अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा पुस्ताका स्वास्थ्यकर्मीको उत्साह : कोभिडमा पनि सफल शल्यक्रिया हुँदै

युवा पुस्ताका स्वास्थ्यकर्मीको उत्साह : कोभिडमा पनि सफल शल्यक्रिया हुँदै


दार्चुला-“हामी थकित छौँ, तर महामारीका बीच पनि सेवामा अवरोध नहोस् भन्ने हाम्रो प्रतिबद्धता कायम छ”, यो स्टाटस जिल्ला अस्पताल दार्चुलाका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा आर्दश लिम्बूले जेठ १ गते लेख्नुभएको हो । जतिबेला जिल्ला अस्पतालमा कोभिड–१९ का बिरामीले अस्पताल भरिएको थियो । अस्पतालमा कोरोना सङ्क्रमितका लागि छुट्याइएको आइसोलेशन १५ शय्या भरिएपछि थप व्यवस्थापन गर्नुपरेको थियो । एकातिर कोरोना सङ्क्रमित भएर आउने बिरामी दिनानुदिन बढ्दै थिए भने अर्कोतिर जटिल प्रकृतिका शल्यक्रिया गर्नुपर्ने बिरामी पनि अस्पतालमै थिए ।

अहिले अस्पतालमा युवा पुस्ताका स्वास्थ्यकर्मीको टोली छ । तर दुवैतर्फ स्वास्थ्यकर्मी खटाउन पर्याप्त जनशक्ति छैन । अस्पतालको नेतृत्व गर्नुभएका एमडिजिपी डा लिम्बू आएयता जटिल प्रकृतिका शल्यक्रिया हुन थालेका छन् । जुन दिन उहाँले स्टाटस लेख्नुभयो, त्यस दिन ७२ वर्षीय वृद्धको अण्डकोषको सफल शल्यक्रिया भएको थियो । वृद्धको शल्यक्रिया सफल भएपछि स्वास्थ्यकर्मीको उत्साह पनि थप बढेको हो । कोरोनाको दोस्रो चरण प्रवेश गरेयता अस्पतालमै चार सफल शल्यक्रिया भएका छन्, जिल्ला अस्पताल दार्चुलाका एनेस्थेसिया असिस्टेन्ट बागेश्वरप्रसाद मिश्र (विपिन)ले भन्नुभयो, कोरोनाका बीच पनि हामीले शल्यक्रियाका काम पनि रोकेका छैनाँै । जुन सामूहिक कामले सफल भएका छौँ । उहाँको टिमको सहयात्री छन्, मेडिकल अधिकृत नवीनकिशोर मल्ल, पूजा बम, जाफर अन्सारी, सुदूरपश्चिम प्रदेशबाट खटाइएका मेडिकल अधिकृत देवेन्द्र नेगी र एनेस्थेसिया असिस्टेन्टका रूपमा बागेश्वरप्रसाद मिश्र । सीमित स्रोत साधनकाबीच यो टिमको सामूहिक प्रयासले जटिल प्रकृतिका शल्यक्रिया सफल भइहेको उनीहरुको दाबी छ । मिश्रका अनुसार वैशाखयता बच्चा उल्टो भएकी गर्भवतीको सफल शल्यक्रिया भएको थियो । महिला जटिल अवस्था भएपछि मात्रै अस्पताल पुग्नुभएको थियो । अस्पतालमा शल्यक्रिया हुँदैन भन्ने लागेको थियो, तर पनि हाम्रो टिमले सफलता हासिल ग¥यो, उहाँले भन्नुभयो । यस्तै स्तनमा समस्या भएका महिलाको सफल शल्यक्रिया जिल्ला अस्पतालमै गरिएको छ ।

अहिलेको स्वास्थ्यकर्मीको सामूहिक प्रयासबाट जटिल प्रकृतिका शल्यक्रिया पनि सहजरूपमा हुने गरेको मिश्रको बुझाइ छ । हामी सामूहिकरूपमा छलफल गर्छौँ, उहाँ भन्नुहुन्छ, “सकेसम्म जिल्लामै हुने कामलाई बाहिर सिफारिश गर्न चाहँदैनौँ ।” यसो त जिल्लामा एमडिजीपी लिम्बूले नेतृत्व गरेपछि तीन÷चार वर्षयता रोकिएका शल्यक्रियाहरू हुन थालेका छन् । जुम्ल्याहा गर्भवतीको शल्यक्रियाका माध्यमबाट काम शुरु भएको थियो । हात भाँच्चिएर आएका बिरामीको शल्यक्रिया पनि जिल्लामै गरेका छौँ, जिल्ला अस्पताल दार्चुलाका डा लिम्बूले भन्नुभयो, “यो पनि धेरै समयपछि भएको छ । हर्निया, हाइड्रोसिल, एपेन्डिक्स सुन्निएका बिरामीको शल्यक्रिया यस बीचमा भएका छन् ।” वैशाखदेखि कोरोना निकै बढेको तर अस्पतालको थोरै जनशक्तिबाट शल्यक्रिया, कोरोना सङ्क्रमितको उपचार र नियमित बिरामीको उपचारसँगसँगै अघि बढाएका छौँ । हामीसँग भएको जनशक्ति अहिले पर्याप्त होइन । “तर पनि कोभिडमा सबै लागिरहेको बेला व्यवस्थापन गरेका छौँ”, मिश्र भन्नुहुन्छ । “अस्पतालसँग पर्याप्त भौतिक पूर्वाधार पनि छैन । अझै दक्ष जनशक्तिको व्यवस्थापन हुनसकेको छैन ।

आइसीयू र भेन्टिलेटर चलाउने जनशक्ति थप व्यवस्थापन हुन नसक्दा थोरै जनशक्ति लगाउनुपरेको छ”, डा लिम्बूले भन्नुभयो, “तैपनि अस्पतालले थप जनशक्ति व्यवस्थापनको प्रयास गरिरहेको छ ।” अहिले अस्पताल व्यवस्थापन समिति, अस्पताल प्रशासनले काममा हौसला बढाएका कारण पनि स्वास्थ्यकर्मी कोरोनाबीच पनि निरन्तर काममा लागेका छन् । अहिले पनि कोभिडका बिरामी धेरै आउँदैछन् । लामो समयसम्म घरमै बस्ने र जटिल अवस्थामा मात्रै कोरोनाका बिरामी अस्पताल आउने हुँदा समस्या भएको स्वास्थ्यकर्मी बताउँछन् । विसं २०७० को बाढीले अस्पतालको जमिन बगाएको थियो भने केही भौतिक संरचनामा क्षति पु¥याएको थियो । अहिले सीमित भूगोलभित्र अस्पताल सञ्चालनमा छ । जसकारण अस्पताललाई चाहिने पर्याप्त पूर्वाधार निर्माण हुन नसकेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दलजीतसिंह धामी बताउनुहुन्छ । अहिले भएकै जमिनलाई उपयोग हुने गरी ५० शय्याको अस्पताल निर्माणका लागि बोलपत्र आह्वान भएको छ । नयाँ भवन निर्माणपछि अस्पतालको सबै सेवा थप प्रभावकारी बनाउन सकिने उहाँको भनाइ छ ।