अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड-माधवले आफ्नै बिरासत बिर्सदा

प्रचण्ड-माधवले आफ्नै बिरासत बिर्सदा


बिहीबार मध्यान्हतिर फैलिएको एउटा समाचारले प्रचण्ड-माधव पक्षका नेकपाका नेता कार्यकर्तालाई झसंग बनायो । सरकार बनाउन आफूलाई समर्थन माग्न गएका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाललाई राष्ट्रिय जनता पार्टी(राजपा)का अध्यक्ष राजेन्द्र महतोले सोध्नु भएछ, ‘तपाईंहरू कुन पार्टीको हो ?’ महतोको प्रश्नले सुरुमा त अध्यक्षहरू नै झस्किनुभयो । नेकपाका प्रथम अध्यक्ष र महासचिव आफूतिर नभएपछि वास्तवमा आफूहरू त पार्टीविहिन मोर्चामा रहेछौं भन्ने भान उहाँहरूलाई भयो । यो कुराको महसुस महतोले उहाँहरूलाई दिनुभयो । पार्टी नै नभएका व्यक्तिहरूले प्रधानमन्त्री पद माग्दै र बाँड्दै हिँड्नुको अर्थ छैन भनेपछि दुवै अध्यक्ष झस्किनुभयो ।

बुधबार उहाँहरू दुवै जना नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ जानुभयो । उहाँहरू देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्न जानुभएको भन्ने सन्देश बाहिर गए पनि वास्तवमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन माग्न जानुभएको थियो । त्यसको कारण यस्तो छ ।

६६ दिनको यस अवधिमा नेकपाका दुवै पक्षले केही न केही ठक्कर खाएका छन् । केही न केही एक्लो महसुस गरेका छन् । र, केही न केही रूपमा पुनर्मिलनको आवश्यकता देखेका छन् । जनताको मत पनि के हो भने नेकपा एकभएर जाओस् । पाँचै वर्ष ओलीले देश हाँकुन् ।

२०७७ साल पुष ३ गते शुक्रबार प्रचण्ड माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध हालेको अविश्वासको प्रस्तावमा प्रधानमन्त्रीको रूपमा प्रचण्डको नाम अघि सारिएको छ । उहाँहरूले देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्नुभयो भन्दा काँग्रेसजनमा एउटा चिन्ता फैलिएको छ ‘कतै हाम्रा सभापतिजी भूलभूलैयमा त पर्नुहुन्न ? प्रचण्डले आफूलाई प्रधानमन्त्री प्रस्ताव गरेर आफ्नै पार्टीका अध्यक्ष विरुद्ध अविश्वास प्रस्ताव हाल्नुभएको छ । उहाँको जालमा सभापति फस्नुहुने पो हो कि ।’ तर सत्ताका चतुर खेलाडी देउवाले अध्यक्षहरूलाई भन्नुभयो पहिला पार्टीको विवाद हल गरेर म कहाँ आउनुहोस् । उत्साहका साथ देउवा निवास पुग्नु भएका उहाँहरू निराश भएर फर्कनुभयो ।

सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्नुभन्दा केही घण्टाअघि प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालाई इगिंत गर्दै भन्नुभएको थियो ‘प्रधानमन्त्री माग्न पनि उहाँहरू मैसँग आउनुहुन्छ ।’ सरकार बनाउन समर्थन खोज्दै भौतारिनु भएका उहाँहरू दुई दिनमै थाक्नु भएको प्रचण्ड नेपालनिकट नेताहरू बताउँछन् । ‘उहाँहरूको घुमफिर गर्ने ठाउँ सकियो । अब आउनुपर्ने केपी ओलीसँग नै हो । एक दुई दिनमा प्रधानमन्त्री भेट्न उहाँहरू बालुवाटार जानुभयो रे भन्ने खबर आएमा अचम्म हुने छैन,’ नेकपा केन्द्रीय सदस्य महेश बस्नेत भन्नुहुन्छ ।
सरकार बनाउने र प्रधानमन्त्री हुने योजना लिएर पार्टी फोड्नुभएका उहाँहरूले दुई दिनमा आफ्नो धरातल पनि थाहा पाएको सबैले जानकारी पाए । ‘दुई दिनको दौडधुपले उहाँहरुलाई सरकार बनाउन होइन आफ्नो पार्टी बनाउन आँखा खोलिदिएको छ,’ नेकपाका केन्द्रीय सदस्य बस्नेत भन्नुहुन्छ ।

आफ्नै बिरासत बिर्सदा

नेपाल कम्युनिष्ट पार्टीसँग अहिले करिब ६४ प्रतिशत सांसद छन् । राजनीतिक रूपमा नेकपा विभाजन भए पनि कानुनी रूपमा एकै छ । आफ्नै पार्टीका प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव हालेर प्रचण्ड स्वघोषित प्रधानमन्त्री हुनुहुन्छ । हुन त उहाँको विगत पनि यस्तै कल्पनामा रमाउने किसिमको छ । जस्तै २०६४ सालको निर्वाचनताका उहाँ ‘भित्ते राष्ट्रपति’को रूपमा चर्चित हुनुहुन्थ्यो ।

नेकपाको अध्यक्ष केपी शर्मा ओली हो । संसदीय दलको नेता पनि उहाँ नै हुनुहुन्छ । त्यसकारण अहिले नेकपाले गर्ने निर्णयको अन्तिम हस्ताक्षरकर्ता केपी ओली नै हो भन्ने कुरा निर्वाचन आयोगले पुष्टि गरिसकेको छ । त्यसैले देउवाले प्रचण्ड माधवसँग गरेको छलफल राजनीतिक चर्चाका लागि कामयावी होला तर निर्णयका लागि किमार्थ हुँदैन ।

संसद् विघटन बदर, नेकपा एकताकोे नयाँ आधार

संसद् विघटन प्रधानमन्त्रीको विशेष अधिकार हो । त्यही अधिकारलाई उपयोग गरेर उहाँले विघटनको सिफारिस गर्नुभएको हो । तर, सर्वोच्च अदालतले त्यसलाई बदर गरिदियो । सर्वोच्चको यो फैसलालाई नेकपाको संस्थापन पक्षले सम्मान गर्ने कुरा प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले निर्णय गरेको छ । यो फैसलाले नेकपालाई एक हुनका लागि थप आधार तय गरिदिएको छ । यसको अर्थ नेकपा अब २०७७ साल पुष ४ गतेको अवस्थामा फर्किएको छ । यही विन्दुबाट नेकपामा मिलन खोज्ने हो भने टुटेका मन जोडिन बेर नलाग्ने जानकार बताउँछन् । ६६ दिनको यस अवधिमा नेकपाका दुवै पक्षले केही न केही ठक्कर खाएका छन् । केही न केही एक्लो महसुस गरेका छन् । र, केही न केही रूपमा पुनर्मिलनको आवश्यकता देखेका छन् । जनताको मत पनि के हो भने नेकपा एकभएर जाओस् । पाँचै वर्ष ओलीले देश हाँकुन् ।

प्रचण्डको भत्काउने इतिहासमा एउटा इटा थप्नुभन्दा केपी शर्मा ओलीको निर्माणको इतिहासमा अर्को इटा थप्नु उपयुक्त देखिन्छ । यसले नेकपाका आम कार्यकर्तामा खुसीको सञ्चारका साथै जनमतकोे कदर पनि हुन्छ ।

प्रचण्डलाई प्रधानमन्त्री बन्ने ठूलो रहर छ । माधव नेपालाई पार्टी अध्यक्ष हुने उस्तै ठूलो रहर छ । उहाहरूको रहर पूरा गर्न प्रधानमन्त्रीले चैतमा महाधिवेशनको प्रस्ताव गरेकै हो । दुवै जनाले यसलाई मान्नु भएन । माधव नेपाललाई अहिले लाग्दै होला अबको एक महिनामा त महाधिवेशन हुन्थ्यो । अध्यक्ष हुने समय आइसकेको थियो तर उहाँले हाताहाती अध्यक्ष हुन खोज्दा पार्टी पनि चोइटियो । प्रचण्डको रहर प्रधानमन्त्री हुने थियो तर सर्वोच्चले चुनाव हुने बाटै बन्द गरिदिएपछि उहाँको इच्छा पनि मन मै रह्यो ।

प्रचण्डले प्रथम अध्यक्ष ओलीलाई भेट्न वालुवाटार जानुपर्छ । ६६ दिनका तितामिठा पोख्नु पर्छ र आम कार्यकर्ता र जनताको भावना मुताविक पार्टीलाई एक ढिक्का राख्न सहमत हुनुपर्दछ । त्यसका लागि प्रचण्डले प्रधानमन्त्रीलाई लगाएको १९ पन्ने आरोपपत्र फिर्ता लिनुपर्छ । यस कुरालाई प्रचण्डले इगोको रूपमा लिन जरुरी छैन । पार्टी बनाउन प्रचण्डले ओलीबाटै सिक्ने हो । प्रचण्डको विगतले पार्टी बनाएको होइन भत्काएको नै देखाउँछ ।

निर्माण र ध्वंसको विगत

नेकपाका दुई अध्यक्षले बनाएर भत्काएको लामो विगततिर नजाऊ । २०६४ सालको संविधासनभा निर्वाचन पछिका चार वटा निर्वाचनको परिणामलाई एक पटक नियालौँ । २०६४ को निर्वाचनमा १२० सिट जितेको त्यति बेलाको माओवादी छ वर्षपछि २०७० मा भएको निर्वाचनमा २६ सिटमा खुम्चेको सबैलाई थाहा भएकै कुरा हो । २०६४ सालको निर्वाचनमा ३३ सिटमा खुम्चेको एमाले केपी ओली शक्तिमा आउँदै गएपछि २०७० को निर्वाचनमा ९१ सिटमा पुगेको पनि प्रचण्डलाई थाहै छ ।

प्रचण्डको क्षयीकरण त्यतीमै रोकिँदैन । २०७४ को स्थानीय तहको निर्वाचनमा आइपुग्दा कांग्रेसको सहारामा मात्र चुनावमा जाने अवस्थामा पुग्नुभयो । त्यती बेला एमाले एक्लैले २९४ वटा पालिकाका प्रमुख जित्दा माओवादीले १०६ पालिका प्रमुख जितेको हो । २०७४ को चुनावी गठबन्धनको परिणाम उस्तै छ । त्यती बेलाको माओवादीले ४० प्रतिशत उम्मेद्वार उठायो । एमालेले ६० प्रतिशत ।

नतिजा चाहिँ माओवादीले पाएको उम्मेद्वारभन्दा ११ प्रतिशत घटेर २९ प्रतिशत स्थानमा खुम्चियो भने एमालेले ६० बाट ११ प्रतिशत बढेर ७१ प्रतिशत पुग्यो । त्यसकारण करिब डेढ दशकका चार वटा निर्वाचनको मत परिणाम र त्यस बेलाको नेतृत्व कोको थिए भन्ने कुराको विश्लेषण गर्ने हो भने निर्माण गर्ने को हो र भत्काउने को हो भनेर चिन्न मिहिनेत गर्नुपर्ने छैन । त्यसैले प्रचण्डको भत्काउने इतिहासमा एउटा इटा थप्नुभन्दा केपी शर्मा ओलीको निर्माणको इतिहासमा अर्को इटा थप्नु उपयुक्त देखिन्छ । यसले नेकपाका आम कार्यकर्तामा खुसीको सञ्चारका साथै जनमतकोे कदर पनि हुन्छ ।