काठमाडौँ-सङ्घीय संसद् अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ। बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ।
बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदनको प्रारम्भिक मस्यौदामा छलफल हुनेछ। उजुरी अध्ययनको विषय पनि छलफलको कार्यसूची रहेको छ।
बैठक बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोबास, भूमिहीन सुकुम्वासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गाको अवस्था र स्वर्गद्वारी गुठी किसानका समस्या समाधानका सम्बन्धमा भएको कार्यप्रगतिलगायत विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
दिउँसो २ बजेका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल हुनेछ । यो समितिको बैठक दिउँसो १ बजे सुरु हुनेछ ।
प्रतिक्रिया