रश्न गर्नुभयो।
सरोकारवालको प्रतिनिधित्व नभई सरोकारवालाको विषयमा निर्णय गर्ने कुरा गलत भएको भन्दै मजदुरको विषयमा निर्णय गर्ने ठाउँमा ट्रेड युनियनको सहभागिता हुनु पर्नेमा उहाँले जोड दिनुभयो। तलब मात्रै खाने मानिसहरूले योगदान गर्नेको बारेमा नसोच्ने ओलीले दाबी गर्नुभयो। ‘जसले लगानी गरेको छ, उसको सहभागिता चाहिन्छ, मजदुरको प्रतिनिधित्व, रोजगारदाताको प्रतिनिधित्व र सरकारको प्रतिनिधित्व चाहिन्छ’, उहाँले भन्नुभयो।
प्रतिक्रिया