काठमाडौं-सभामुख देवराज घिमिरेसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले आज शिष्टाचार भेट गर्नुभएको छ।
सिंहदरबारमा भएको भेटमा उहाँहरुबीच नेपाल र फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापारलगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
भेटमा सभामुख घिमिरेले नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष भएको स्मरण गर्दै दुई देशबीच जनस्तरको सम्बन्ध रहेको उल्लेख गर्नुभयो। “हामीबीच सरकार–सरकारमात्र होइन, जनस्तरमा रहेको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिँदै आएको छ”, उहाँले भन्नुभयो।
सभामुख घिमिरेले फ्रान्सेली क्रान्तिले ल्याएको परिवर्तन नेपालका लागि प्रेरणादायी रहेको बताउनुभयो । “फ्रान्सेली क्रान्तिको आधारभूत मान्यता स्वतन्त्रता, समानता र भ्रातृत्व नेपाली राजनीतिक आन्दोलनमा प्रेरणाको स्रोतको रुपमा रहेका छन्”, उहाँले भन्नुभयो।
सभामुख घिमिरेले नेपाल र फ्रान्स संयुक्त राष्ट्रसङ्घलगायतका साझा मञ्चमा एक साथ रहेको स्मरण गर्दै लोकतन्त्रको सुदृढीकरण र सवलीकरणमा अनुभव आदान प्रदान भइरहने विश्वास व्यक्त गर्नुभयो। उहाँले कोभिड–१९ महामारीमा फ्रान्सबाट सहयोगको उच्च सराहना गर्नुभयो।
राजदूत गिल्स बोरबाओले नेपालले पनि फ्रान्सले जस्तै द्वन्द्वलाई लोकतान्त्रिक विधिबाट हल गर्दै विकासलाई अगाडि बढाएको बढाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी वर्षदेखि आफ्नो मुलुकबाट कोभिड अगाडिकै अवस्थामा पर्यटन आगमन वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।




प्रतिक्रिया