काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीसम्बद्ध नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपाल (इन्स्पायर) को वेबसाइट सार्वजनिक गरेका छन्। प्रतिष्ठानले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रविधिगत तथा भूराजनीतिक विषयमा अध्ययन, अनुसन्धान र नीतिगत बहसलाई अघि बढाउने उद्देश्यसहित वेबसाइट सञ्चालनमा ल्याएको हो।
वेबसाइट सार्वजनिक कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विष्णु रिमालले इन्स्पायरले नेपालले सामना गरिरहेका विविध चुनौतीको अध्ययन तथा अनुसन्धान गर्ने जानकारी दिए। उनका अनुसार प्रतिष्ठानले नीतिनिर्माता, विषयविज्ञ तथा सरोकारवालालाई एकै ठाउँमा ल्याएर विभिन्न विषयमा छलफल र बहस सञ्चालन गर्दै आएको छ।
ज्ञान उत्पादन र रणनीतिक बहसलाई सहजीकरण गर्दै नेपालको लोकतान्त्रिक, समाजवादउन्मुख तथा राष्ट्रिय विकासको एजेन्डामा योगदान पुर्याउने लक्ष्य प्रतिष्ठानले राखेको रिमालले बताए।

नेपाली र अंग्रेजी दुवै भाषामा वेबसाइट
बिहीबार सार्वजनिक गरिएको वेबसाइट www.inspire2082.org नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ। वेबसाइटमा अर्थ-राजनीति, समाज अध्ययन, प्राकृतिक स्रोत, प्रविधि तथा नवप्रवर्तन र परराष्ट्र मामिलासहित पाँचवटा विषयगत विधा समेटिएका छन्।
वेबसाइटमा इन्स्पायरले यसअघि सञ्चालन गरेका नीतिगत बहसका कार्यपत्र, विशेष प्रतिवेदन तथा जर्नल आलेखहरू प्रकाशित गरिएका छन्। हालसम्म आठवटा कार्यपत्र र चारवटा विशेष प्रतिवेदन समावेश गरिएको प्रतिष्ठानले जनाएको छ।

वेबसाइटमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आलोकमा जनताको बहुदलीय जनवाद, बदलिँदो जनसाङ्ख्यिक संरचना, नेपाली समाजको रूपान्तरण, उत्पादन सम्बन्ध, राष्ट्रिय सुरक्षा नीति, विश्वको अर्थ-राजनीति, शक्ति सन्तुलन, आप्रवासनबाट उत्पन्न संरचनात्मक परिवर्तन तथा समाजको वर्ग विश्लेषणलगायत विषयमा अध्ययन सामग्री राखिएका छन्।
त्यस्तै, ‘किताबका कुरा’ र ‘युथ इग्नाइट’ लगायतका शीर्षकमा पनि सामग्री उपलब्ध छन्। यसले विभिन्न विषयमा भएका अध्ययन, अनुसन्धान र बहसलाई व्यवस्थित रूपमा पाठकसमक्ष पुर्याउने अपेक्षा गरिएको छ।
नीतिगत बहसका निष्कर्ष ‘पोलिसी ल्याब’मा
इन्स्पायरका कार्यकारी निर्देशक आशिष रेग्मीका अनुसार वेबसाइटमा प्रकाशित सामग्रीका आधारमा हुने नीतिगत बहसबाट प्राप्त नयाँ विचारलाई ‘पोलिसी ल्याब’मा समेटिनेछ। यसले अध्ययन तथा अनुसन्धानबाट प्राप्त निष्कर्षलाई नीतिगत छलफलसँग जोड्न सहयोग पुग्ने उनको भनाइ छ।
वेबसाइटको नेपाली भाषाको सम्पादक रामशरण बजगाईं र अंग्रेजी भाषाको सम्पादक बालकृष्ण कट्टेल रहेका छन्।
प्रतिष्ठानका अध्यक्ष रिमालले एमालेलाई नीतिगत रूपमा बलियो बनाउने तथा राजनीतिभन्दा बाहिर समाजमा भइरहेका बहस र उठिरहेका विषयलाई राजनीतिको मूल प्रवाहमा ल्याउने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार समाजका विभिन्न क्षेत्रबाट आएका विचार, अध्ययन र अनुसन्धानलाई पार्टीको नीतिनिर्माण प्रक्रियासँग जोड्ने प्रयास गरिएको हो।
कार्यक्रममा वेबसाइटमा प्रकाशित सामग्री तथा तिनले उठाएका विषयमाथि डा. युवराज खतिवडा, प्राडा योगेन्द्रबहादुर गुरुङ, डा. नेत्र तिम्सिना, डा. विष्णुराज उप्रेती, प्रज्ञा अधिकारी र डा. टीका ढकालले धारणा राखेका थिए। उनीहरूले वेबसाइटमा समेटिएका अध्ययन सामग्री तथा नीतिगत बहसका विषयमा प्रकाश पारेका थिए।






प्रतिक्रिया