सिन्धुली-सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोसी नदीमा सुमो खस्दा बेपत्ता भएका तीन जना अझै फेला परेका छैनन्। आइतबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
काठमाडौँबाट खोटाङ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो आइतबार बिहान करिब साढे २ बजे सुनकोसी नदीमा खसेको थियो। दुर्घटनामा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार सोमबार बिहानसम्म बेपत्ता तीनै जनाको अवस्था पत्ता लाग्न सकेको छैन। उनीहरूको खोजी कार्य जारी रहेको उनले बताएका छन्।
दुर्घटनामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी २१ वर्षीया युपना राई, १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तिका विश्वकर्माको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय जनक राईका अनुसार युपना र दिव्या काठमाडौँमा बसेर अध्ययनसँगै सामान्य रोजगारी गर्दै आएका थिए भने स्वस्तिका एसईई परीक्षाको तयारीमा थिइन्।
दुर्घटनामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई, खोटेहाङ गाउँपालिका–६ का १३ वर्षीय अङ्कित विश्वकर्मा र सुमो चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशीष विश्वकर्मा घाइते भएका छन्।
प्रहरीका अनुसार चालक आशीष बेहोस अवस्थामा छन् भने सम्झनाको अवस्था गम्भीर छ। स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सम्झनालाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ। घाइते शिवानी र अङ्कितको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिएका छन्।
काठमाडौँबाट शनिबार राति करिब ११ बजे प्रस्थान गरेको सुमोमा चालकसहित १० जना सवार थिए। घटनास्थल पुगेको प्रहरी टोलीले चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ।



प्रतिक्रिया