अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री–महन्थ मिलनका सूत्रधार समीम

प्रधानमन्त्री–महन्थ मिलनका सूत्रधार समीम


काठमाडौं– संविधान निर्माणको चरणदेखि आजसम्मलाई हेर्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओली र मधेसकेन्द्रित दलका नेताहरुको सम्बन्ध मित्रतापूर्णभन्दा पनि तित्ततापूर्ण बढी देखियो । संविधान निर्माणमा कमभन्दा कम प्रदेश निर्माण गर्नेदेखि एक मधेस एक प्रदेशको मागलाई धक नमानी रोक्ने एकमात्रै नेता ओली हुनुहुन्थ्यो ।

संविधान निर्माणमा देखिएको तित्तता र त्यसबेला ओलीले प्रवाह गरेका बोली, व्यवहार र विचारको आलोचना र समर्थन दुवै हुने गरेको छ । तर, ओलीकै नेतृत्वमा पृथकतावादी आन्दोलन गरिरहेको सीके राउत समूह मूलधारमा आएको छ । संविधान निर्माणमा शीतयुद्धकै तहमा व्यवहार हुने राजेन्द्र महतोलाई संसदमा ल्याउन ओलीकै भूमिका देखियो ।

सार्वजनिक र राजनीतिक तहमा विवाद रहे पनि प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँगको सम्बन्धमा भने खासै बदलाव ल्याउनुभएन । ओली निकट स्रोत भन्छ– ‘महन्थसँगको व्यक्तिगत सम्बन्ध सदा सुमधुरमात्र रहेन, उहाँका प्रस्तावहरु ओलीले अस्वीकार गर्नुभएन ।’

व्यक्तिगत तहमा सम्बन्ध सुमधुर रहे पनि राजनीतिक तहमा मिलन हुन सकेको थिएन । तर, समयक्रममा ओली–महन्थ सहकार्यको रोडम्याप तयार भएको छ । ओली–महन्थ–राजेन्द्रको सहकार्यका सम्भावित परिदृश्यहरु देखिन थालेका छन् ।

महन्थलाई ओलीसँग नजिक्याउन भूमिका खेल्ने पात्रहरु भने दृश्यमा छैनन् । महेश बस्नेतको नेतृत्वमा जसपाका नेताहरुको व्यवस्थापनदेखि गोकुल बास्कोटाहरुको संयोजनका विषयहरु सार्वजनिक नै छन् । तर, राजनीतिक मुद्दाहरुको व्यवस्थापनसहित ओलीसँग महन्थलाई नजिक पुर्‍याउन मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीको भूमिका दृश्य बाहिर छ ।

सुत्रहरुका अनुसार अन्सारीले धेरैपटक आफ्नै गाडीमा राखेर महन्थलाई लोकन्थलीदेखि बालुवाटार ओसार पसार गर्नुभएको छ । राति अबेरसम्म प्रधानमन्त्रीसँग कुरा गराउनेमात्रै होइन, उज्यालो नहुँदै बालुवाटारको गेटभित्र छिराउने काम समीमको नेतृत्वमा भएको छ ।

भारतीय संस्थापनसँग पनि राम्रो सम्बन्ध बनाउनुभएका अन्सारीले महन्थ–राजेन्द्रलाई प्रधानमन्त्रीसँग अडाउन सबै खालका राजनीतिक व्यवस्थापन गर्नुभएको देखिएको छ । ‘स्वभाविकरुपमा महन्थहरु कांग्रेससँग नजिकिनुपर्ने हो,’ जसपामा सहमति निर्माणमा खटिएका महन्थ निकट एक नेताको भनाइ छ, ‘यसपटक ओलीसँग अडाएर राख्न कठीन थियो ।’

अन्सारीले भने आफूले राजनीतिक दायित्वमात्रै पूरा गरेको संक्षिप्त प्रतिक्रिया दिनुभयो । ‘म संवैधानिक निकायमा छु, तर मैले यो बिर्सन मिल्दैन कि यहाँ आएको पनि राजनीतिक स्थिरता, मधेस र मुस्लिमका मागहरुलाई पूरा गर्नका लागि पनि त हो,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि सहयोग गर्नु मेरो दायित्व हो ।’

अन्सारीको पृष्ठभूमि पनि महन्थसँग जोडिएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठनदेखि नै अन्सारी सहमहामन्त्री भएर काम गर्नुभएको थियो । संविधान निर्माणताकाको मधेस आन्दोलनमा मुस्लिम गठबन्धनको नेतृत्व अन्सारीले नै गर्नुभएको थियो ।

सुशील कोइराला सरकारमा सत्ता सहकार्य गरेको तत्कालिन एमाले अध्यक्ष ओलीलाई ज्ञापन पत्र बुझाउन जाँदादेखि जोडिएको सम्बन्ध यति घनिष्ठ रह्यो कि पार्टीका वरिष्ठ मुस्लिम नेताहरुलाई पन्छाउँदै ओलीले अन्सारीलाई आयोगको अध्यक्ष बनाइदिनुभयो ।

एमालेमा प्रवेशदेखि नै ओलीको विश्वासमा काम गर्नुभएका अन्सारीले महन्थलाई मनाउन मुस्लिम आयोगमा पटक–पटक वार्ता गर्नुभएको छ ।

अन्सारीले भने आफूले राजनीतिक दायित्वमात्रै पूरा गरेको संक्षिप्त प्रतिक्रिया दिनुभयो । ‘म संवैधानिक निकायमा छु, तर मैले यो बिर्सन मिल्दैन कि यहाँ आएको पनि राजनीतिक स्थिरता, मधेस र मुस्लिमका मागहरुलाई पूरा गर्नका लागि पनि त हो,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि सहयोग गर्नु मेरो दायित्व हो ।’