अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीको निर्देशन विपरित भएका भेलालाई गम्भीरतापूर्वक लिएका छौँ : महासचिव पोखरेल

पार्टीको निर्देशन विपरित भएका भेलालाई गम्भीरतापूर्वक लिएका छौँ : महासचिव पोखरेल


काठमाडौं : नेकपा एमालेका महासचिव एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीरतापूर्वक लिएको बताउनुभएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन निर्देशन दिँदा पनि बुधबार वरिष्ठ नेता माधव नेपाल समूहको भेलामा कार्यकर्ता सहभागी भएका थिए ।

पार्टी अध्यक्षको निर्देशन विपरित भेला आयोजना भएको सम्बन्धमा बुधबार एक न्युज एजेन्सीसँग कुराकानी गर्दै महासचिव पोखरेलले निर्देशन विपरितका काम हुनु राम्रो नभएको बताउनुभयो ।

उहाँले पार्टी अध्यक्ष एवं महासचिवको निर्देशन विपरित भएका भेलालाई पार्टीले गम्भीरताका साथ लिने बताउनुभयो । पार्टी अध्यक्षले धुम्बाराहीमा नेताहरूलाई बोलाएर भेला नगर्न र छलफल गर्नुपर्ने कुराहरूलाई ७ गतेको बैठकमा राख्न अनुरोध गर्नुको साथै चियापानमा सहभागी हुन गरेको आग्रहलाई नमानेर राम्रो नगरेको बताउनुभयो ।

‘अहिले जुन किसिमको भेला भयो । त्यो निर्देशनको बाबजुत पनि भेला भएको छ । आज र भोलि आयोजना भएको यो कार्यक्रमको बारेमा गम्भीरताका साथमा नोट गरिन्छ,’ उहाँले भन्नुभयो ।