अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

६० दिनमा ४० वटा कार्यक्रममा सहभागी

जनताका कुरा सुन्न र आफ्ना कुरा सुनाउन प्रधानमन्त्री देश दौडाहामा

जनताका कुरा सुन्न र आफ्ना कुरा सुनाउन प्रधानमन्त्री देश दौडाहामा


काठमाडौं– संसद विघटन भएको भोलिपल्ट अर्थात छ पुसको बिहान । विघटनको खबरसँगै नेपाल कम्युनिष्ट पार्टी नेकपा राजनीतिक रुपमा विभाजन भइसकेको थियो । पुष्पकमल दाहाल र माधव नेपाल समूहले आफूहरुसँग बहुमत भएको दाबी गरिरहनुभएको थियो । उहाँहरु प्रधानमन्त्री तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने तयारीमा हुनुहुन्थ्यो ।

यो परिदृष्यमा नेकपाका दुवै पक्षका नेता कार्यकर्ता चिन्तित थिए नै त्यसमा पनि सरकार पक्षका नेता कार्यकर्ता प्रतिरक्षात्मक अवस्थामा थिए । बालुवाटारमा भेला भइरहेका केन्द्रीय सदस्यहरुमा निराशा बढी उत्साह कमी थियो । हल भरिदै गर्दा अनौपचारिक पोसाकमा हंसमुख रुपमा प्रधानमन्त्री ओली हलमा प्रवेश गर्नुभयो । प्रधानमन्त्रीको ‘बडी ल्याङ्वेज’ले नेता कार्यकर्तामा रहेको निराशा र संशय घट्दै गयो । प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुपर्ने कारण र गर्नैपर्ने बाध्यतामा प्रचण्ड नेपालकै गतिविधी कारक रहेको बताउनुभयो । ओलीको ‘वडी ल्यावंवेज’ पढिरहेका नेताहरुमा क्रमशः आत्मविश्वासको सञ्चार बढ्न थाल्यो ।

पार्टी केन्द्रीय सदस्यमा करिब ६ सय ५० नेता थप गरेपछि ७ पुषमा नेकपाले केन्द्रीय कमिटीको बैठक आयोजना गर्‍यो । बैठकमा ओलीले सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई उच्च मनोबलका साथ प्रधानमन्त्रीको बाध्यात्मक कदमका बारेमा जनतालाई बुझाउन निर्देशन दिनुभयो ।

पार्टी विभाजनपछिका दुई महिना आफ्नो बाध्यात्मक कदमका बारेमा जनतालाई आफै बुझाउन प्रधानमन्त्री देश दौडाहामा हुनुहन्छ । जसरी केन्द्रीय सदस्हयरुले प्रधानमन्त्रीको बडी ल्यांवेजबाट मनोबल बढाए त्यसैगरी आम जनताले पनि त्यो मनोबल आफूलाई हेरेर बढाउन भन्ने प्रधानमन्त्रीको चाहना देखिन्छ । पार्टी विभाजनपछि प्रधानमन्त्रीको दैनिक कार्यतालिका हेर्दा ९ पुषदेखि आमसभाहरुलाई सम्बोधन गर्ने र संसद विघठन किन गर्नुपर्यो भनेर जनतालाई कुरा बुझाउनमा केन्द्रित देखिन्छ । दुई महिनाको अवधीमा प्रधानमन्त्रीले करिब ४० वटा सभा र बैठकहरुलाई सम्बोधन गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । “२४ पुषमा धनगढीको आमसभालाई सम्बोधन गरेर उपत्यका बाहिर निस्कन थाल्नुभएका प्रधानमन्त्रीले लुम्बिनीमा दुईपटक, प्रदेश नं २ र बाग्मती प्रदेशमा आयोजना गरिएका सभाहरुलाई सम्बोधन गरिसक्नुभएको छ,” नेकपा केन्द्रीय कार्यलय सचिब ईश्वरी रिजाल भन्नुहुुन्छ, “अब प्रदेश नं १ मा फागुन ८, गण्डकी १४ र कर्णालीमा १५ गतेका आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।”

गतवर्षको फागुन २१ गते दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि राजनीतिक सक्रियता थप बढाउन चाहनुभएका प्रधानमन्त्री ओली कोरोना र नेकपा भित्रको आन्तरिक विवादका कारण रोकिनुभएको थियो । “प्रतिकूलताका बीचमा पनि आत्मविश्वास र सक्रिय रहीरहने उहाँको स्वभावै हो । पार्टीको आन्तरिक किचलोसँग भिड्नु नपरेको भए कोरोनाकालमा पनि सरकारले यो भन्दा प्रभावकारी ढंगले काम गर्न सक्थ्यो,” रिजाल भन्नुहुन्छ “उहाँहरुले पार्टी र सरकारलाई निष्कृय बनाएर राख्न चाहनुभएको थियो । सरकार र पार्टीको भलो नचाहनेहरु बाहिरिएपछि दुवै निकायहरु चलायमान भए । दुवैको नेता प्रधानमन्त्री भएकोले उहाँको सक्रियता यसै हुने नै भयो ।”

प्रधानमन्त्री कै शब्दमा पार्टीलाई हल न चलको अवस्थामा राखेर त्यसबाट नतिजा खोज्ने प्रचण्ड माधवहरुको शैलीका कारण सरकारका कामहरु जनतामा पुग्न नसकेको र सरकारप्रति नकारात्मक भाव पैदा भएको हो । “त्यस कारण आफ्ना कुरा आफैं भन्न उहाँ जनता माझ जान बढी उत्सुक हुनुभएको हो,” नेकपा स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा भन्नुहुन्छ “प्रधानमन्त्रीले आमसभामा गएर प्रशिक्षण शैलीमा पार्टीमा प्रचण्ड माधवहरुले टाङ अड्काएको फेहरिस्त, सुविधाजनक बहुमत हुँदाहुँदै संसद विघटन गर्नुपर्नाको कारण र समय अगावै निर्वाचनमा जानुपर्नाको कारण प्रष्ट पारिरहनुभएको छ ।”

नेकपाबाट तीनजना पूर्व प्रधानमन्त्रीहरु अलग्गिनुभएको छ । पुष्पकमल दाहाल,माधव नेपाल र झलनाथ खनाल प्रधानमन्त्री ओलीका विरुद्ध देशव्यापी अभियानमा हुनुहुन्छ । उनीहरुले लगाएको आरोपको खण्डनका लागि पनि त्यो भन्दा उचो व्यक्तित्वको आवश्यकता भएकोले प्रधानमन्त्री आफैँ मैदानमा उत्रनु परेको हो ।

“प्रधानमन्त्रीको स्वभाव जनतासँग प्रत्यक्ष संवाद गर्ने, प्राथमिक सूचना लिने र त्यसका आधारमा रणनीति बनाउने किसिमको छ । त्यसैले गर्दा उहाँ अनुकुल प्रतिकूल विचार नगरी जनताका बीचमा जान रुचाउनुहुन्छ,” प्रदेश नं १ का अध्यक्ष एवं केन्द्रीय सदस्य देवराज घिमिरे भन्नुहुन्छ “कार्यकारी अध्यक्षको बदनियतले पार्टी कमिटीहरु निष्क्रिय हुँदा प्रधानमन्त्री जनता माझ जान पाउनु भएको थिएन । अहिले सबै कमिटी सक्रिय छन् । सबै जनताले प्रधनमन्त्रीको मुखबाट राजनीतिक परिस्थिति सुन्न चाहेका छन् । त्यस कारण पनि बितेका दुई महिना देखि उहाँ देश दौडाहामा हुनुहुन्छ । यो क्रम अझै बढ्छ ।”

पार्टीको अध्यक्ष र प्रधानमन्त्री स्वयं यति सक्रिय भएपछि त्यस भन्दा मुनीका नेता तथा कार्यकर्ताहरु स्वत सक्रिय भएको विश्वकर्माको भनाइ छ । “प्रधानमन्त्री आफ्नो प्रदेशमा जिल्लामा आउने भन्ने सन्देशले जनतामा भाइव्रेसन आएको छ । प्रधानमन्त्रीको कुरा सुनेपछि कतिपय नेता कार्यकर्ता पनि अर्को पक्ष छोडेर हाम्रो समूहमा आउने क्रम बढेको छ,” विश्वकर्मा भन्नुहुन्छ ।