काठमाडौं- यातायात व्यवस्था कार्यालयहरू लाग्ने गरेको भीड र बिचौलिया प्रवृत्ति अब अन्त्य हुने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन विद्युतीय माध्यमबाट गर्ने भएको छ।
‘मैले यो मन्त्रालयको जिम्मेवारी लिए लगतै यातायात व्यवस्था कार्यालयमा लाग्ने गरेको भीड र बिचौलिया तन्त्रको अन्त्य गर्ने अठोट गरेको थिए, लाइसेन्सका लागि नयाँ आवेदन, नवीकरण, सवारी वर्ग थप र राजश्व आजदेखि अनलाइनबाटै बुझाउने व्यवस्था गरेका छौ’ अनलाइन सेवा सुरु गर्दै मन्त्री प्रकाश ज्वालाले भन्नुभयो ‘आजदेखि गण्डकी प्रदेशको पोखराबाट सेवा सुरु गरेका छौ, एक महिनाभित्र देशभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गर्छौ।’
बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले अनलाइन सेवाको शुभारम्भ गर्नुभएको छ। अनलाइन सेवा सुचारु गर्दा राज्यमन्त्री नन्दा चपाई, गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेसमबहादुर जुग लाली डिजिटल माध्यमबाट जोडिनुभएको थियो । अनलाइन सेवा सुचारु भएपछि यातायात व्यवस्था कार्यालयमा बायोमेट्रिक गर्न, लिखित परीक्षा र ट्रायल दिन मात्र जानुपर्नेछ। ‘स्वास्थ्य परीक्षण पनि यातायात व्यवस्था कार्यालयबाट मात्र नभई प्रदेश मन्त्रालयले तोकेका चिकित्सकबाट पनि लिने व्यवस्था गर्न लागेका छौ’ यातायात व्यवस्था विभागमा महानिर्देशक नारायण प्रसाद भट्टराईले भन्नुभयो।
नेपालमा झन्डै ३३ लाख ६० हजारले चालक अनुमति पत्र दिएका छन् । उनीहरू ऋब नवीकरण र वर्ग थपका लागि यातायात व्यवस्था कार्यालय बाहिर लाइन बस्न नपर्ने भएको छ । लाइसेन्स नवीकरण पनि पाँच/पाँच वर्षमा नभई १० वर्ष गर्ने व्यवस्था हुँदै छ । नयाँ आवेदन स्वीकृत भएको, लिखित परीक्षा प्रयोगात्मक परीक्षाको नतिजा हेर्न पनि अब यातायात कार्यालय जानुपर्दैन । ‘त्यसका लागि मोबाइल नम्बरमा एसएमएस आउने व्यवस्था गर्दैछौ’ महानिर्देशक भन्नुभयो ।



प्रतिक्रिया