काठमाडौं– आफ्नै समूहमा तीनखाले मत देखिएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपालको समूह आन्तरिक संकटमा परेको छ ।
नेपाल समूहमा पार्टी एकताको पक्षमा, नयाँ पार्टीको पक्षमा र सरकारमा सहभागी हुनुपर्ने पक्षमा प्रष्ट तीन गुट देखिएका छन् । सरकारमा जान र नयाँ पार्टी बनाउन तीब्र दबाब परेपछि नेपालले केन्द्रीय कमिटी बैठक नै बोलाउनुपर्ने अवस्था आयो ।
उपाध्यक्ष भीम रावलसहितका नेताहरु एमालेको एकताको पक्षमा उभिनुभएको छ । उपाध्यक्ष भीम रावल र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, सचिव भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त एकताको पक्षमा हुनुहुन्छ । केन्द्रीय सदस्यहरू निरज आचार्य, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, रवीन्द्र अधिकारी, यज्ञ सुनुवार, झपट रावल, बलदेव चौधरीलगायतले पनि निर्विकल्प एकताको पक्षमा आफूलाई उभ्याउनु भएको छ ।
उपाध्यक्ष युवराज ज्ञवालीससहित मुकुन्द न्यौपाने, बेदुराम भुसाल, रामकुमारी झाँक्री, विरोध खतिवडा, जगन्नाथ खतिवडा, घनेन्द्र बस्नेत, डा विजय पौडेल, बलराम बाँस्कोटा, वसन्त मानन्धर, रामचन्द्र यादवलगायत नयाँ पार्टीको पक्षमा देखिनुभएको छ ।
केन्द्रीय सदस्य मेटमणि चौधरी, प्रेम आले, रामकुमारी झाँक्री तथा नवआगन्तुक माधव समूहका सांसद किसान श्रेष्ठलगायत भने तत्कालै शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने पक्षमा रहनुभएको छ ।
प्रतिक्रिया