अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना नियन्त्रणका लागि माधव नेपालको १३ बुँदे अपिल

कोरोना नियन्त्रणका लागि माधव नेपालको १३ बुँदे अपिल


काठमाडौं- नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोभिड नियन्त्रणको लागि भन्दै १३ बुँदे अपिल जारी गर्नु भएको छ ।

नेपालले आइतबार अपिल जारी गरी कोभिड भ्याक्सिन खरिदमा कमिशन नमिलेका कारण मुलुकभित्र ल्याउन अवरोध गर्नु मानवता विरोधी कार्य र अपराध भएको बताउनुभएको छ । सरकारलाई त्यस्ता पक्षलाई कानुनी दायरामा ल्याएर तत्काल कारबाही गर्न नेपालले माग गर्नुभएको छ ।

उहाँले कोभिडको भ्याक्सिन जस्तो जनताको जीवन रक्षाको खोप खरिद गर्न निजी क्षेत्रलाई दिने कार्य बन्द गर्न पनि सरकारलाई अनुरोध गर्नुभएको छ । कोभिड भ्याक्सिन निःशुल्क र सर्वसुलभ बनाउने प्रबन्ध गर्ने योजना ल्याउन उहाँले सरकार समक्ष अपिल गर्नुभएको छ ।

अत्यावश्यक अक्सिजन र अन्य उपकरणको तत्काल व्यवस्था गर्न नेपालले माग गर्नुभएको छ । नयाँ अक्सिजन प्लान्ट स्थापनाका साथै बन्द अवस्थामा रहेका अक्सिजन प्लान्ट तुरुन्त चालु गरी अस्पताललाई आवश्यक मात्रामा अक्सिजन उपलब्ध गराउने दायित्व सरकारको भएकोले त्यसलाई पूरा गर्नुपर्ने उहाँको भनाइ छ ।

अस्पतालमा बेड खाली भए नभएको नागरिकलाई सूचना दिन एकीकृत सूचना प्रणालीका लागि बेवसाइट र एप्स लगायतका अन्य सञ्चार प्रबन्ध मिलाउन र सोही अनुसार सेवा दिन नेपालले सरकारलाई सुझाव दिनुभएको छ । समाजसेवी विभिन्न निकाय तथा संस्थाले स्वःस्फूर्त रुपमा विभिन्न सेवा प्रदान गरी एम्बुलेन्स, सवारीसाधनको व्यवस्थापन, राहत लगायतका कार्य गरिरहेकामा ती सबै सेवालाई एकीकृत रुपमा अघि बढाउन उहाँको आग्रह छ ।

कोभिडको उच्च जोखिममा रहेका क्षेत्रमा कडाइ गर्नुपर्ने नेपालको सुझाव छ । परीक्षणको दायरा बढाउनुपर्ने, विज्ञ सहितको संयन्त्र बनाइ महामारी रोक्ने र स्वास्थ्य सेवा मिलाउने कार्य गर्नुपर्ने उहाँको सुझाव छ ।

अस्पतालहरूले धान्न नसक्ने गरी बिरामीको चाप बढेकोले अस्पताललाई आवश्यक सबैखाले श्रोत साधनको पर्याप्त व्यवस्था गरिनुपर्ने उहाँको सुझाव छ । आईसीयू, भेन्टिलेटर लगायतका बेड थप्ने कार्य गर्न नेपालले आग्रह गर्नुभएको छ ।

यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय र संघ–संस्थाहरुलाई आह्वान गर्न पनि उहाँको सुझाव छ । स्वास्थ्यकर्मीलाई पीपीई लगायतका अत्यावश्यक सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउन उहाँले सुझाव दिनुभएको छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी लगायत बिरामीको उपचार कार्यमा संलग्नको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन नेपालले सरकारसँग अपिल गर्नुभएको छ । उनीहरूलाई शतप्रतिशत प्रोत्साहन भत्ता र बीमाको प्रबन्ध गरी आफ्नो कार्यमा लाग्न प्रोत्साहित गर्न पनि उहाँको आग्रह छ ।

कोभिड नियन्त्रणका लागि प्रत्येक स्थानीय सरकारलाई तत्काल आवश्यक बजेट उपलब्ध गराई क्वारेन्टाइन, आइसोलेसन, एम्बुलेन्स र अन्य सवारी साधन व्यवस्थापन लगायतका पक्ष व्यवस्थित रुपमा गरिनुपर्ने नेपालको सुझाव छ ।

धेरै जसो जिल्लामा निषेधाज्ञा जारी भएको अवस्थामा श्रमिक, अतिविपन्न र सीमान्तकृत समुदायलाई दैनिक रुपमा छाक टार्न मुस्किल पर्ने हुँदा उनीहरु लक्षित राहत प्रबन्ध गर्न नेता नेपालले अनुरोध गर्नुभएको छ । केन्द्रीय, प्रादेशिक तथा स्थानीय तहमा भए/गरेका सबै खर्च विवरण पारदर्शी बनाउन पनि उहाँले माग गर्नुभएको छ ।

निषेधाज्ञाका समयमा जेष्ठ नागरिक, बालबालिका तथा अपांगता भएका व्यक्तिहरुलाई ध्यानमा राखी आवश्यक प्रवन्ध मिलाउन नेपालले सरकारसँग अपिल गर्नुभएको छ । नवजात शिशु, गर्भवती, सुत्केरी तथा स्तनपान गराउने महिला, मृगौला रोगी तथा क्यान्सरका रोगीलाई अत्यावश्यक सेवा प्रदान गर्ने व्यवस्था मिलाउन उहाँको अनुरोध छ ।

कालोबजारी अनुगमन र नियन्त्रण गर्न राजनीतिक दल, निजीक्षेत्र, पत्रकार, नागरिक समाज, विभिन्न संघ–संस्थाको एकीकृत संरचना बनाएर प्रभावकारी रुपमा केन्द्रदेखि गाउँसम्म परिचालित हुन उहाँले अपिल गर्नुभएको छ ।

सामाजिक रुपमा हुने विवाह, पूजा, भेला, बैठक वा सांस्कृतिक कार्य केही समयलाई स्थगन गर्न नेपालले आह्वान गर्नुभएको छ । ‘अस्पतालमा बिरामीको संख्या थपिन नदिन समुदायकै महत्वपूर्ण भूमिका छ, स्वास्थ्य सुरक्षाको मापदण्ड समुदायबाटै पूरा भयो भने अवश्य नै अस्पतालमा बिरामीको संख्या घट्ने छ’, नेपालले जारी गर्नु भएको अपिलमा भनिएको छ ।

उहाँले स्वास्थ्य सुरक्षाका सबैखाले मापदण्ड पालना गर्न पनि सम्पूर्ण जनसमुदायमा अपिल गर्नु भएको छ ।