अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तराई-मधेसमा देखिएको सुक्खा समस्या समाधानमा सरकार लागेको छः प्रधानमन्त्री ओली

तराई-मधेसमा देखिएको सुक्खा समस्या समाधानमा सरकार लागेको छः प्रधानमन्त्री ओली


वीरगञ्ज-प्रधानमन्त्री केपी शर्मा ओलीले तराई-मधेसले अहिले सुक्खाको समस्या भोगिरहे पनि बारा जिल्लामा धान रोपेको खेत देख्दा आफूलाई खुसी लागेको बताउनुभएको छ।

बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘आज तराई-मधेसमा सुक्खाले समस्या बनाएको छ, यद्यपि बारामा आइपुग्दा धान रोपेका खेत देख्न पाउँदा खुसी लागेको छ।’ उहाँले दुई दिनअघि मात्रै सरकारले मधेस प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको पनि बताउनुभयो।

प्रधानमन्त्री ओलीले तराई-मधेसमा सिँचाइ र खानेपानीको प्रबन्धको लागि डिप बोरिङलगायत योजना अघि सारिएको पनि बताउनुभयो। ‘यहाँको सुक्खा समस्या समाधानका लागि सरकारले सक्रियता साथ काम गरिरहेको छन्, गृह मन्त्रालय र प्रशासनको तर्फबाट आवश्यक काम भइरहेको छ’, उहाँले भन्नुभयो।

प्रधानमन्त्री ओलीले तराई-मधेसको सुक्खाग्रस्त क्षेत्रको दीर्घकालीन रुपमा चुरेको संरक्षण र सम्वर्द्धनका लागि ठूलठूला तालतलैयाहरुको निर्माण अबको आवश्यकता रहेको औँल्याउनुभयो।

‘यदि चुरेको संरक्षण गर्न सकिएन भने सुक्खाको समस्या अझ बढ्दै जान्छ, पानीको सतह झनै गहिरिँदै जानेछ’, उहाँले भन्नुभयो, ‘पानीको सतह नगहिरियोस् र सिँचाइको समस्या नहोस् भनेर नै हामीले सुनकोशी मरिण डाइभर्सन आयोजना अघि बढाएका थियौँ।’ यद्यपि उहाँले सुनकोशी मरिण डाइभर्सन आयोजनाले सुस्त गतिमा काम गरेकामा असन्तुष्टि व्यक्त गर्नुभयो।

 प्रधानमन्त्री ओलीले सुनकोशी मरिण डाइभर्सन सम्पन्न भएपछि यहाँको देखिएको सिँचाइको समस्या धेरै हदसम्म समाधान हुने बताउनुभयो । ‘उक्त आयोजनाबाट मधेस प्रदेशका पाँच जिल्लामा १८५ हजार बिघा जमिन सिँचाइ गर्न सक्छौँ’, उहाँले भन्नुभयो, ‘यहाँको उत्पादन दोब्बर मात्रै होइन् चारदेखि छ गुणासम्म वृद्धि गर्न सकिन्छ।’