अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सबै क्षेत्रमा परिवर्तन ल्याउन प्रधानमन्त्री ओलीको आग्रह

सबै क्षेत्रमा परिवर्तन ल्याउन प्रधानमन्त्री ओलीको आग्रह


काठमाडौं-प्रधानमन्त्री एवं राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको मुलुकको अहिलेको अवस्थामा परिवर्तन गर्नुपर्ने बताउनु भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको प्रतिष्ठान सभाको पाँचौँ सिनेट (बैठक)लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको खुसी र मुलुकको समृद्धिमा ध्यान दिएर सबै क्षेत्रबाट अवस्थामा थप परिवर्तन ल्याउनु पर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले प्रतिष्ठानको बैठक समयमा नबस्दा बजेट तथा कार्यक्रम ल्याउन नसकी  पछि अनुमोदन गर्नुपर्ने अवस्था आउनु नहुने बताउनुभयो । यस्ता खालका कमजोरी आगामी दिनमा नगर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो।  

आज सम्पन्न र सभाको पाँचौँ बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ। रजिष्टार प्राध्यापक श्याम लम्सालद्वारा प्रस्तुत नीति, योजना, कार्यक्रम र बजेटसम्बन्धी प्रस्तावहरू छलफलसहित स्वीकृत गरिएका हुन्। 

प्रतिष्ठानले हाल ३३० बेडको व्यवस्थाअन्तर्गत विभिन्न विषयमा विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्दै आएकामा ४ सय बेडको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजना पारित गरेको छ। सोका लागि अर्थ मन्त्रालयमा स्रोत सुनिश्चितताको प्रक्रिया अघि बढेको छ। 

बैठकले प्रतिष्ठानको सभा सदस्यमा पदेन पदाधिकारीका अतिरिक्त दलित, आदिवासी÷जनजाति तथा पिछडिएका वर्गबाट प्रतिनिधित्व हुने गरी कार्यकारी परिषद्को सिफारिसमा बलिभद्र राना, श्रीप्रकाश श्रेष्ठ, यमुना थापा मगर, सुशीला चौधरी, चन्दादातामध्येबाट सुदीप गौतम र कर्मचारीमध्येबाट विनोद दाहाललाई मनोनयनको निर्णय गरेको छ । 

बैठकले प्रतिष्ठानको स्वामित्वको अतिक्रमित जग्गा खाली गराई उपयोगमा ल्याउन, कार्यकारी परिषद् सदस्यमा मनोनयन र कर्मचारी सेवा, सर्त नियमावलीलाई विस्तृत गृहकार्य गरी आगामी बैठकमा पेस गर्न निर्देशन दिएको छ । आगामी बजेट निर्माणका लागि रजिष्टार लम्सालको संयोजकत्वमा समिति गठन गरेको छ। 

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री एवं सहकुलपति प्रदीप पौडेल, प्रतिष्ठानका उपकुलपति डा.विकास लामिछाने, राष्ट्रिय योजना आयोगका सदस्य, स्वास्थ्य र अर्थ मन्त्रालयका सचिवहरूलगायत सहगामी हुनुन्थ्यो ।