अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बन्चरेडाँडामा धमाधम काम, वर्षाअघि नै फोहोर विसर्जन गर्न सकिने

बन्चरेडाँडामा धमाधम काम, वर्षाअघि नै फोहोर विसर्जन गर्न सकिने

रासस
0
Shares

काठमाडौं- वर्षाको समय सुरू हुनुअगावै बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने भएको छ ।

यही जेठको दोस्रो सातादेखि काठमाडौं उपत्यकाको फोहर विसर्जन गर्ने गरी काम भइरहेको भए पनि कोभिड-१९ का कारण थप आवश्यक पर्ने कामदार ल्याउन समस्या भएपछि फेरि केही समयको विसर्जन गर्ने समयसीमा पर धकेलिएको हो ।

यसअघि भएका ८० कामदारले नियमितरूपमा काम गरिरहेका छन्, तर अहिले केही बढी काम गर्नुपर्ने भएकाले अन्य केही जनक्ति थप्नुपर्ने छ । कोरोनाका कारण कामदार ल्याउन समस्या भएको बताइएको छ । समग्रमा निर्माणको कामअन्तर्गत अहिले ६३ प्रतिशत काम सम्पन्न भएको छ ।

सेल वान र सेल टु गरी दुई भागमा विभाजन गरी निर्माणको काम भइरहेको र पहिलो सेलको काम थोरै मात्र बाँकी रहेकाले वर्षाको समयअघि नै फोहर विसर्जज गर्न सकिने गरी काम भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणका आयोजना उपप्रमुख मनोज नकर्मीले जानकारी दिनुभयो । अहिले सेल वानको पोखरी ढलानको काम भइरहेको छ ।

उपप्रमुख नकर्मीले भन्नुभयो, ‘वर्षाको समयमा काठमाडौं उपत्यकामा अन्य समयको भन्दा बढी फोहोर उत्पादन हुने हुँदा व्यवस्थापन गर्न कठिन हुन्छ, त्यसैले उक्त समयलाई केन्द्रित गरी निर्माणको काम भइरहेको छ ।’ पछिल्लो समय निर्माणको कामले गति लिएको भन्दै शहरी विकास मन्त्रालयले कामको प्रकृति हेरी फागुन अन्तिम सातादेखि काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीनरूपमा व्यवस्थापन गर्न सकिने बताउँदै आए पनि कोरोनाले केही समस्या पारेको हो ।

शहरी विकासमन्त्री प्रभु साहले फागुन तेस्रो सातासम्ममा फोहर विसर्जन गर्न मिल्ने गरी काम सक्न कामदारलाई निर्देशन दिनुभएको थियो । फागुन पहिलो साता नै मन्त्री साहले आवश्यक सबै पूर्वाधार र बजेट व्यवस्थापन गरेकाले अब पनि बहानाबाजी गर्ने छुट कसैलाई नभएको जनाउँदै काममा ढिलाइ भए सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई कारवाही गर्ने चेतावनीसमेत दिनुभएको थियो ।

केही समय कोरोना भाइरसका कारण काम हुन नसकेको र निर्माण कम्पनीको आलटालका कारण काम नभए पनि अहिले काम तीव्रगतिमा भइरहेको बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्याण्डफिल साइट नुवाकोट र धादिङको सिमानामा पर्दछ । काठमाडौं महानगरपालिकाले केन्द्र सरकारले नै निर्माण गर्नुपर्छ भन्ने माग गरेपछि मन्त्रिपरिषद् बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णयअनुरुप उक्त जिम्मेवारी पाएको हो । उक्त स्थानमा करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने छ ।

बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । सुरूमा सम्झौता गरिएको समयसिमा सकी २०७७ वैशाखमा पुनः एक वर्षका लागि समय थपेको थियो । उक्त समय पनि सकिएको छ । दोस्रोपटक थपिएको समयमा पनि निर्माणको जिम्मा पाएको कम्पनीले काम सम्पन्न नगरेपछि तेस्रोपटक समय थप्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

निर्माणका लागि भ्याटबाहेक रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ मा सम्झौता भएको थियो । निर्णयअनुसार बाँध निर्माणको काम शहरी विकास मन्त्रालयले गर्ने र विसर्जनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिएअनुरुप उक्त काम अहिले सम्पन्न भइसकेको छ । शहरी विकास तथा भवन निर्माण विभागले भने दीर्घकालीनरूपमा फोहर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोरलाई स्रोतबाट नै पहिचान गर्नुपर्ने जनाएको छ ।

१३ वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । अव्यवस्थितरूपमा लामो समयदेखि एकै स्थानमा फोहर विसर्जन गर्दा समस्या आएपछि स्थानीयवासीले व्यवस्थितरूपमा फोहर व्यवस्थापनस्थलको खोजी गर्न आग्रह गर्दै विरोध गर्दै आएका छन् ।

उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । त्यसमा सबैभन्दा बढी कामनपाबाट करिब ६०० मेट्रिक टन फोहर निस्कने गरेको छ ।

काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । हरेक दिन उपत्यकाबाट निजी र महानगरपालिकाका गरी २ सय गाडी फोहोर लगिने गरिएको छ ।