अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरोको उच्च जोखिम: स्थानीय घर छोड्न बाध्य

पहिरोको उच्च जोखिम: स्थानीय घर छोड्न बाध्य


ढोरपाटन-गतवर्ष भदौमा रामतोला बस्ती नजिकै ठूलो पहिरो गयो । पहिरोले सिङ्गो गाउँनै जोखिममा पर्‍यो। स्थानीय बासस्थान छोडेर अन्यत्र जान बाध्य भए । बर्खा सकिएपछि पहिराको जोखिममा रहेकै घरमा उनीहरु फर्किए। 

  यस वर्ष पनि बर्खा सुरु भएपछि बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोलाका स्थानीय बासस्थान छोडेर अन्यत्र आश्रय लिन पुगेका छन् । गाउँमाथिको पहाड खसेपछि जोखिममा परेको रामतोला बस्तीमा यस वर्ष वर्षा लागेसँगै पहिरो झर्न थालेको छ। 

 पहिरो झर्न थालेपछि स्थानीयलाई कसरी ज्यान जोगाउने चिन्ता बढेको स्थानीय कुलराज शर्माले बताउनुभयो । उहाँका अनुसार स्थानीय रातभर जागराम बस्ने गरेका छन्। 

 यहाँका आठ घर उच्च जोखिममा छन् भने अन्य सात घर पनि पहिराको जोखिममा छन् । यसअघिका पहिराले गाउँमा भएका दुई वटा खानेपानीको ट्याङ्कीसमेत बगाउँदा खानेपानीको समस्या थियो । “केही समय खानेपानीको व्यवस्थापन भए पनि अहिले फेरि उस्तै जोखिम परेको छ । घर, गोठ र जग्गा जमिन पहिराको उच्च जोखिममा परेपछि गाउँका केही स्थानीय बर्खाभरिका लागि गाउँ छोड्न बाध्य भएका छन्”, शर्माले भन्नुभयो ।

  हिउँदको समय घरमै जसोतसो बसे पनि बर्खामा निकै त्रास हुने उहाँको भनाइ थियो। उहाँले हिउँदभरी आफ्नै घरमा बसेको सुनाउँदै असार लाग्नासाथ अरुको घरमा बस्न थालेको बताउनुभयो । अहिले पनि वस्तुभाउ जोखिमपूर्ण अवस्थामा रहेको गोठमा बाँधेको भन्दै आफ्नो परिवार स्थानीय तोयनाथ पौडेलको घरमा बस्दै आएको शर्माले जानकारी दिनुभयो।  

 बर्खा लागेर पहिरो झर्न थालेपछि ज्यान बचाउन स्थानीय ढालनाथ पौडेल चितवन र तुलबहादुर नेपाली जैमिनीको कुश्मिसेरा बस्न थालेको बताउनुहुन्छ । पौडेल र नेपालीको अघिल्लो वर्षमा गएको पहिराले घर गोठमा क्षति पुगेको थियो।

“पोहोर साल पहिरोले भएभरको बारी बगायो । घर, गोठ र शौचालय पनि उच्च जोखिममा छन्, अहिले अरुको घरमा बसेका छौँ”, शर्माले भन्नुभयो, “उनीहरु आएर घर खाली गर्न भने कहाँ जाने, के गर्ने ?, भएको थोरै बारीमा काम गरेर परिवार चलाएको छु । बारी पनि यस वर्ष बगाउँछ जस्तो छ । गाउँ छोडेर अन्यत्र जाउँ भने जान सक्ने अवस्था छैन, निकै समस्यामा परेका छौँ ।” चार जनाको परिवारसहित अरुको घरमा बस्दा धेरै समस्या भोग्नु परेको उहाँको भनाइ थियो ।

 पहिरोले तहसनहस हुँदा बागलुङ नगरपालिकाले रू २५ हजार र रेडक्रसले एउटा त्रिपाल दिएको भन्दै शर्माले अन्य निकायबाट कुनै पनि सहयोग नपाएको गुनासो पोख्नुभयो । उहाँका अनुसार गतवर्ष भासिएको ठाउँमा अहिले पनि पहिरो जानुका साथै जमिन भासिरहेको छ।

 सोही गाउँका वीरबहादुर क्षेत्रीले पनि आफ्नो पाँच जनाको परिवारसहित आफन्तकोमा आश्रय लिनुभएको छ। गत वर्षको पहिरोले क्षेत्रीको खेतबारी बगाइ दिएको थियो । घर पनि उच्च जोखिममा हुँदा स्थानीय चन्द्रबहादुर केसीको घरमा बस्दै आएको उहाँले बताउनुभयो । गतवर्ष बर्खा रोकिएपछि जेठसम्म आफ्नै घरमा बसेको भन्दै असार दोस्रो सातादेखि आफन्तकोमा बस्दै आएको उहाँले सुनाउनुभयो ।

  “यहाँ यति ठूलो पहिरो जान्छ, यति ठूलो क्षति पुर्‍याउँछ भन्ने सोचेका पनि थिएनौँ, तर एक्कासि पहिरो गयो, धन्नै घरसहित हामीलाई बगाएन, ज्यान बाँच्यो,” क्षेत्रीले भन्नुभयो, “अहिले पनि पोहोरको  जस्तै पहिरो गयो भने यो गाउँ रहँदैन । बर्खा सुरु भएसँगै माथिको पहाड झर्न थालेको छ, यो पहाड झर्‍यो भने हाम्रो गाउँसहित यहाँभन्दा तल रहेका धेरै गाउँहरु बगाउँछ।”

Skip This