अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सवारी लाइसेन्समा हुने भीडभाडमा प्रधानमन्त्रीको चासो

सवारी लाइसेन्समा हुने भीडभाडमा प्रधानमन्त्रीको चासो


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी वैशाख १ गतेबाट सवारी साधन सञ्चालन अनुमति पत्र (लाइसेन्स)को नयाँ व्यवस्था गर्ने भएको छ ।

लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि यूवाहरूको लामो लाइन, परीक्षाको प्रक्रिया, लाइसेन्स प्रिन्टिङको ढिलाइ आदि कारणले सरकारप्रति युवाहरूको नकारात्मक भावना विकास भएकोले प्रधानमन्त्रीले यस विषयमा चासो राख्नुभएको हो ।

प्रधानमन्त्री ओलीले केही समयअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सचिवलाई लाइसेन्सको प्रक्रिया तुरुन्त सुधार गर्न निर्देशन दिएपछि मन्त्रालयले यसमा तयारी अघि बढाएको छ ।

सचिव श्रेष्ठका अनुसार हालसम्म लाइसेन्सको प्रयोगात्मक परीक्षा पास गर्न शतप्रतिशत अंक ल्याउनु पर्नेमा अब ७० अंक ल्याए पुग्नेछ ।

‘ढिलोमा हामी वैशाख १ गतेबाट लाइसेन्सको नयाँ प्रक्रियाबाट वितरण सुरू गर्दछौँ । जसले गर्दा लाइसेन्सको लागि देखिने युवाहरूको लाइन स्वत घट्नेछ,’ मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले नेपाली बहस डट कमसँग कुरा गर्दै भन्नुभयो, ‘लाइसेन्स वितरणमा ढिलाइ हुने धेरै कारण रहेछन् । ती सबैको पहिचान भइसकेको छ । त्यसकारण हामीले सुधारको योजना बनाएक छौँ । नयाँ वर्षको पहिलो बिहानीबाट अहिलेको झन्झटबाट मुक्ती पाउने गरी हामी गर्दैछौँ । ’

श्रेष्ठका अनुसार अहिले देशभरका २३ वटा यातायात कार्यलयबाट दैनिक करिब १२ सय जनाको प्रयोगात्मक परीक्षा हुने गरेको छ । त्यस परीक्षामा पास हुनेहरूले स्मार्ट लाइसेन्स पाउन महिनौँ कुर्नुपर्ने बाध्यता छ । ‘प्रयोगात्मक परीक्षमा सामेल संख्या पनि दोब्बर बनाउने र सम्बन्धित प्रदेशबाट अस्थायी लाइसेन्स दिने प्रवन्ध गर्दैछौँ,’ श्रेष्ठले भन्नुभयो, ‘यसअघि नै लाइसेन्सको फर्म भर्नका लागि अनलाइनको व्यवस्था गरेका छौं । अब परीक्षाको कोटा बढाउने र पास हुनेलाई तुरुन्त लाइसेन्स दिने व्यवस्था गरेपछि भीड कम हुन्छ । ’

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार लाइसेन्सको परीक्षा प्रणालीमा पनि व्यापक परिवर्तन गर्ने तयारी छ । ‘अहिलेको व्यवस्थाअनुसार प्रयोगात्मक परीक्षाको कुनै एउटा अंगमा सामान्य त्रुटि भएमा ती परीक्षार्थी स्वत फेल हुन्छन्, ’घिमिरेले नेपाली बहस डटकमसँग भन्नुभयो, ‘अब परीक्षामा देखिएका सामान्य त्रुटिलाई पनि त्यसैअनुसार अंक दिइने छ । र सबै प्रक्रिया पूरा हुँदा ७० अंक आएमा लाइसेन्स दिन योग्य ठानिनेछ । ’

लाइसेन्सको लाइन अब लामो हुँदैन : 

रवीन्द्रनाथ श्रेष्ठ, सचिव

भौतिक योजना तथा यातायात व्यवस्था कार्यालय

अनलाइनबाट भरेको फर्म अब अफलाइनमा चलाउन पाइदैन । यो भनेको व्यक्तिले अनलाइनबाट भरेको फर्म रुजु गर्नका लागि अफलाइनमा कार्यलयका कर्मचारीहरुले यसलाई चलाउथे । यस क्रममा अनलाइन फर्म नभरेका मानिसहरुका नयाँ फर्महरु त्यहाँ भित्र घुसाइदिने,क्रसंख्यालाई अघि पछि गरिदिने जस्ता अनियमितताहरु भएका हुन् । त्यस कारण चैत ११ गते बेलुकाबाट अफलाइन सिस्टम चल्ने कुरा नै बन्द गरियो । कसैले फर्म भर्दा गल्ती भरेको रहेछ भने ट्रायल दिन आउदा थाहा हुनुभयो । त्यसलाई त्यही सच्याइन्छ ।

लाइसेन्सको जाँच दिन आउने मध्ये २५ प्रतिशत भन्दा बढी पास हुँदैनन् । वर्षौं गाडी चलाएका मान्छेहरू लाइसेन्स हराएर फेरि ट्रायल दिन जाँदा कतै छस्स छुन्छ उ फेल हुन्छ । अनुभवी मान्छे फेल हुने अनि लाइसेन्स लिने चाप झन् बढेको छ । त्यसपछि उसले लाइसेन्स पाउन वैकल्पिक मार्ग प्रयोग गर्छ । त्यसले विकृति बढाएको छ । हामीले अहिले अस्थायी लाइसेन्स दिने हो । यो संसारभरी भएको अभ्यास हो । अरू देशमा पनि एक पटक जाँचलिंदा ५०/६० प्रतिशत मात्र मानिसहरू पास हुन्छन् ।

रवीन्द्रनाथ श्रेष्ठ । सचिव, भौतिक योजना तथा यातायात व्यवस्था कार्यालय

उनीहरूलाई एक बर्ष परीक्षणकालमा राख्ने चलन छ । सिकारुलाई सडकमा सवारी लैजान दिँदा अलिकति जाम बढ्छ कि भन्ने चिन्तामात्र हो । तर, यो समस्या लामो समय रहदैन । यसबाट सरकारले जनतालाई लाइसेन्स पनि दिदैन भन्ने आरोपलाई घटाउँछ भन्ने लाग्छ । अब एक महिनाभित्र अस्थायी लाइसेन्स जारी गरिहाल्छौँ । सकेसम्म हामी नयाँ वर्षको पहिलो दिनबाट अस्थायी लाइसेन्स वितरणको प्रयासमा छौँ । त्यसपछि लाइसेन्सको लाइन लामो हुदैन ।

‘अब अब १५ दिनभित्र अस्थायी लाइसेन्स जारी गरिहाल्छौँ । सकेसम्म हामी नयाँबर्षको पहिलो दिनबाट अस्थायी लाइसेन्स वितरणको प्रयासमा छौँ । त्यसपछि लाइसेन्सको लाइन लामो हुँदैन’ ।

साँच्चीकै जरुरी २ लाख लाइसेन्स छ भने ५ लाख मान्छेले फर्म भरेका छन् । अहिले फर्म भरेको मान्छेको करिब नौ महिनापछि मात्र पालो आउछ । अब प्रदेशका सचिवहरूलाई पनि डाँकेर बैठक हुँदैछ । अहिले १ सय जनाको प्रयोगात्मक हुँदैछ भने अब २ सय जनाको गरौँ । कर्मचारीलाई सिफ्टमा काम लगाउँ भन्ने योजना छ ।

लाइसेन्सको परीक्षाको मूल्यांकनको स्वरुपलाई यसरी परिवर्तन गरेका छौँ

नमराज घिमिरे

महानिर्देशक, यातायात व्यवस्था विभाग

लाइसेन्सको प्रयोगात्मक परीक्षामा आठ घुमाउँदा कति नम्बर दिने ? आठमा कहिँ पनि नछोइकन घुमायो भने फूल मास्क,अलिकति मात्रै छोयो भने कति मास्क काट्ने त्यसको कार्यविधि बनाएका छौंँ। पहिला चाँहि अहिलकति छोयो भने फेल भइहाल्थ्यो । गाडी रोकेर उकालोमा लैजादा व्याक आयो कि आएन भनेर हेरिन्छ । अलिकति व्याक आयो भने फेल भइहाल्थ्यो । त्यसमा चाँहि अब उसको गाडी कति व्याक आयो त ? पछाडिको साधनलाई असरै गर्ने गरी व्याक आयो भने फेलै भयो । अथवा उसले त्यसमा न्यूनतम नम्बर पायो । गाडी हेर्दा चाँहि व्याक आएको जस्तो देखियो तर त्यसले तात्विक असर गरेन भने त्यसले नम्बर पायो । जसले व्याक नै नगरिकन गाडी उठायो उसले  पूरा अंक पायो । यस हिसाबले एउटा रेन्ज बनाएर हरेक प्रयोगात्मक परीक्षाका गतिविधिलाई अंकको आधारमा मूल्यांकन गर्ने व्यवस्था गरेका छौँ । हरेक ट्रायलको हरेक भेलुजहरूलाई चाँहि न्यूमेरिकल्ली मूल्यांकन गर्ने ।

नमराज घिमिरे । महानिर्देशक, यातायात व्यवस्था विभाग

अहिले हामीले ट्रायलको नयाँ मापदण्ड तयार गर्‍यौँ । यातायात व्यवस्था विभागले अहिलेसम्म स्थाइ लाइसेन्स भनेर एकैचोटी स्मार्ट लाइसेन्स दिन्थ्यो । अब हामी एक बर्षका लागि अस्थायी लाइसेन्स दिन्छौं । यो कुरा ऐनमा पनि आएको छ । एकबर्ष परिक्षणकालमा रहने गरी क्यूआर कोड भएको लाइसेन्स दिन्छौँ। परिक्षणकालमा पाँच पटक भन्दा कम गल्ती गर्नेलाई स्मार्ट लनाइसेन्स दिन्छौँ ।

हामीले लाइसेन्स मागका फारमहरुका आधार राखिएको पालोलाई हरेक महिना पुनव्यवस्थापन (रिसेडुलिङ) गर्‍यौँ भने परीक्षा दिनलाई तीन महिना भन्दा बढी पर्खिनु पर्दैन । अहिले जति कोटा छ हाम्रा अफिसहरु कोटा बढादेउ भन्दैछन् । माग अनुसार कोटा बढाउन सकियो भने लामो समय पालो पर्खेर बस्नु पर्दैन ।

‘एउटा रेन्ज बनाएर हरेक प्रयोगात्मक परीक्षाका गतिविधिलाई अंकको आधारमा मूल्यांकन गर्ने व्यवस्था गरेका छौँ’

अहिलेको समस्या भनेको हिजोको लकडाउनकालको एक बर्षको जाम हो । त्यो एक बर्ष देखि पालो पर्खिएका मान्छे सकिएपछि आफ्नो मात्र पालो आउछ भन्ने कुरा मान्छेले बुझ्नु परो । पहिलाका पनि पर्खिरहेका छन् अहिले नयाँ पनि थपिरहेका छन् ।

अहिले लाइसेन्सको भिडलाई केही घटाउन सक्छौं । त्यसका लागि अहिलेको कोटा बढाउने । अहिले प्रतिदिन करिब १४ सय जनाले ट्रायल दिन्छन् । भरेका फर्महरुलाई प्रत्येक महिना रिभ्यू गर्ने,सुचना निकाल्ने हो भने पालो छिटो आउछ । किनभने फर्म भरेका सबै मान्छे परीक्षामा आउदैनन् । अर्को चाँही लाइसेन्सको प्रिन्टिङ बढाउने । त्यो भनेको अस्थायी लाइसेन्स लिएको मान्छेले लाइसेन्स लिन ट्रायल दिइरहनु पर्दैन । अहिले हामीसँग स्मार्ट लाइसेन्सको क्यूमा २ लाख ५० हजार मान्छे छन् । निवेदन दिन चाँहि अनलाइनबाट व्यवस्था गरिएको छ । २४ सै घण्टा फर्म भर्न सकिन्छ । अनि ट्रायल दिने,लिने र प्रिन्ट गर्नेचाँही बढाउनु पर्दैन । यो समस्यालाई मध्यनजर गरेर हामीले अस्थायी लायसेन्स दिन लागेका छौं । यो हाम्रा २३ वटै कार्यालयहरूले आफैँ प्रिन्ट गरेर तत्काल दिनसक्छन् । यसले ठूलो चाप घटाउछ । अस्थायी कार्डको समय बाँकी छदै हामी स्मार्ट कार्ड प्रिन्ट गरेर घरमा पुर्‍याइदिन्छौँ । त्यस कारण अब कार्ड प्रिन्टिङको कारणले हुने समस्या अब हुदैन । लाइसेन्स दिने काम संघीय सरकारको होइन । प्रदेशको हो । जाँच लिने, दिने, लाइसेन्स दिने सबै प्रदेशको काम हो । लाइसेन्स भनेको डमेस्टिक मात्र होइन अन्तराष्ट्रिय डकुमेन्ट हो । यसमा एकरुपता हुनुपर्दछ । एउटा प्रदेशको लाइसेन्स एक किसिमको, अर्को अर्कै किसिमको हुनु हुँदैन । त्यस्तो भयो भने विदेशमा के हुन्छ ? त्यसकारण लाइसेन्स एकै प्रकारको हुनुपर्‍यो। त्यसैले लाइसेन्स वितरण सिस्टमलाई एउटै बनाउनु पर्दछ । सफ्टवेयर प्रिन्टर,कार्ड एउटै प्रयोग गर्ने ।सातैवटा प्रदेशको स्मार्ट लाइसेन्स प्रिन्टचाँही संघीय सरकारले गर्ने । तर अस्थायी कार्ड प्रदेशले आफैं प्रिन्ट गर्ने । अस्थायी कार्डको मोडल एउटै हुन्छ । अहिले एक ठाउँबाट भएको प्रिन्ट अब २३ वटा कार्यलयबाट हुन्छ । यो प्रणाली विकास गर्नका लागि कार्यलयले काम सुरु गरिसकेको छ । एक महिनाभित्र यो काम सकिन्छ ।