अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

माधव गुटमा नलागेको सांसद हुसेनको घोषणा

माधव गुटमा नलागेको सांसद हुसेनको घोषणा


काठमाडौं- नेकपा एमाले सांसद समीना हुसेनले आफू पार्टीको मूलधारमै रहेको बताउनुभएको छ ।

एमालेले माधवकुमार नेपालको गुटमा लागेर पार्टीहित विपरित काम गरेको भन्दै थप तीन जना सांसदलाई स्पष्टिकरण सोधेको थियो ।

स्पष्टिकरण सोधिनेमध्ये एक हुनुहुन्थ्यो- समीना हुसेन ।

‘पार्टीले जारी गरेका सबै निर्देशन पालना गरेकी छु, मुख्य कुरा भनेको पार्टी हो, पार्टीको हित विपरित गएको एउटा पनि प्रमाण भए म कारवाही सहन तयार छु’

‘नयाँ राजनीतिक दल खोल्ने र पार्टी हित विपरीत गतिविधिमा लागेको हो ? भनेर सोधिएको थियो । म यस्तो गतिविधिमा लागेको कुनै प्रमाण नै छैन । म पार्टीका कार्यक्रममा मात्र सहभागी छु । समानान्तर कमिटीमा पनि बसेकी छैन, गुटका कार्यक्रममा पनि गएकी छैन,’ समीनाले भन्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, ‘म एमालेको पक्षमा हो, गुटसुट केही पनि चिन्दिन, अपवादबाहेक पार्टीका सबै कार्यक्रममा सहभागी छु, संसदीय दलको सबै बैठकमा उपस्थित भएकी छु ।’

सांसद हुसेनले पार्टीको विधान विपरित कुनै गतिविधि आफूले नगरेको बताउनुभयो । ‘पार्टीले जारी गरेका सबै निर्देशन पालना गरेकी छु, मुख्य कुरा भनेको पार्टी हो, पार्टीको हित विपरित गएको एउटा पनि प्रमाण भए म कारवाही सहन तयार छु,’ उहाँले भन्नुभयो ।

पार्टी जोगाउन सबै नेता कार्यकर्ताहरूले एक ठाउँमा उभिनुपर्ने उहाँको भनाइ छ ।

त्यसअघि एमालेले २७ जना सांसद्लाई स्पष्टिकरण सोधेको थियो । गुटमा लागेको प्रष्ट हुने गरी स्पष्टिकरणको जवाफ दिने माधवकुमार सहित कैयन नेतालाई एमालेले कारवाही गरिसकेको छ ।

हुसेनले भने गुट त्यागेको प्रष्ट सन्देश र संकेत हुने गरी जवाफ दिनुभएको छ । एमाले केन्द्रीय कार्यालयका एक अधिकारीले भने, ‘चित्तबुझ्दो र आफूलाई सच्याएको स्पष्टिकरण दिनुभएको छ । अब उहाँलाई कुनै कारवाही हुँदैन ।’