अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेको छैन : उपप्रधानमन्त्री पोखरेल

निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेको छैन : उपप्रधानमन्त्री पोखरेल


काठमाडौं- उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टसाई सोचबाट मुक्त हुन नसकेको बताउनुभएकाे छ । बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरूबीच निजामती सेवाका विविध पक्ष सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिङ्गे टसाई सोच प्रमुख समस्याको रूपमा रहेको बताउनुभएको हो ।

समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको पनि उहाँले बताउनुभयो । ‘अहिले निजामती प्रशासन भित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म (माफ गर्नुहोला एउटा शब्द प्रयोग गर्न चाहन्छु) झिङ्गे टसाई सोचबाट मुक्त हुन सकेको छैन । यसलाई विरासतमा पाएको भन्ने गरिएतापति समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रुपमा यसलाई बुझ्नु पर्दछ भन्ने म यहाँहरुसमक्ष राख्न चाहन्छु । त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको छ,’ उहाँले भन्नुभयो ।

कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सनेलगायतका प्रवृतिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठने गरेको बताउनुभयो ।

‘कर्मचारीतन्त्र आफैँमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास राम्ररी जित्न सकिरहेको छैन । यसका पछाडि केही यस्ता कारणहरु छन जसले कर्मचारीतन्त्रको गरिमालाई कमजोर र जिर्ण बनाउँदै लगेका छन भनेर भन्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने र राम्रो उद्देश्यका लागि पनि जोखिम बोक्न नचाहने प्रवृतिजन्य संस्कारका ऐजरुहरू कर्मचारी तन्त्रमा पलाउँदै गएका छन् भनेर आम टिप्पणी हुने गरेको छ । यसले नागरिक र कर्मचारीतन्त्रको बीचमा दूरी बढाउँदै लगेको छ ।’

म्याक्स वेबरको वेबेरियन मोडलको कर्मचारी तन्त्रका सकारात्मक पक्षलाई ग्रहण गर्दागर्दै पनि कर्मचारी तन्त्रका नकारात्मक पक्षलाई हटाउन नसकिएको पनि उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो ।

शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मुल जिम्मेवारी निजामती प्रशासनको काँधमा भएकाले यसलाई सक्षम र नागरिक मैत्री कार्यशैलीबाट लोकपृय बनाउन आवश्यक रहेको पनि उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले कर्मचारीको व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्धारा निजामती सेवा प्रतिको धारणा सकारात्मक बनाउन सकिने बताउनुभयो ।

निजामती सेवालाई सबल र सक्षम बनाउन सेवा भित्रका कर्मचारीहरूको क्षमता विकास गर्ने र कर्मचारीको मनबोल बढाउने कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो । ज्ञान र सीपमा लगानी नगरी प्रतिस्पर्धामा उत्रन नसक्ने पनि मुख्यसचिव बैरागीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘निजामती सेवालाई सबल र सक्षम बनाउन सेवा भित्रका कर्मचारीहरुको क्षमता विकास हुनुपर्छ, तीनको मनोबल उच्च बनाउनुपर्छ, तीनलाई सँधै उत्प्रेरित बनाउनुपर्छ भन्ने मान्यता हामीले राख्दै आएका छौँ, भन्दै आएका छौँ तर गर्ने कसरी ? ज्ञान र सीपमा लगानी नगरी हामी प्रतिस्पर्धामा खरो उत्रन पटक्कै सक्दैनौँ । अब यो सोच हामीले त्याग्नुपर्छ । परम्परागत शैलीबाट हामी अगाडिी बढ्नै सक्दैनौं ।’