अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरहामा बम बिस्फोट : घाइतेको संख्या ८ पुग्यो, दुई जनाको अवस्था गम्भीर

सिरहामा बम बिस्फोट : घाइतेको संख्या ८ पुग्यो, दुई जनाको अवस्था गम्भीर


सिरहा- लहानस्थित मालपोत कार्यालयमा भएको बम विष्फोटमा परी घाइते हुनेको संख्या ८ पुगेको छ । आज दिउँसो भएको सो बम विष्फोटमा एक कर्मचारीसहित आठ जना घाइते भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

कार्यालय सञ्चालन भइरहेका बेला भवनको पहिलो तल्लामा अपराह्न १ बजेतिर अचानक बम बिस्फोट हुँदा छर्रा लागेर मालपोत कार्यालय लहानमा कार्यरत कर्मचारी ३८ वर्षीय शिवकुमार यादव र लेखापढी व्यववसायी ७८ वर्षीय भोला पाचेमगर पनि घाइते हुनु भएको छ ।

इलाका प्रहरी कार्यालय लहानका अनुसार बमकै छर्रा लागेर सेवाग्राही सिरहा, धनगढीमाई नगरपालिका-१३ निवासी ३५ वर्षीय दिनेश भण्डारी, लहान नगरपालिका-१६ तरेगाना निवासी ५२ वर्षीय लालबहादुर विक, भगवानपुर गाउँपालिका-३ निवासी ५४ वर्षीय बद्री नारायण यादव, गोलबजार नगरपालिका-४ निवासी ३८ वर्षीय फुलकुमार ठाकुर तथा गोलबजार-६ निवासी ३५ वर्षीय लक्ष्मी राणा र ३५ वर्षीया बेचनी मगर घाइते भएका छन् ।

घाइतेमध्ये भण्डारी र कर्मचारी यादवको अवस्था गम्भीर रहेकाले उपचारका लागि विराटनगर पठाइएको र बाँकी घाइतेको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

विस्फोटबाट कार्यालयको एउटा कोठामा आगोसमेत लागेको छ । आगो वारुण यन्त्रले तत्कालै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिनभयो ।