काठमाडौं-नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले अहिलेको सत्ता समीकरणलाई फेल हुन छुट नभएको बताउनुभएको छ।
आज नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारी र सदस्यहरूको पदभार ग्रहण कार्यक्रममा बोल्दै काभ्रेपलाञ्चोकका प्रतिनिधि सभा सदस्य समेत रहनुभएका लामो समय राजनीति गरेका राजनीतिक दलको गठबन्धन सरकार बनेकोले यसलाई जोगाएर देशलाई निकास दिनुपर्ने बास्कोटाले बताउनुभयो। ‘नेपालको राजनीतिक संस्थागत राजनीति समीकरण हो, यो फेल भयो भने धेरै कुरा फेल हुन्छ’, उहाँले भन्नुभयो।
राणा र राजा विरुद्ध लडेका शक्तिले पनि देश बनाउन सकेनन् र मुलुकलाई आशावादी बनाउन सकेनन् र त्यसप्रति पनि मुलुक निराशामा गयो भने अर्को विकल्प नहुने उहाँले स्पष्ट पार्नुभयो। ‘दिनदिनै सत्ता परिवर्तन गर्ने कुरा होइन’, उहाँले भन्नुभयो ।
प्रेस स्वतन्त्रताको नाममा छाडातन्त्र स्वीकार्य नभएको उहाँले बताउनुभयो। त्यसैले प्रेस स्वतन्त्रता भित्र पनि स्वनियन्त्रण आवश्यक रहेको उहाँको भनाइ छ। ‘नेपाली प्रेस पूर्ण स्वतन्त्र छ, तर जिम्मेवार, जवाफदेही र दायित्व सहितको हुनुपर्छ’, बाँस्कोटाले भन्नुभयो।
नेता बास्कोटाले स्वतन्त्र व्यक्ति मात्र हुन सक्ने बताउँदै स्वतन्त्र भन्ने पार्टीको नाम नै गलत भएको स्पष्ट पार्नुभयो।
पत्रकारितामा हारजित नहुने बताउँदै बास्कोटाले सबैले मिलेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। त्यसैले एकले अर्का प्रति कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्न उहाँले सुझाउनुभयो। समाजलाई सुसूचित गर्न, राजनीतिलाई सही मार्गमा हिँडाउन, विधि र कानूनको शासन पालना गराउन पूर्ण प्रेस स्वतन्त्रताका लागि नेपाली प्रेस विभाजित हुन नहुने उहाँले स्पष्ट पार्नुभयो।
महासंघको १२औँ जिल्ला अधिवेशनबाट विनोदकुमार न्यौपाने अध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको छ। जिल्ला शाखाको स्थापना दिवसको अवसर पारी आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य तीर्थ लामा, रत्न ढकाल, जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, नेपाल पत्रकार महासंघ केन्द्रिय समिति कार्यवाहक अध्यक्ष बाला अधिकारी, जिल्ला अध्यक्ष बद्रीराज तिमल्सिना, निर्वाचित अध्यक्ष विनोद न्यौपाने, सचिव कपिल कोइराला लगायतले महासंघको स्थापना दिवसका अवसरमा प्रेसले खेल्नु पर्ने भूमिकाका बारेमा धारणा राख्नु भएको थियो ।
प्रतिक्रिया