काठमाडौं-प्रधानमन्त्री केपी ओलीले सोनाम ल्होसार आउँदा आफ्नो बाल्यकाल याद आउने बताउनुभएको छ।
बिहीबार सोनाम ल्होसारको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सोनाम ल्होसार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउने बताउनुभएको छ। प्रधानमन्त्री ओलीले यो धार्मिक तथा सांस्कृतिक पर्वको अवसरमा सबैलाई शुभकामना दिनुभएको छ।

ल्होसारमा गाइने सेला नेपाली लोकसङ्गीतको महत्त्वपूर्ण विधा भएको ओलीले उल्लेख गर्नुभएको छ । त्यसैले यो पर्व धार्मिक साथै सांस्कृतिक पर्व पनि भएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ।
‘आज तामाङ समुदायको नयाँ वर्ष, अर्थात् सोनाम ल्होसार, सोनाम ल्होसार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ, यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक सङ्गीतको एउटा महत्त्वपूर्ण विधा हो, हाम्रो सुन्दर पर्व सोनाम ल्होसारको अवसरमा झाम्मान् (सबै) नानाआङा (दिदीबहिनी) तथा ज्योज्योआले (दाजुभाइ) हरूमा हार्दिक शुभकामना’, ओलीले शुभकामना सन्देशमा लेख्नुभएको छ।
आजबाट सोनाम ल्होछार २८६१ सुरु भएको छ। आजबाट गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदै छ । सोनाम ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ।
सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने गर्दछन् । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ ।
ल्होको अर्थ वर्ग अर्थात् वर्ष हो भने छारको नयाँ हुन्छ । सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेष गरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन मनाउने गरिएको छ । पर्वको मुख्य दिन भने आज मनाइन्छ ।
प्रतिक्रिया