अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अभियन्तालाई मेयर शाक्यको प्रश्न- ‘कमलपोखरीको माटो अनुहारमा दल्ने र प्रधानमन्त्रीको राजीनामाबीच के सम्बन्ध छ ?’

अभियन्तालाई मेयर शाक्यको प्रश्न- ‘कमलपोखरीको माटो अनुहारमा दल्ने र प्रधानमन्त्रीको राजीनामाबीच के सम्बन्ध छ ?’


काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले अभियन्ताका नाममा राजनीति नगर्न सुझाव दिनुभएको छ ।

महानगरपालिका क्षेत्र भित्र भएका विकास निर्माणका कामको अनुगमनसँगै मतदाताका गुनासा सुन्ने सिलसिलामा आज वडा-१५ पुग्नुभएका शाक्यले यस्तो बताउनुभएको हो ।

‘विकास निर्माणका काममा हामी सबै जनप्रतिनिधिको एक मत छ,’ शाक्यले भन्नुभयो, ‘तर, केही ठाउँमा व्यक्तिगत र राजनीतिक स्वार्थका कारण केही समस्या भएको छ ।’

उहाँले मतदाताको गुनासो सुनिसकेपछि अन्तिममा सम्वोधन गर्दै कमलपोखरीलगायतका केही स्थानमा अनावश्यक विरोध गर्दा पुननिर्माणको काममा ढिलाइ भएको बताउनुभयो ।

‘कमलपोखरी पुननिर्माणमा स्थानीय कसैको पनि विरोध छैन,’ शाक्यले भन्नुभयो, ‘बाहिरका मान्छे कमलपोखरी पुगेर अनावश्यक अवरोध गर्ने प्रयास गरिरहेका छन् । अभियन्ताका नाममा कमलपोखरीमा असान्दर्भिक कार्य गरेर नागरिकलाई भ्रम छर्ने प्रयास भैरहेको छ ।’

केही अभियन्ताहरू कमलपोखरीको माटो अनुहारमा दलेर प्रधानमन्त्रीको राजिनामा माग्न बालुवाटर गएको प्रसङ्ग पनि कोट्याउनुभयो ।

‘कमलपोखरीको माटो र प्रधानमन्त्रीको राजिनामाबिच के सम्बन्ध छ ? अभियन्तालाई प्रश्न गर्न चाहन्छु,’ शाक्यले भन्नुभयो, ‘अभियन्ताले अनुहारमा कमलपोखरीको माटो दलेपछि प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने ? यस्तो असान्दर्भिक विषयलाई समेत जोडेर नागरिकलाई भ्रम छर्ने र विकास निर्माणका काममा अवरोध गर्ने प्रयास भइरहेको छ । म भन्न चाहन्छु, यी अवरोधलाई चिर्दै हामी समयमै कमलपोखरी पुननिर्माण सम्पन्न गर्छौँ ।’

शाक्यले त्यस्ता कुरालाई महानगरवासीले बोलेर निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । ‘बिगार्नलाई थोरै व्यक्ति भए पनि पुग्छ । विकास निर्माणका काममा अवरोध गर्न एक जना व्यक्ति अदालत पुगेर एक पन्नाको उजुरी हाले पनि पुग्छ,’ शाक्यले भन्नुभयो, ‘तर, त्यसले राज्यलाई करोडौ घाटा भैरहेको हुन्छ । त्यसैले तपाईँहरुले त्यस्तो कार्यको विरुद्धमा बोल्नुपर्छ । राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ ।’

शाक्यले विभिन्न सामाजिक सञ्जालमा पनि अभियन्ताको फरकफरक परिभाषा उल्लेख गर्ने गरेको भन्दै राजनीतिक र व्यक्तिगत स्वार्थ पुरा गर्ने अभियन्ताले विकास निर्माणमा अवरोध गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

‘शब्दकोषमा अभियन्ताको अर्थ इञ्जिनियर हुने रहेछ । विभिन्न सामाजिक सञ्जालमा केहीले अभियन्तालाई इञ्जिनियर केहीले विज्ञ भन्छ्न,’ उहाँले भन्नुभयो, ‘सबै भन्दा सजिलो अहिले अभियन्ता बन्न भएको छ । हामीले कमल पोखरी निर्माण गर्दा त्यस्तै अभियन्ताहरुले महानगरपालिकाले कंक्रिटको कमलपोखरी बनाउन लाग्यो भनेर भ्रम फैलाउने काम गरे । हामीले डिजाइन त्यही राखेका छौँ । त्यो डिजाइनमा कतै पनि कंक्रिटको पोखरी उल्लेख छैन । तर केही समय अघि उनीहरु नै नागरिकलाई भ्रम फैलाउने र राजनीतिक स्वार्थ पूरा गर्ने उदेश्यले कमलपोखरी भत्काउन पुगे ।’

शाक्यले हिजो भन्दा हेर्न लायकको कमलपोखरी बनाउन लागेकै भन्दै आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने कमलपोखरी बन्ने दाबी गर्नुभयो ।

‘वास्तुशास्त्रमा आधारित पोखरी बनाउनै लागेका हौँ । पुरातत्व विभागले पनि मौलिकता कायम गर्नु भनेर भन्यो । मैले पुरातत्व विभागलाई मौलिकता कायम गर्न के गर्नुपर्छ हामीलाई डिजाइन दिन भने ,’ शाक्यले भन्नुभयो, ‘पुरातत्व त्यो त मलाई पनि थाहा छैन भन्छ । कतिपय अवस्थामा पुरातत्व विभागबाट पनि भ्रम छर्ने काम भैरहेको छ । म त्यस्तो भ्रममा नपर्न आग्रह गर्छु । हामी केहीले विरोध गर्दैमा काम रोक्दैनौँ । केही दिन भित्रै पानी भर्ने योजना बनाइरहेका छौँ । कमलपोखरी समयमै सम्पन्न हुन्छ ।’