अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना कहर- २

‘नेपालगन्जमा मिडियाले भने जस्तो अवस्था भयाभह होइन’

‘नेपालगन्जमा मिडियाले भने जस्तो अवस्था भयाभह होइन’


नेपालगन्ज– कोरोना महामारीको पहिलो चरणमा दुखान्त वेदना भोगेको नेपालगन्ज उपमहानगर दोस्रो चरणमा पनि उस्तै चपेटामा छ ।

पश्चिम नेपालको सिमान्त यो सहरले आफ्ना नागरिकलाई मात्र कोरोनाबाट बचाएर धर छैन । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामा भारतबाट आउनेजाने मानिस यही नाका भएर नेपाल भित्रिन्छन् । उनीहरुलाई सुरक्षित रुपले गाउँघरसम्म पु¥याउने जिम्मेवारी पनि यही उपमहानगरलाई छ ।

‘नेपालगन्ज पश्चिम नेपालका सबै ठाउँमा जाने मानिसहरुको ट्रान्जिट हो । दुखको कुरा मानिस मात्र हैन यो ठाउँ कोरोनाको पनि ट्रान्जिट भइदियो । मानिसहरु आउछन् जान्छन् तर रोग यहाँ पनि छोड्छन् लिएर जान्छन्,’ नेपालगन्ज उपमहानगरका मेयर धवल शम्शेर राणाले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘यहाँका स्थायी बासिन्दाका अतिरिक्त तीनवटा प्रदेशका जनतालाई हामीले सेवा गरिरहेका छौं ।’

संघीय र प्रदेश सरकारले उपमहानगरको प्रयासलाई भरथेग गरिदिएको राणाको भनाइ छ । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि केही रकम पठाएको, संघीय सरकारले ११ औं तहका स्वास्थ्य कर्मचारी पठाएको छ । अस्पतालको बेड बढाउने, नेपालगन्ज मेडिकल कलेजमा बेड बढाउने, नगरपालिकाले अक्सिजन सहितको आइसोलेसन बनाउने सबै तयारी गरिरहेको राणाले बताउनुभयो । अहिले हामीकहाँ ३ सय जना मानिस आइसोलेसनमा छन् । यसलाई बढाएर ५ सय जना अट्ने आइसोलेसन बनाउने योजना छ । भेरी अञ्चल अस्पताल, मेडिकल कलेज र उपमहानगरको आइसोलेसनमा अहिले कोरोनाका सबै बिरामीको उपचार हँुदैछ । अहिले होम आइसोलेसनमा १ हजार मानिस बसेका छन् । उनीहरुलाई नगरपालिकाले स्वास्थ्यको जानकारी लिने,स्वास्थ्यकर्मीहरु नियमित पुग्ने, काउन्सेलिङ गर्ने काम गरिरहेको मेयर राणाले बताउनुभयो ।

सिमा नाका बन्द गर्नुहुँदैन
कतिपयले भारतबाट भित्रिने सिमा नाका बन्द गर्नुपर्ने माग गरिरहेका बेला नेपालगन्जका मेयर राणा भने यसलाई अस्विकार गर्नुहुन्छ । ‘सिमा नाका बन्द गर्नु हुँदैन । नेपाली दाजुभाइ दिदीबहिनीहरु दुख पाएरै भारतबाट आफ्नो घरमा आएका हुन्,’ मेयर राणाले नेपाली बहस डट कमसँगको कुराकानीमा भन्नुभयो, ‘उनीहरुलाई रोक्नु हुँदैन । किनिकी इन्डियामा अवस्था धेरै बिग्रियो । हाम्रोमा त्यस्तो गाह्रो भएको छैन ।’

भारतबाट आउनेहरुलाई उनीहरुलाई सिमानामा जाँचेर संक्रमित देखिए एम्बुलेन्समा हालेर सम्बन्धित पालिकामा पठाउने गरिएको छ । कतिपयलाई महानगर कै आइसोलेसनमा राखिएको छ । यूनिसेफले आफ्नो गाउँठाउँसम्म पु¥याउन सहयोग गरिरहेको छ । भारतबाट आएकाहरु अहिले १ सय जना जती छन् । तर यो संख्या दैनिक तलमाथि परिरहन्छ ।

मेयर राणाले मिडियाले भने जस्तो नेपालगन्जको अवस्था एकदमै खराब नभएको बताउनुभयो । ‘हामीलाई संकट छ तर तपाईंले मिडियामा पढे, सुने जस्तो अवस्था भयाभह नै चाहिँ होइन ।’ राणाले भन्नुभयो ‘अघिल्लो पटकको अनुभवबाट पनि सिकेर हामी व्यवस्थापन गर्र्दैछौं । कोरोनासँग सिक्दै भिड्दैछौं ।’