अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङमा ४२४ भूमिहीनको निवेदन प्राप्त

ताप्लेजुङमा ४२४ भूमिहीनको निवेदन प्राप्त


ताप्लेजुङ- भूमिसम्बन्धी समस्या समाधान आयोगको काम कारवाही अगाडि बढेसँगै ताप्लेजुङमा ४२४ भूमिहीनको निवेदन मालपोत कार्यालयमार्फत प्राप्त भएको छ ।

आयोगले ताप्लेजुङमा कार्यालय स्थापना गरेसँगै स्थानीय तहहरुसँग सम्झौंता गरेर काम अगाडि बढाएको भूमिसम्बन्धी समस्या समाधान आयोगका विज्ञ प्रकाश इवारासामले बताउनुभयो । आयोगले कार्यलय स्थापना भएपछि अघिल्लो पटक स्थापना भएको आयोगले सङ्कलन गरेको विवरण खोेज्ने कार्य भएको विज्ञ इवारासामले बताउनुभयो ।

जिल्ला मालपोत कार्यलयको तथ्याङ्क अनुसार १०१ भूमिविहीन दलित, २३५ भूमिहीन सुकुम्बासी र ८८ परिवार अव्यवस्थित बसोबास भएको पाइएको छ । यो आठ वर्ष पुरानो तथ्याङ्क भएको आयोगका विज्ञ इवारासामले बताउनुभयो ।

पुरानो तथ्याङ्कलाई आधार मानेर नयाँ विवरण खोज्ने काम भइरहेको छ । जिल्लाभित्र कति घरपरिवार भूमिविहीन छन् भन्ने विवरण आउन तीन महिना लाग्नसक्ने जनाइएको छ । ताप्लेजुङको पाथीभरा याङवरक, सिदिङवा, सिरिजङ्घा र मिक्वाखोला गाउँपालिकामा विवरण सङ्कलनको लागि सम्झौंता भइसकेको आयोगका ताप्लेजुङ अध्यक्ष लक्ष्मी याक्सोले बताउनुभयो ।

बाँकी ५ स्थानीय तहसँग विवरण सङ्कलन गर्न सम्झौंताको तयारी भइरहेको अध्यक्ष याक्सोले बताउनुभयो । प्रत्येक गाउँपालिकामा भूमिहीनको तथ्याङ्क सहजीकरण गर्न समिति गठन हुने तयारी भइरहेको छ ।

सबै स्थानीय तहबाट विवरण प्राप्त भएपछि जग्गा उपलब्ध गराउन आयोगले प्रक्रिया अगाडि बढाउने छ । भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलगायतको सामाजिक न्याय र जीवनस्तर सुधारका लागि भूमिको समन्यायिक वितरण र दिगो व्यवस्थापन जरुरी छ । भूमि नागरिकको खाना, आवास र स्वतन्त्रता जस्ता मौलिक अधिकार प्राप्त गर्ने सुनिश्चितताको आधार हो । भूइँ तहका नागरिकलाई लोकतन्त्रको अनुभूति गराउनुका साथै देशको समग्र आर्थिक तथा सामाजिक उन्नतिका लागि पनि लामो समयदेखिको भूमिसम्बन्धी समस्या निरूपण हुन आवश्यक छ ।

भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने, मुक्त कमैया, कमलरी, हरुवाचरुवा, हलिया, भूमिहीन, सुकुमबासी पहिचान गरी बसोबासका लागि घरघडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमीन वा रोजगारीको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

सँगैै उनीहरूलाई पुनःस्थापन गर्ने, भूमिको दिगो उपयोग र कृषियोग्य भूमिमा किसानको अधिकार सुनिश्चित गर्नेसमेत संविधानको भावनालाई मूर्त रूप दिन उपलब्ध जमीनको यथोचित् व्यवस्थापन आवश्यक छ ।