काठमाडौं-राष्ट्रियसभा सदस्य डा. अञ्जान शाक्य अन्तर-व्यवस्थापिका संघ (आईपीयू)को दिगो विकास स्थायी समितिमा विजयी हुनुभएको छ।
नेकपा एमालेकी परराष्ट्र मामिला विभागकी सचिवसमेत रहनुभएकी राष्ट्रिय सभा सदस्य शाक्य एसिया-प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै आईपीयुको दिगो विकास स्थायी समितिमा विजयी हुनुभएको हो। उज्बेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनमा शाक्य नेपालबाट प्रतिनिधित्व गर्दै सहभागी हुनुभएको थियो।
सम्मेलनमा नेपालकी शाक्यसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो। दुवै उम्मेदवारलाई पछि पार्दै शाक्य विजयी हुनुभएको हो। सो सम्मेलनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहितको टोली अहिले उज्बेकिस्तानमा सहभागी भइरहेको छ।
सभामुख घिमिरेले दिगो विकासको क्षेत्रमा गहिरो अनुभव हासिल गरेकी शाक्यले अन्तर्राष्ट्रिय मञ्चमा नेपालका तर्फबाट सशक्त भूमिका निर्वाह गर्न सक्ने अपेक्षा लिएको भन्दै आईपीयुको दिगो विकास स्थायी समितिमा रहेका ३६ देशका सभामुखलाई पत्र लेख्दै शाक्यको समर्थनका लागि आग्रह गर्नुभएको थियो।
‘सभामुखज्युले पत्र लेखेर नै मेरो समर्थनका लागि आग्रह गर्नुभएको थियो, ’विजयी बनेपछि एमाले नेतृसमेत रहनुभएका सांसद शाक्यले भन्नुभयो, ‘मैले पनि व्यक्तिगत रुपमा मेरो समर्थनका लागि आग्रह गरेको थिएँ। हामी सबैको प्रयासले सफलता प्राप्त भयो।’
सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल अन्तरव्यवस्थापिका संघको १५०औं वार्षिक सभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन उज्वेकिस्तानको राजधानी तास्केन्ट पुगेको हो। सो प्रतिनिधिमण्डलमा सहभागी सांसद शाक्यले सम्मेलनमा दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी प्रस्तुत गर्नुभएको थियो।
नेपालले पहिलो पटक यो मञ्चमा आफ्नो उपस्थिति जनाएको हो। शाक्यले आफ्नो जितसँगै यसले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा पनि बढाउन सहयोग पुर्याएको महसुस आफूले गरेको भन्दै खुसी ब्यक्त गर्नुभयो। ‘सभामुखज्युले पत्र लेखेर नै मेरो समर्थनका लागि आग्रह गर्नुभएको थियो,’ बिजयी बनेपछि एमाले नेतृसमेत रहनुभएका सांसद शाक्यले भन्नुभयो, ‘मैले पनि व्यक्तिगत रुपमा मेरो समर्थनका लागि आग्रह गरेको थिएँ । हामी सबैको प्रयासले सफलता प्राप्त भयो।’
इजरायलका लागि पूर्वनेपाली राजदूतसमेत रहनुभएकी सांसद शाक्य राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजक हुनुहुन्छ । उहाँकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाएको छ।
प्रतिक्रिया