खनेर हेनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरूका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो ।
माथिका कविताका हरफहरू २०२४ सालमा सहित्यिक पत्रिका रूपरेखामा प्रकाशित नेपालका ख्यातिप्राप्त साहित्यकार भूपि शेरचनद्वारा रचित ‘यो हल्लै हल्लाको देश हो’ भन्ने शीर्षकका कविताका अंशहरू हुन् । करिब ५४ वर्ष अगाडि भूपि शेरचरले लेख्नुभएका उक्त कविताको सार अहिलेको अवस्थामा पनि साह्रै सन्दर्भिक देखिन्छ । नेपाली राजनीतिका पछिल्ला गतिविधिहरू, न्यायालयले गरेका निर्णयहरू, कार्यपालिका र व्यवस्थापिका भित्र देखिएका गतिविधिहरू तथा राष्ट्रपतिका भूमिका सम्वन्धमा सामाजिक सञ्जालहरू तथा विभिन्न सञ्चार माध्यमको प्रयोगबाट भइरहेका क्रिया प्रतिक्रियाहरु तथा नेपाली समाजको मनोविज्ञान एवं बजार हल्लाहरू हेर्ने हो कवि भूपि शेरचन अहिले जीवित भइदिएका भए सायद उक्त कविताको थुप्रै संस्करणहरु लेखिसक्थे होलान् । किनकी विज्ञान र प्रविधिको चामत्कारिक विकासको आजको यो अवस्थासम्म आइपुग्दा पनि कवि भूपि शेरचनले ५४ वर्ष अगाडि भने जस्तै अहिले पनि हाम्रो देश नेपाल हल्लै हल्लाको देश हो जस्तो भान हुन्छ ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने त झन् कवि भूपि शेरचनको उक्त कविताको सारलाई हुबहु अनुभूत गर्न सकिन्छ । एउटा सरकार संविधानले दिएको अधिकार प्रयोग गरेर अध्यादेश ल्याउँछ । संविधानले दिएको अधिकार प्रयोग गरी राष्ट्रपतिले सदर गर्नुहुन्छ । बजारमा हल्ला सुरु हुन थाल्छ । संविधान माथि खतरा उत्पन्न भयो । व्यवस्था सकिने भयो । सामाजिक सञ्जालका भित्ताहरु देशको व्यवस्था र संविधान माथि खतरा भएको तथा प्रतिगमन भएको हल्लाले व्यापकता पाउँछ । केही राजनीतिक दलका अगुवा तथा मूलधारका मिडियाहरु पनि उक्त अध्यादेशले देशको संविधान नै सकिने र प्रतिगमन भएको बयान संहिता हल्लाहरु फिजाउन व्यस्त हुन्छन् । जनतालाई तिनै हल्लाहरुमा रुमलिन्छन् । अर्को सरकार आउँछ त्यसैगरी अध्यादेश ल्याउँछ । हिजो अध्यादेश ल्याउने तथा स्वीकृत गर्नेलाई प्रतिगमनका मतियार भएको तथा संविधान तथा व्यवस्थामाथि संकट आएको देख्नेका स्वरहरु मत्थर हुन्छन् । सत्ताको कुत्सित स्वार्थ पूरा गर्न ढुकेर बसेका नेताहरु तथा मूलधारका मिडियाहरुको स्वर मसिनो हुन थाल्छ ।
अर्कोतिर अदालतका एकजना श्रीमानले एउटा अध्यादेशलाई असंवैधानिक देख्छन् । भारतको अदालतको एउटा फैसलाको हवाला दिंदै कार्यपालिकाले जतिखेर पनि अध्यादेश ल्याउन नपाउने तर्क गर्छन् । संविधानमा कार्यपालिकाले अध्यादेश ल्याउन पाउने अधिकार उल्लेखित हुँदाहुँदै पनि उक्त अध्यादेशलाई असंवैधानिक देख्छन् र बदर गर्छन् । बजार हल्ला माथि विश्वास गर्नेहरु । बजार हल्लालाई नै आफ्नो अस्तित्वको आधार बनाएर बसेकाहरु, फेरि संविधान माथि संकट आएको कुरालाई पुष्टि गर्दै बजार हल्ला गर्न सुरु गर्छन् । अनी त्यही अदालतका अर्का श्रीमानले त्यहि प्रधानमन्त्रीको नेतृत्वको कार्यपालिकाले ल्याएको अर्को अध्यादेशलाई संविधान बमोजिम भएको ठहर गर्छन् । अध्यादेश ल्याउन पाउने अधिकार कार्यपालिकाको संवैधानिक अधिकार भएको निर्णयमा पुग्छन् । हिजोका बजार हल्लाहरु फेरि मथ्थर हुँदै मसिनो हुदै जान्छन् । हल्ला गरेरै आफ्नो कुत्सित स्वार्थ पूरा गर्ने हामी नेपालीको बानी नै परि सक्यो सायद त्यसैले होला भूपि शेरचनले भने जस्तै ‘यो हल्लै हल्लाको देश’ हो ।
सरकार बनाउन बनेका संविधानका धाराहरुले सरकार बन्न नसक्ने अवस्था आउँछ । निर्वाचन घोषणा हुन्छ । सत्ताको स्वाद चाख्न हतार गरेर बसेका लोभिमन बोकेका आत्माहरु फेरी बजार हल्ला गर्न सुरु गर्छन् । तिनै दुखि आत्माका सारथीहरु, झर्ला र खाउँला भनेर पर्खेकाहरु समाजिक सञ्जालका भित्ताहरुमा संविधान माथि संकट आएको हल्ला गर्न थाल्छन् । तिनै दुःखी आत्माहरुको फेरो समातेर बैतरणी पार गर्न तयारी गरि बसेका केही सञ्चार माध्यमहरु पनि हल्लाको स्वरमा स्वर मिलाउन थाल्छन् । बहुदलीय व्यवस्थाको मुल्य विपरीत आफ्नै दलको विरोधमा विपक्षीसँग मिलेर राष्ट्रपतिकहाँ निवेदन दिन पुग्छन् । अदालतमा फलानालाई प्रधानमन्त्री बनाई पाउँ भनि विन्तिपत्र हाल्न जान्छन् । श्रीमानहरु संविधानका धाराहरुमाथि खेल्न थाल्छन् र संविधानको प्रस्तावना तथा ‘जनादेश’ विपरीत ‘परमादेश’को आधारमा ‘अमुक व्यक्ति’ लाई प्रधानमन्त्री नियुक्त गरिदिन्छन् । जनता रनभुल्लमा पर्छन् । हल्लामा फैलाएर आफ्नो कुत्सित स्वार्थ पूरा गर्न बसेकाहरु मुस्कुराउँछन् । प्रतिगमन परास्त भएको, संविधान र व्यवस्था जोगिएको हल्ला चलाउनछन् । कतिखेर हल्ला गर्न पाइएला भनेर कुरी बसेकाहरु समाजिक सञ्जालहरुमा हल्लाको बुर्कुसी मार्न थाल्छन् । किनकी भूपि शेरचनले भने जस्तै ‘यो हल्लै हल्लाको देश हो ।’
हिजो अध्यादेश ल्याउने तथा स्वीकृत गर्नेलाई प्रतिगमनका मतियार भएको तथा संविधान तथा व्यवस्थामाथि संकट आएको देख्नेका स्वरहरु मत्थर हुन्छन् । सत्ताको कुत्सित स्वार्थ पूरा गर्न ढुकेर बसेका नेताहरु तथा मूलधारका मिडियाहरुको स्वर मसिनो हुन थाल्छ ।
आफैं मिल्न नसेकर अर्काले मिलाई दिएका नेतागणहरु सबै कुराको समाधान खोज्न अदालतमा निवेदन जाहेरीमा व्यस्त देखिन्छन् । सबै अधिकार आफैँ माथि आएको देखेर जनताले सर्वोच्च भनि नाम राखिदिएका निकायका श्रीमानहरु मख्ख पर्छन् । सार्वभौम जनता भन्दा आफै सर्वोच्च भएको भ्रममा पर्छन् अनि पारिन्छन् । बहुदलीय व्यवस्था भएको देशमा आफ्नै दलको ह्विप उल्लंघन गर्ने एवं फ्लोर क्रस गर्नेलाई पनि कारवाही गर्न पाइन्न भनेर निर्णय पनि सुनाइदिन्छन् । संविधानको अमुक धाराको हवाला दिंदै संविधानको प्रस्तावनमा उल्लेखित बहुदलीय व्यवस्थाको मुल मर्म विपरीत निर्दलीय अभ्यासलाई मलजल गर्ने गरी निर्णयहरु ठोकिदिन्छन् ।
बहुदलीय लोकतन्त्रको मूल अधार कार्यपलिका, व्यवस्थापिका तथा न्यायपालिका विचको शक्ति पृथकीकरणको शक्ति सन्तुलन खलबलिन थाल्छ । २०५२ साल भदौ १२ मा विश्वनाथले रोपेको प्रवृति हुर्किएर खिराज हुँदै अहिलेसम्म आइपुगेको हो ।खिलराज रेग्मीका विभिन्न अवतारहरु जन्मिन प्रयत्नरत देखिन्छन् । तर त्यो बेला हामी संविधान तथा व्यवस्था माथि संकट आएको देख्दैनौं । किनकी हामी त फगत हल्लामै मस्त हुन्छौं । किनकी भूपि शेरचनले भने जस्तै ‘यो हल्लै हल्लाको देश हो’ ।
२०६२÷ ६३ को ‘जनआन्दोलनको म्याण्डेट’ र अहिलेको ‘संविधानको प्रस्तावना’ ‘जनादेश’ हो । हाम्रो ‘लोकतन्त्र’ र ‘न्यायालय’को आधार ‘जनादेश’ हो । ‘मतादेश’हरुको ‘अपवित्र गठवन्धन’को जालझेलले ‘जनादेश’ माथि अतिक्रमण गर्दै ‘परमादेश’ को अवस्थामा देशलाई पुगाउनु नेपाली राजनीति र शासनका खेलाडीहरुको ‘अकर्मण्यता’ हो । ‘संविधान र व्यवस्था माथि संकट’ आएको तथा ‘प्रतिगमन’ भए्का हल्लामा ‘धेरैलाई भ्रमित’ पार्न सफल भएका नेपाली राजनीतिका खेलाडीहरुको हातमा शसनको बागडोर आए्को छ । लामो समयसम्म पनि सत्ताको भागबण्डा नमिलेर सरकारले पुर्णता पाउन नसक्नु, संसद छलेर अध्यादेश ल्याउनु जस्ता कुराहरुले आगामी दिनहरु नेपाली जनताका लागि सुखद होलान जस्तो देखिदैन् । अचम्म त के लाग्छ भने न विचार मिल्छ, न रंगरुप नै मिल्छ । न पृष्ठभूमि मिल्छ नै कुनै आधार नै । यिनका दस्तावेज हेर्ने हो भने एकले अर्कालाई दुश्मन् ठान्छन् । ‘क्रान्तिकारी’हरु ‘पुजिवादी’हरुलाई ‘दुश्मन’ देख्छन् । ‘मधेसीहरु’ नेतागणहरु ‘पहाडी’ नेतागणलाई मधेश विरोधि देख्छन् । यीनै ‘टाउकाको मुल्य’ तोक्छन अनी यीनै फेरी ‘घाटी जोडछन’ । देश, जनता र संविधानको रक्षाको राप अलाप्छन् । कसले कुन स्वार्थका लागि मिलाउँछ, एकै ठाउँमा मिलेका जस्ता देखिन्छन् । हल्ला गर्छन, गर्न लगाउँछन् । जनता रनभुल्लमा पर्छन् । सायद त्यसैले होला कवि भूपि शेरचनले रुपरेखा साहित्यिक पत्रिका मा आज भन्दा ६८ वर्ष अगाडि ‘हामी’ भन्ने कविताको शीर्षकमा यस्तो लेखेकोे ।
हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनु पर्ने,
हामी रंगरोगन छुटेका
टुटेका फुटेका
पुरानो क्यारेम बोर्डका गोटी हौं
एउटा खेलाडिमाथि आश्रित
आफ्नो गति हराएका
एउटा ‘स्टाईकरद्वारा’ सञ्चालित
हो, हामी मानिस कम र बर्ता गोटी हौं ।
हल्ला गरेरै आफ्नो कुत्सित स्वार्थ पूरा गर्ने हामी नेपालीको बानी नै परि सक्यो सायद त्यसैले होला भूपि शेरचनले भने जस्तै ‘यो हल्लै हल्लाको देश’ हो ।
करिब ७ दशक भन्दा लामो कालखण्ड पछि हाम्रा प्रतिनिधिहरुले लेखेको संविधान हामीले प्राप्त ग¥यौं । नेपालीमा एउटा आशाको सुखद सञ्चार जागेको थियो । नेपालमा अव विकास र समृद्धिको यात्रा अगाडी बढनेछ । सुखी नेपालीको राष्ट्रिय आकांक्षाले साकार रुप लिनेछ । तर संविधान जारी भैसकेपछि देखिएका राजनीतिका नाममा भएका अराजनीतिक खेलहरु हेर्ने हो भने । जनताको आशा माथि तुषारापात भरहेको आभास हुन्छ । राजनीतिका अगुवा खेलाडीहरु खेलको नियम विपरित ‘झेलि खेल्छन’, ‘रेफ्रि किन्छन्’, ‘थर्ड अम्पाएर’को रुपमा रहेका जनताले खिचिरहेको भिडियोलाई हल्ला गरेरै ‘झिरमिर पारिदिन्छन’ । खेलका पुरै मुल्य मान्यताहरु तोडमरोड गरिदिन्छन् । राजनीतिको पुरा खेलको सेटिंगमा त खेलमैदान बाहिर बसेका सट्टावाजहरु देखिन्छन् । हाम्रा अगुवा नेताहरु त फगत अर्काको स्वार्थका लागि क्रय विक्रयका साधन जस्ता देखिन्छन् । हाम्रा अगुवा भन्ने नेताहरु ‘भविष्य बोकेका तन्नेरीका हातमा’ ‘देशको गाडीको ड्राईभिङ सिट’ पनि दिन नसक्ने, बाछो वा बाछी पनि जन्माउन नसक्ने तर पनि ‘जबरजस्ती गाई ओगटेर बसेका बुढा गोरु’ जस्ता खिन्छन् । सायद यस्तै वेथितिहरु कवि भूपि शेरचन कै शब्दहरु सापटी लिने हो भने
स्टक एक्सचेन्जका शेयर जस्तै
आत्मा क्रय विक्रय गर्न सक्नेहरु
जहाँ नेता हुन्छन र
जहाँ निधार भरि कर्कटपातजस्तै
चाउरी परिसकेकाहरु
तन्नेरीका अगुवा हुन्छ
अनि त्यो देशको प्रगति र विकास कसरी हुन सक्छ ? हामी त फगत अर्काको इशारामा चलाइएका ‘हल्लाहरु’मा मस्त छौं । किनकी भूपि शेरचनले भने जस्तै ‘यो हल्लै हल्लाको देश हो ।’
संकट संविधान र व्यवस्था माथि थियो वा कसैका सत्ता स्वार्थमा थियो भन्ने कुरा त नेपाली राजनीतिका पछिल्ला घटनक्रमहरुले छर्लंग पारेको छ । डेढ वर्षको तलव भत्ता पनि त्याग गर्न नसक्ने, विचार र सिद्धान्त बिनाका फगता कुर्सिका झगडाहरु । जनादेश माथि प्रहार गर्न ‘सत्ता र कुर्सिका लागि अर्कैले ग्लुस्टिक लगाएर चिप्काईदिएका’ मतादेशका ‘अपवित्र गठबन्धनहरु’ । ‘अर्कैलाई ढोगेर आफ्नो कुर्सि जोगाउने खेल’ मा लागेकाहरुका ‘कुत्सित मनाशय’ विस्तारै जनताले बुझ्न थालेका छन् । करिव अढाई सय वर्ष पछि पहिलो पटक ‘हामी नेपाली जनता’ २०७२ सालमा संविधानको पहिलो लाईनमा ‘हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता’ भनेर लेखाउन सफल भएका छौं । ‘हामी’ भित्र ‘म’ पनि पर्छु । त्यसैले अन्त्यमा फेरि कवि भूपि शेरचनकै कविताका हरफहरु सापटी लिएर भन्छु ।
यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो
अंशैबण्डा गर्ने हो भने पनि यो देशका तीन करोड
टुक्राहरुमध्य एउटा टुक्रा माथि
मेरो पनि छाप्रो हुनेछ
र यो देशका असंख्य बगरहरुमध्य
एउटा बगर माथि मेरो पनि चिता हुनेछ
यहि भावनाले मलाई यो भन्न बाध्य गराउँछ र
आँट दिलाउँछ यो भन्न
की ‘यो हल्लै हल्लाको देश हो’ ।
– धनगढी
प्रतिक्रिया