काठमाडौं-काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकाको शिक्षा, सीप विकास, तालिम तथा अनुसन्धानका लागि विशेष विद्यालय भवन निर्माण सुरु गरेको छ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार वडा नम्बर २९ मा निर्माण हुने ‘काठमाण्डु स्कुल फर चिल्ड्रेन विद अटिजम एन्ड रिसर्च सेन्टर’ भवनको शिलान्यास गरेकी हुन्। वडाध्यक्ष कुश ढकाल, जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थितिमा जग पूजा गरी भवन निर्माणको शुभारम्भ गरिएको हो।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले शारीरिक वा बौद्धिक अपाङ्गताका कारण कुनै पनि बालबालिका शिक्षा र आधारभूत अधिकारबाट वञ्चित हुन नहुने बताइन्।

हरेक बालबालिकाले पढ्न, खेल्न, अवसर प्राप्त गर्न र सम्मानपूर्वक बाँच्न पाउने समान अधिकार रहेको उल्लेख गर्दै उनले अटिजम वा शारीरिक अशक्तताका कारण शिक्षाबाट वञ्चित हुने अवस्था अन्त्य गर्न महानगरले पहल थालेको बताइन्।
‘अटिजमलगायत बौद्धिक र शारीरिक अपाङ्गता सिकाइको बाधक बन्नुहुँदैन भन्ने परिकल्पनासहित हामी अघि बढेका छौँ,’ उनले भनिन्, ‘आजको यो शिलान्यास भवनको मात्र होइन, हामीले कल्पना गरेको मानवता र करुणाको सहरमा एउटा इँटा थप्ने काम हो।’
डंगोलले काठमाडौंमा अटिजम भएका बालबालिका र तिनका अभिभावकलाई विशेष सहयोगको आवश्यकता बढ्दै गएकाले निर्माण हुन लागेको संरचना बहुउपयोगी हुने विश्वास व्यक्त गरिन्।
उनका अनुसार भवनमा बालबालिकाको सीप तथा ज्ञान अभिवृद्धि, तालिम, अध्ययन–अनुसन्धान र अभिभावक सहायता केन्द्रसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ।
महानगरपालिकाको सार्वजनिक निर्माण विभागले तयार पारेको डिजाइनअनुसार वडा नम्बर २९ को प्रशासनिक भवनको पूर्वतर्फ ४५०.८० वर्गमिटर क्षेत्रफलमा उक्त भवन निर्माण हुनेछ।
डिजाइनर इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनको लम्बाइ ९२ फिट हुनेछ। यसको चौडाइ पूर्वतर्फ ३५ फिट र पश्चिमतर्फ २२ फिट रहनेछ।




प्रतिक्रिया