अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आठ महिनामा बीस गैँडा मरे

आठ महिनामा बीस गैँडा मरे


चितवन-चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा मृत भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज तथा यस आसपासका क्षेत्रमा ती गैँडा मृत भेटिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार चालु आर्थिक वर्षमा मृत भेटिएका गैँडाहरु प्राकृतिक कारणले मरेका हुन् । बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर र बुढो भएर मरेका हुन् ।

यस आर्थिक वर्षमा चोरी–सिकारीका कारण भने गैँडा नमरेको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा २१ वटा गैँडा मरेका थिए। मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले हो भने दुईवटा चोरी–सिकारीले र एउटाको कारण खुल्न नसकेको उहाँले बताउनुभयो।

मगरका अनुसार आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए । जसमध्ये २० वटा कालगतिले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी–सिकारीले मारेका थिए। प्राकृतिक कारणले धेरै गैँडा मरेपछि वन तथा वातावरण मन्त्रालयले मृत्युको कारण खोजी गर्न समिति बनाएको थियो । पछिल्ला वर्षहरुमा प्राकृतिक कारणबाट हुने गैँडाको मृत्यु दर घट्दै आएको छ। आव २०७५/७६ मा प्राकृतिक कारणले मात्र ४३ गैँडा मरेका थिए। त्यसपछिका वर्षहरुमा प्राकृतिक कारणले हुने मृत्युदर घट्दै आएको छ।

सन् २०२१ को गणनाअनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ रहेको छ । एकसिङ्गे गैँडाको सङ्ख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ। बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको तथ्याङ्क छ । चालु आर्थिक वर्षमा गैँडा गणना कार्यक्रम रहेपनि स्थगन भएको छ।